मौलिक भनिएका नेपाली फिल्म एकपछि अर्को फ्लप, के भन्छन् फिल्मकर्मीहरू?

काठमाडौ । काठमाडौ चिसो मान्छे, दोख, पानीफोटो, प्रकाश — यी यस्ता नेपाली फिल्म हुन् जसबाट धेरै अपेक्षा गरिएको थियो।

नेपाली फिल्मले मौलिक विषय उठान गर्न नसकेको गुनासोबीच प्रदर्शनमा आएका यी सबै फिल्म मौलिक विषयवस्तुमै आधारित थिए। यसले पनि फिल्मप्रतिको अपेक्षा ह्वात्तै बढाइदिएको थियो।

समीक्षात्मक टिप्पणीहरू पढ्ने र सुन्ने हो भने यी फिल्म उम्दा लाग्छन्। विगतका फिल्मसँग दाँज्ने हो भने पनि विषयवस्तु छनौटदेखि पटकथा लेखन, कलाकारहरूको अभिनयदेखि छायांकन सबै दृष्टिले एक कदम अगाडि नै छन्। यसका बाबजुद यी फिल्मले सन्तोषजनक दर्शक पाएनन्।

हाल प्रदर्शनमा रहेको ‘प्रकाश’ ले तुलनात्मक राम्रै दर्शक पाइरहेको छ तर त्यो पनि अपेक्षाभन्दा कम हो। अरू फिल्म त एक साता पनि हलमा राम्ररी टिक्न सकेनन्। कतिपय शोमा दुई-चार जना दर्शक मात्र थिए। कतिले यसैमा हाँसो गर्दै सामाजिक सञ्जालहरूमा स्ट्याटस पनि लेखे।

प्रदर्शनअगाडि नै चर्चा कमाउन सफल र समीक्षकहरूले राम्रो भनेका यी फिल्म व्यावसायिक रूपमा किन सफल हुन सकेनन् त?

यसबारे कुरा गर्दा ‘प्रकाश’ का निर्देशक दिनेश राउत नेपाली फिल्मकर्मीहरूले अझै दर्शकको विश्वास जित्न बाँकी रहेको बताउँछन्।

पछिल्लो समय राम्रो भनिएका फिल्महरू दर्शकले नरूचाएको स्वीकार गर्दै उनले भने, ‘खासमा हामी फिल्मकर्मीले नेपाली सिनेमाको अलग्गै स्वाद स्थापित गर्न सकेकै छैनौं। राम्रो विषयवस्तु छनौट गरेर कलात्मक रूपमा बनाइएका फिल्म कम छन्। त्यसैले यस्ता नेपाली फिल्म हेर्ने बानी नै दर्शकलाई छैन। त्यस्ता फिल्म हेर्न चाहने दर्शकको विश्वास जित्न पनि हामी असफल भइरहेका छौं।’

यो अवस्थामा फिल्मकर्मीहरूले दर्शकले खोजेजस्तो सिनेमा बनाउने कि के गर्ने त?

हाम्रो यो प्रश्नमा राउतले भने, ‘दर्शकको चेतनाअनुसार फिल्म बनाउनेभन्दा हाम्रो आफ्नो चेतनाअनुसार बनाएर दर्शकलाई त्यस्तो फिल्म हेर्न बानी पार्ने हो। यसको निम्ति केही समय लाग्नसक्छ। तर अहिले आएका राम्रा फिल्महरू हेर्न दर्शक आएनन् भन्दैमा हामीले आफ्नो लाइन छाड्नुहुन्न।’

उनले अगाडि भने, ‘एउटा-दुइटा फिल्म असफल हुनेबित्तिकै डराएर पुरानै ढर्रामा फर्किने प्रवृत्तिले नै ५०-६० वर्षको नेपाली फिल्म इतिहासमा हामीले आफ्नो पहिचान बनाउन सकेका छैनौं। त्यसैले बक्स अफिस नतिजा जस्तो भए पनि प्रकाश, पानीफोटो, चिसो मान्छे, दोखजस्ता फिल्म बनिरहनुपर्छ। हामीले नेपाली फिल्म क्षेत्रलाई कतातिर डोर्‍यारहेका छौं भन्नेमा पनि सजग हुनुपर्छ।’

