ताजा भोट १६२ बोकेर काठमाडौं- ७ मा जसपाको दाबी, मन्त्रीले थाले चुनाव प्रचार
वि.सं.२०७९ भदौ १६ बिहीवार १८:२८
shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा जम्मा १६२ मत रहेको जनता समाजवादी पार्टीले काठमाडौं क्षेत्र नम्बर ७ मा आफ्नो दाबी पेश गरेको छ । जसपाले दाबीमात्र गरेको छैन, सो क्षेत्रबाट चुनाव लड्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले प्रचारप्रसारसमेत थालिसकेका छन् ।
श्रेष्ठले बिहीबार आफ्नो फेसबुक पेजबाट उम्मेदवारी घोषणा गरेका छन् । उनले उम्मेदवारी घोषणाको पोष्टलाई बुस्टसमेत गरेर प्रचार थालेका छन् । जसपाले यसपटक धनकुटा, काठमाडौं, ओखलढुंगालगायतका पहाडी जिल्लामा समेत सीट दाबी गरेको छ ।
मन्त्री श्रेष्ठले दाबी गरेको क्षेत्र नम्बर ७ बाट यसअघि एमालेमा हुँदा एकपटक जितेका थिए भने दुईपटक पराजित भएका थिए । हाल सो क्षेत्रबाट एमालेका रामवीर मानन्धर सांसद छन् ।
श्रेष्ठको पार्टीले स्थानीय तह निर्वाचनमा वडा तहमा पाएको मत १६२ छ । सबैभन्दा बढी मत कांग्रेसको १४ हजार १६७ मत छ । दोस्रो स्थानमा रहेको एमालेको १२ हजार २०२ मत छ ।
त्यस्तै माओवादी केन्द्रको ५७६, नेकपा एसको ३ हजार ८३९ र राप्रपाको २ हजार २७ मत रहेको छ ।

























