काठमाडौं र भैरहवा छोडेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधै आउलान् पर्यटक?

काठमाडौ । काठमाडौ नेपालले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी जनवरी १ अर्थात् पुस १७ देखि विमानस्थल सञ्चालन गर्ने निर्णय गरेको छ।

निर्धारित मितिमा विमानस्थल सञ्चालन हुँदा चीन सरकारले नेपाललाई हस्तान्तरण गरेको नौ महिना पूरा हुनेछ। चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आएका बेला गत चैत १२ गते उनले तत्कालीन परराष्ट्र मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विमानस्थल हस्तान्तरण गरेका थिए।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २४ घन्टा सञ्चालन हुनसके दैनिक ७२ वटा जहाज आउजाउ गर्न सक्नेछन्। यस हिसाबले वार्षिक १० लाख यात्रुले सेवा पाउने छन्।

यस्तो सम्भावना भए पनि हालसम्म दैनिक एउटा अन्तर्राष्ट्रिय उडान हुने पनि पक्का भएको छैन।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गरेका दिनेश प्रसाईं विमानस्थलको व्यापारिक योजना लागु गर्न ढिलो भइसकेको बताउँछन्।

‘विमानस्थल खोलिदनुस् भन्यो, खोलिदयो,’ उनी भन्छन्, ‘कहाँबाट को आउने, किन आउने, एयर रूट कस्तो हुने, यसमा केही पनि काम हुनै सकेन।’

अन्तर्राष्ट्रिय उडानबाट आउने पर्यटक काठमाडौं वा भैरहवाको साटो पोखरामा आकर्षित गर्नु सबैभन्दा बढी चुनौती हुने उनको भनाइ छ।उनका अनुसार अन्तर्राष्ट्रिय उडानमार्फत् काठमाडौं अर्लिनुभन्दा पोखरा ओर्लिनु ५० डलर महँगो हुने देखिएको छ। यसकारण पनि पर्यटकलाई आकर्षण गर्न सक्ने ‘प्याकेज’ तयार गरेर मात्र प्रचार गर्नुपर्ने उनले बताए।

पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन नसके यहाँको पर्यटकीय ब्रान्डमा नै नकरात्मक असर पार्ने उनको चिन्ता छ।

‘पोखरा विमानस्थल असफल भयो भने पोखराको पर्यटनमा असर पर्छ,’ उनी भन्छन्, ‘असफल योजना बोकेर बस्नु राम्रो भएन।’

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तयारी समितिका संयोजक विक्रम गौतम विमानस्थलको प्रचारप्रसार र प्रवर्द्धनमा सरकारी र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताउँछन्।

‘विमानस्थल बन्दैमा जहाज आउजाउ गर्दैन,’ गौतम भन्छन्, ‘पर्यटकलाई थप आकर्षण गर्न पोखरामा पूर्वाधार निर्माण, पर्यटकीय सेवाको उत्पादन र प्रवर्द्धन जरूरी छ।’

अन्तर्राष्ट्रिय विमानस्थल चल्न पोखराका भौतिक पूर्वाधार र पर्यटकले पाउने सेवा सुविधाको गुणस्तर बढाउनु पर्ने उनको भनाइ छ।

‘विमानस्थल सञ्चालन गरेर राज्य र निजी क्षेत्रले उल्लेख्य व्यापार पाउने सम्भावना उजागर गर्नुपर्छ,’ गौतमले सेतोपाटीसँग भने, ‘विमानस्थल सञ्चालन गर्न हाम्रो कर्पोरेट प्लान छ। यहाँका सुविधाको गुणस्तर बढाउन सबै योजनाबद्ध रूपमा लाग्नुपर्छ।’

चीन सरकारको २२ अर्ब रुपैयाँ ऋणमा बनेको विमानस्थल आउने पुसमा सञ्चालन हुनेमा अहिले पनि पोखरेलीहरूलाई शंका छ। निर्धारित मितिमा विमानस्थल सञ्चालन हुन सक्नेमा व्यवसायी गोपी भट्टराईले शंका व्यक्त गरे।

‘अझै पनि तोकिएको समयमा विमानस्थल सञ्चालन हुन्छ भन्नेमा विश्वस्त हुन सकिएको छैन,’ पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष भट्टराईले भने, ‘विमानस्थल सञ्चालन गर्न ल्यान्डफिल साइट परिवर्तन गर्ने र डाँडो कटान गर्ने काम सुरू भएकै छैन।’

चिनियाँ कम्पनीले विमानस्थल बनाउन थालेदेखि नै पोखराका पर्यटकीय पूर्वाधार सुधार र निजी क्षेत्रले दिने सेवाको गुणस्तर अभिवृद्धि लगायतका काम गर्न ढिलाइ भएको उनले बताए।

विमानस्थल बन्नु गण्डकी प्रदेशका लागि गौरवका कुरा भए पनि तीन तहका सरकारले गर्नु पर्ने आ-आफ्ना काम नगर्दा समस्या देखिएको भट्टराईको भनाइ छ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि निजी क्षेत्रले उल्लेख्य लगानी गरे पनि प्रचाप्रसार र प्रवर्द्धन बाँकी रहेको उनले बताए।

पोखरा विमानस्थलका प्रमुख गौतमका अनुसार विमानस्थल सञ्चालन गर्न आवश्यक कर्मचारी र आकस्मिक सेवाका लागि जनशक्ति तयार भएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार विमानस्थल सञ्चालन गर्नुभन्दा १२० दिन अघिदेखि अभ्यास थाल्ने तयारी गरिएको छ।

विमानस्थलबाट कुन कुन एयरलाइन्सले कुन कुन गन्तव्यमा उडान गर्ने भन्ने कुरा पोखराले दिने सेवासँग जोडिने गौतमको भनाइ छ।