‘चिसो मान्छे’ का निर्देशक दिपेन्द्र के खनाल अहिलेको समय दर्शकलाई गम्भीर सिनेमाप्रति रूचि नभएको बताउँछन्।

‘दक्षिण भारतीय फिल्म हेर्न दर्शक ओइरिएका छन् तर यही समय नेपाली फिल्ममा दर्शक छैनन्। पहिले मौलिक विषयवस्तुमा बनेको भए पो हेर्नू भन्ने कुरा आउँथ्यो। अहिले त्यस्तै फिल्म बन्दा पनि दर्शक छैनन्,’ उनले भने, ‘कोभिडको भयबाट समाज भर्खर भर्खरै बाहिर निस्केकाले पनि दर्शकहरूले गम्भीर फिल्म हेर्न नखोज्नुभएको हो कि!’

आफ्नै फिल्म ‘चिसो मान्छे’ पनि समाजको एउटा महत्वपूर्ण विषय टिपेर बनाएको र प्रस्तुतिमा नवीन प्रयोग गर्न खोजेको उनको भनाइ छ। यति हुँदाहुँदै दर्शकले रूचि नदेखाएको स्वीकार गर्दै उनले भने, ‘फिल्मले समाजको एउटा पक्ष उजागर गरोस्, समाजलाई झक्झकाउन योगदान पुगोस् भनेर मैले यो विषय उठाएको थिएँ। तर सायद दर्शकले हेर्न चाहेको फिल्म यस्तो होइन।’

व्यावसायिक रूपमा नचले पनि यस्ता सिनेमा बनाउने क्रम जारी राख्नुपर्ने खनालको धारणा छ। लगातार गम्भीर सिनेमा बनाउँदै जाने हो भने बिस्तारै दर्शकको विश्वास बढ्दै जानेमा उनी आशावादी छन्।

‘यो वर्ष जस्तो फिल्म बन्नुपर्थ्यो, त्यस्तै बनेका छन्। फिल्म निर्माणको दृष्टिले यो वर्ष सुखद रह्यो। तर व्यावसायिक रूपमा दर्शकको जुन उपस्थिति हुनुपर्थ्यो, त्यो चाहिँ भएन। त्यसैले व्यावसायिक पाटो हेर्दा दुःखद पनि भयो,’ उनले भने।

खनालले भनेजस्तै कुनै पनि फिल्मको गुणस्तर र त्यो फिल्मले कमाउने पैसा सधैं मेल खाँदैन। कहिलेकाहीँ उम्दा फिल्म पनि व्यावसायिक रूपले असफल हुन्छ भने कतिपय झूर फिल्मले व्यावसायिक रेकर्ड राख्छ। आँकडालाई बेवास्ता गर्ने हो भने यसपालि रिलिज भएका फिल्महरू चाहे हिट होऊन् या फ्लप, तिनले नेपाली फिल्मको धार पक्कै परिवर्तन गरेको छ। मौलिक विषयवस्तुको खडेरी रहँदै आएको नेपाली फिल्म क्षेत्रलाई सिञ्चन गर्ने काम गरेको छ। यो आफैंमा एउटा महत्वपूर्ण फड्को हो।

यहाँनिर एउटा चुनौती पनि छ।

कलात्मक दृष्टिले राम्रो भनिएका यी फिल्म व्यावसायिक रूपले पनि सफल भइदिएका भए सिनेकर्मीहरू उत्साहित हुन्थे। यसले नेपाली सिनेमालाई घिसिपिटी ढर्राबाट कलात्मक रूपले नयाँ बाटोमा डोर्‍याउने अपेक्षा बढ्थ्यो। तर सबैले अपेक्षा गरेको र मौलिक विषयवस्तुसहित नवीन प्रयोग गर्न खोजेका फिल्म अहिलेजस्तै एकपछि अर्को धडाधड असफल भएपछि फिल्मकर्मीहरू उही पुरानो ढर्रामा फर्किने त होइनन् भन्ने जोखिम बढेको छ।

