देशमा नेपाली कांग्रेसबाट परिर्वतनको संभव छैन : शंकर पोखरेल

रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा नेपाली कांग्रेसबाट परिवर्तनको नेतृत्व सम्भव नभएको दाबी गरेका छन् ।

आज पार्टी प्रचार विभागले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘देशमा नेपाली कांग्रेसबाट परिर्वतनको नेतृत्व संभव छैन भन्ने प्रष्ट छ, उसैको नेतृत्वमा सबै दलले मोर्चाबन्दी गरेर चुनावमा जाने र सरकार चलाउने मोर्चा बनाएपछि परिवर्तनकारी शक्तिमा रहेकाहरु सबै एमालेको पक्षमा आउने निश्चित छ,’ पोखरेलले भने ।

त्यस्तै, एमालेविरुद्धको गठबन्धनले मुलुकमा दुई दलीय ध्रुवीकरणको आवश्यकतालाई अगाडि ल्याएको पोखरेलको भनाइ छ ।

चुनावअघि एक दलविरुद्ध गरिएको धेरै दलको गठबन्धनले त्यसलाई प्रमाणित गर्दै लगेको र एमालेको शक्ति कति रहेछ भनेर प्रष्ट भएको बताएका छन् ।

नेकपा एमाले नै आगामी निर्वाचनपछिको ठूलो पार्टी हुने दाबी गर्दै उनले भने– गठबन्धनले सामाजिक सुरक्षाको प्रश्न ओझेलमा परेको छ, यसबाट नेपालको राजनीतिका सन्दर्भमा ध्रुवीकरण आवश्यक रहेको प्रष्ट पारेको छ, यथास्थितिवादी पक्षको नेतृत्व कांग्रेसले गर्ने र परिवर्तनकारी पक्षको नेतृत्व एमालेले गर्नेगरी अबको ध्रुवीकरण हुने संकेत देखिएको छ, यो निर्वाचनले यसका आधारहरु तय गर्नेछ ।’

पोखरेलले भने– देशको आर्थिक, सामाजिक विकासको नेतृत्व गर्ने नेकपा एमाले नै हो, आगामी निर्वाचनबाट एमालेले बहुमत पाएर त्यसलाई कार्यान्वयन गर्नेछ, त्यसको नेतृत्व अध्यक्ष केपी ओलीले गर्नुहुने छ । हामीले सर्वसम्मत रुपमा पार्टीको नियमबाट उहाँलाई नेतृत्वका लागि निर्णय गरेका हौं ।

‘माओवादी हिंसाबाट पीडित नागरिकको पक्षमा बोल्ने पहिलो नेता र अभिभावक भएको, जातका आधारमा देशलाई विभाजन गर्न रोक्ने काम ओलीले गर्नुभएको, विदेशी हस्तक्षेपको वास्ता नगरी संविधान सभाबाट संविधान जारी गर्न नेतृत्व गर्नुभयो, हस्तक्षेपबाट जोगाउनु भयो, नाकाबन्दीको डटेर सामना गर्नुभयो, नेपाली भूभाग जोगाउने अभियान चलाएरै छोड्नुभयो, यसकारण पनि नेपाली जनताले उहाँको नेतृत्व खोजेका छन्,’ महासचिव पोखरेलले भने ।

महासचिव पोखरेलले चुनावी तयारीका लागि पार्टी कमिटीले गरेको तयारी अनुसार ५६ लाख मत आएर बलियो शक्ति बन्ने आंकलन गरिएको बताए ।

१३,भाद्र.२०७९,सोमबार १५:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्