‘कुन जहाज आउने, को आउने भन्ने कुरा यहाँका उत्पादन र सेवासँग जोडिन्छ,’ उनले भने, ‘यहाँ विजनेस छ कि छैन हेरेर एअरलाइन्सले व्यवसाय गर्ने हो।’

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि व्यवसाय सिर्जना गर्ने गरी योजनाबद्ध काम गर्न ढिलाइ भएको उनले बताए।

‘नागरिक उड्डयन प्राधिकरणले विमानस्थल बनायो, सबै काम उसैले गर्छ भन्नु गलत हुन्छ,’ उनले भने।

नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाल आउने पर्यटकलाई लक्षित गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार नेपाल आउने विदेशी पर्यटकमध्ये ४० प्रतिशत पोखरा पुग्छन्। यसमा सडक यात्राबाट आउने भारतीय लगायतका पर्यटकको हिसाब राखिएको छैन।

पोखरा विमानस्थलबाट भारत, कतार, चीन, थाइल्यान्ड, हङकङ लगायत देशमा उडान गर्न सक्ने नागरिक उड्डयन प्राधिकरणको प्रक्षेपण छ।

भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी घुम्न आउने पर्यटक र वैदेशिक रोजगारीमा जाने नेपालीलाई लक्षित गरिएको गौतमको भनाइ छ। पोखरा विमानस्थल भने विदेशी पर्यटकलाई लक्ष्य गरिएको हो।

‘नेपाल आउने पर्यटकमध्ये दैनिक पाँच सय जना पोखरा विमानस्थलबाट ल्याउन सके दैनिक पाँच वटा अन्तर्राष्ट्रिय उडान हुन सक्छ,’ गौतमले भने, ‘पर्यटक किन सिधै पोखरा विमानस्थल आउने भनेर आश्वस्त पार्नु सक्नु अबको चुनौती हो।’

अहिले पोखराको आन्तरिक विमानस्थल बिहान ६ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुन्छ। आन्तरिक विमानस्थलले गत आर्थिक वर्ष ११ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको र साढे एक करोड रुपैयाँ खर्च विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए।

उनका अनुसार अहिलेकै अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्दा २० देखि २५ करोड रुपैयाँ वार्षिक आम्दानी हुने अपेक्षा प्राधिकरणको छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले चलेका भन्दा ठूला जहाज आउन सक्ने, २४ घन्टा सञ्चालन हुने र प्रतिकूल मौसममा पनि उडान र अवतरण गर्न सक्ने भएकाले आन्तरिक उडान बढ्न सक्ने गौतमको भनाइ छ। अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा दुई वटा उडान हुन सकेको अवस्थामा भने २५ देखि ३० करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणको प्रक्षेपण छ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन वार्षिक २० करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको सुवेदीले बताए।

अहिले पोखरा विमानस्थलबाट जनकपुर, सिमरा, भरतपुर र धनगढीमा आन्तरिक उडान हुने गरेको छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि आन्तरिक उडानका गन्तव्य बढ्न सक्ने अनुमान पनि प्राधिकरणको छ।

नेपाल पर्यटन बोर्ड, गण्डकीका प्रमुख काशीराज भण्डारी अहिले पोखरा आउने गरेका पर्यटकले पोखरा अन्तर्राष्ट्रिय विमास्थल प्रयोग गर्न सक्ने वातावरण बनाउनुपर्ने बताउँछन्। यसका लागि बोर्डले प्रवद्र्धनको काम गर्न बजेट प्रस्ताव गरेको उनको भनाइ छ।

भण्डारीका अनुसार पश्चिमा देशबाट आउने पर्यटकका ट्रान्जिट प्वाइन्ट भारत, चीन लगायत देशबाट नेपाल आउने मुख्य सहरहरूसँग पोखरा विमानस्थल जोडिनु पर्छ। विमानस्थल सञ्चालन गर्न पोखराका पर्यटकीय सुविधा र गतिविधि बढाउनु पर्छ।

पोखरामा अहिले एउटा पाँच तारे र छ वटा चारतारे होटल सञ्चालनमा छन्। पर्यटक स्तरका ४२५ होटल रहेको पश्चिमाञ्चल होटल संघ (हान) का अध्यक्ष लक्ष्मण सुवेदीले बताए।

विमानस्थल सञ्चालन हुने भएपछि होटलहरूले आफ्नो स्तरवृद्धि गरेको उनले बताए। निजी क्षेत्रका तर्फबाट पोखराको पर्यटन प्रवद्र्धनमा हानले राम्रो भूमिका निर्वाह गरेको र विमानस्थल सञ्चालनमा आएपछि थप कार्यक्रम चलाउने पनि उनको भनाइ छ।

‘हामीले चीन र भारतका सहरहरूमा गएर पोखराको प्रवद्र्धन गरिराखेका छौँ,’ सुवेदीले भने, ‘विमानस्थल सञ्चालनमा आएपछि थप प्रवद्र्धनका काम गर्छौं।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्दा गण्डकी प्रदेशको र देशकै अर्थतन्त्रमा फाइदा पुग्ने उनको भनाइ छ।

‘यो विमानस्थल चलेन भने सरकारलाई घाटा छ, पोखरालाई पनि घाटा छ,’ सुवेदी भन्छन्, ‘चलाउन सकियो भने अर्थतन्त्र अघि बढ्छ। यसतर्फ सरकारले ध्यान दिनुपर्छ।’

अन्तर्राष्ट्रिय विमानस्थल चलाउने तयारी भइरहँदा पनि पोखरेलीको संशय भने हट्न सकेको छैन।

१६,भाद्र.२०७९,बिहीबार ११:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्