संघमा ६० र प्रदेशमा १२० भन्दा तल झरेर सहमति हुँदैन : प्रचण्ड

रुपन्देही । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा काठमाडौंका मेयर बालेन शाहजस्तै चमत्कार देखाउने नयाँ अनुहारलाई पार्टीबाट चुनावी मैदानमा पठाउनुपर्ने बताएका छन् ।

सोमबार उपत्यका विशेष प्रदेश समितिको कार्यक्रममा बोल्दै उनले अबका उम्मेदार जित्नैपर्ने आउनुपर्ने बाध्यता भएकाले र मतदाताले नयाँपन खोजेकाले बालेनजस्तै उम्मेदार खोजेको बताएका हुन् ।

‘मतदाताले नयाँपन खोजेको छ, अब परम्परागत अवस्थाबाट चुनाव जितिदैन भन्ने संकेत देखिएका छन्, नयाँ आउनुपर्नेछ, बालेनजस्तै आउनुपर्नेछ, नयाँ चमत्कार नगर्नेले अब चुनाव जित्न सकिने अवस्था छैन ।’ प्रचण्डले भने, ‘अब तपाईहरुले पनि सिफारिस गर्दा त्यही खालको अनुहार खोज्नुहोस्, यथास्थितिबाट अब चल्न चुनौती आउन थाल्यो ।’

गठबन्धन दलको बाँडफाँडमा माओवादीले संघमा कम्तीमा ६० र प्रदेशमा १२० भन्दा तल झरेर सहमति गर्नै नसकिने प्रचण्डले बताएका छन् ।

‘गठबन्धन दलमा माओवादी बलियो र निर्णायक शक्ति भएका नाताले पनि यो संख्याभन्दा कममा पार्टीभित्र चित्त बुझाउनसक्ने अवस्था छैन, यो कुरा शीर्ष नेताहरुलाई मैले बताएको छु, कार्यदलमा रहेका साथीहरुलाई पनि प्रष्ट भनेको छु’, प्रचण्डले भने ।

अबको केही दिनमा गठबन्धनमा बाँडफाँडका सबै विषय टुंगिने उनको संकेत थियो । ‘गठबन्धनबाट तीन स्टेपमा काम टुंगिन्छ, पहिलो केही दिनमा दलले पाउने केन्द्रबाट सीटको टुंगो, २० सम्म क्षेत्रको टुंगो अनि २५ सम्म पार्टीका उम्मेदवार टुंग्याउँछौं यसरी कार्ययोजना बनेको छ’, उनले भने । स्थानीय निर्वाचनमा गठबन्धनमा केही समस्या देखिएपनि अहिल ेत्यसो नहुने उनको भनाइ थियो ।

‘स्थानीयमा भन्दा अहिले सजिलो होला, त्यतिबेला पनि पार्टी निर्णय विपरीत केही उम्मेदवारी भएका थिए धेरै भएकाले त्यो समस्या थियो अहिले त्यसो हुन दिइन्नँ, अहिले सहज हुन्छ, हाम्रो भागमा सबै पर्दैन, प्रत्यक्षमा ६० र प्रदेशमा १२० जनाको नाम टुंगाउन म आफै लागे पनि सक्छु’, प्रचण्डले भने ।

गठबन्धन भएपछि सबैलाई उम्मेदार हुने मन लागेर पनि नपुग्ने भएकाले पार्टी निर्णय मान्न उनको निर्देशन थियो । ‘सबैलाई पुग्दैन, विकल्पसहित २० गतेसम्म सिफारिस दिनुस्, जित्ने उम्मेदार खोज्नुसु प्राथमिकतामा महिला, दलित, जनजाति, मधेसीलाई दिनुस् तर जित्ने उम्मेदार दिनुस्,’ उनको भनाई थियो ।

अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व सर्वसम्मत भएको पार्टी माओवादी मात्रै भएको बताएका थिए । स्थानीय तहको निर्वाचनमा विदेशी शक्तिहरुले धेरै हेपेर निकालेका विषयहरु बाहिर ल्याएको, देशकै पनि विभिन्न संस्थाले सर्वेक्षण गरेर पनि धेरै कमजोर रहेको तथ्यांक निकाले पनि माओवादीले १२२ संख्या जितेकाले अहिले पनि यस्ता गलत प्रचारबाट जोगिन उनको आग्रह थियो ।

‘हामीले त अझै बढी आउने अपेक्षा गरेका थियौ तर यो देखेर पनि प्रतिक्रियावादी अचम्ममा परेका छन्, तेस्रो भएपनि निर्णायक भएका छौं, चाबी माओवादीको हातमा आएकाले पहिलो भएको महशुस भएको छ’, उनले भने ।

१३,भाद्र.२०७९,सोमबार १७:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्