एमालेका प्रत्येक सदस्यले २ नयाँ मतदाता थप्नुपर्ने, ५० लाख मत कटाउने लक्ष्य

काठमाडौ । नेकपा एमालेले एकजना पार्टी सदस्यले कम्तीमा दुईजना नयाँ मतदाता थप्नेगरी अभियान सञ्चालन गर्ने भएको छ । एक सदस्य दुई नयाँ मतदाता थप र पाँचजना पुरानाको संरक्षण गर्ने योजना केन्द्रीय कमिटी बैठकमा पेस भएको छ ।

एमालेका ८ लाख पूराना सदस्य छन् भने यसबीचमा थपिएर करिब ११ लाख पुगेको तर त्यसको अद्यावधिक हुन बाँकी रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । ११ लाख पार्टी सदस्यले दुईजना मतदाता थप्दा एमालेको पक्षमा २२ लाख मत थपिने पार्टीको आंकलन छ ।

एमालेले स्थानीय तहमा प्रमुख उम्मेदवारले पाएको मतका आधारमा ३९ लाख मत पाएको छ भने वडाध्यक्षको आधारमा त्यसको केही कम छ । यो मत सुरक्षा गर्दै १० लाख मतदाता पार्टीमा थप्नेगरी लाग्न पार्टीले अभियान सन्चालन गर्ने भएको छ ।

प्रत्यक्षमा ५० लाख मत ल्याउने एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउँदै आएका छन् । गठबन्धनका कारण प्रत्यक्षमा सीट कम हुने भएकाले पनि एमालेले समानुपातिकमा बढी जोड दिएको छ ।

बैठकमा टोल टोलमा संगठन, घरघरमा सदस्य अभियानको प्रस्ताव समेत पेस भएको छ भने एक बुथ सय युथको अभियान पनि सन्चालन हुने पोलिटब्यूरो सदस्य सुर्य थापाले बताए ।

केन्द्रीय कमिटीको बैठकमा नौ वटै समूहका टोली नेताले अध्यक्षको प्रतिवेदनमा समूह छलफलबाट उठेको जिज्ञासा तथा सुझावसहित धारणा राख्ने क्रम सकिएपछि अध्यक्षले जवाफ दिँदैछन् । एमाले बैठक आजै समापन हुनेछ ।

११,भाद्र.२०७९,शनिबार १४:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्