भारतीय सेना प्रमुख पाण्डे आइतबार नेपाल आउँदै, राष्ट्रपतिले मानार्थ महारथी दर्जा दिने

काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज पाण्डे पाँच दिने भ्रमणका लागि आइतबार नेपाल आउने भएका छन् ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीयस्थ सेनाका प्रमुख पाण्डे १९ गते पाँच सदस्यीय भ्रमणदलका साथ नेपाल आउन लागेका हुन् ।

पाँच दिवसीय भ्रमणका दौरान जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित विर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्‍डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीहरुको हस्तान्तरण कार्यक्रम लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड हेडक्वावटरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको क्रममा नेपाली सेना र भारतीय सेनाबीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको जंगी अड्डाले जनाएको छ ।

साथै, उनले आफ्नो भ्रमणको दौरान सम्माननीय प्रधानमन्त्री एवं रक्षामन्त्री शेर बहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ । पाण्डे आगामी सेप्टेम्बर ४ गते देखि ८ सम्म नेपाल भ्रमणमा रहने छन् ।

१५,भाद्र.२०७९,बुधबार १३:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्