निर्देशक खनाल भने सिनेकर्मीहरूले यो परिवर्तनलाई जुनसुकै हालतमा निरन्तरता दिनुपर्ने बताउँछन्। गम्भीर सिनेमाले कम दर्शक पाउने समस्या नेपालको मात्र नभएर संसारभरि रहेको उनको भनाइ छ।

‘अधिकांश दर्शकले मनोरञ्जनात्मक व्यावसायिक फिल्म नै मन पराउनुहुन्छ। हलिउडमा पनि एकसेएक गम्भीर सिनेमाको दाँजोमा मार्भलकै फिल्महरूले बढी कमाउँछन्। बरू नेपालकै सन्दर्भमा यस्ता फिल्म हेर्न धेरै दर्शक आएजस्तो लाग्छ,’ उनले भने, ‘त्यसैले यस्ता फिल्म बन्ने क्रम जारी रहनुपर्छ।’

उनले अगाडि भने, ‘लगानी दृष्टिले चुनौतीपूर्ण देखिन्छ होला तर हामीले लगातार यस्तै फिल्म बनाउँदै जाने हो भने बिस्तारै दर्शकहरूलाई पनि बानी पर्छ। गम्भीर सिनेमाका दर्शकले नेपाली फिल्म पनि यस्तो बन्छ भनेर विश्वास गर्न थाल्छन्।’

निर्देशक राउत यसमा सहमत छन्।

फिल्मकर्मीहरूले हिट वा फ्लपभन्दा आफूलाई जस्तो बनाउँदा सन्तुष्टि महसुस हुन्छ, त्यस्तै बनाउनुपर्ने उनको धारणा छ।

‘दर्शकलाई दुई घन्टा हलमा बाँधेर राख्न सक्नु नै मनोरञ्जन हो, चाहे त्यो जेसुकै कुराले होस्,’ उनले भने, ‘म आफूलाई जुन विषय सही लाग्छ, त्यही विषयमा फिल्म बनाउँछु। आज मेरो फिल्मका दर्शक थोरै होलान्। तर मैले यस्तै फिल्म बनाइरहेँ भने भोलि अवश्य दर्शक बढ्दै जानेछन्। हिट र फ्लपलाई मात्र हेरेर फिल्म बनाउने हो भने हामी कहीँ पुग्दैनौं।’

कतिपय फिल्म हलमा नचले पनि ‘ओटिटी’ (नेटफ्लिक्स, अमेजन प्राइम, हटस्टार जस्ता इन्टरनेट फिल्म सञ्जालहरू) मा राम्रो कमाइ गर्ने खनालको भनाइ छ। खासगरी यसपालि रिलिज भएका फिल्मलाई ओटिटीका दर्शकले मन पराउन सक्ने उनी बताउँछन्।

‘गम्भीर विषयवस्तुका फिल्म ओटिटीमा रूचाइएको पाइन्छ। हलमा गएपछि दर्शकले रमाइलो गर्न खोज्ने, माहौल नै अर्कै हुनुपर्ने मानसिकता छ,’ उनले भने, ‘तर हाम्रो दुर्भाग्य नै भन्नुपर्छ, हामीकहाँ ओटिटी माध्यम छैन।’

‘दोख’ का निर्देशक अनुप बराल फिल्म नचल्नुमा केही अन्य कुराले पनि प्रभाव पार्ने बताउँछन्।

राम्रो विषयवस्तु छाने पनि दर्शकलाई हलसम्म ल्याउने बाटो नबनाएसम्म फिल्म नचल्ने उनको भनाइ छ।

‘हरेक फिल्मको वर्ग हुन्छ। आमदर्शक सबैलाई मनपर्ने फिल्म कमै निर्देशकले बनाउन सक्छन्। चलिरहेको फिल्म पनि सीमित दर्शकलाई मन परिरहेको छ,’ उनले भने, ‘हामीले यस्ता गम्भीर सिनेमा हेर्न दर्शकलाई हलसम्म आउने बाटो बनाएका पो छैनौं कि!’

बरालले अगाडि भने, ‘प्रचारप्रसारले फिल्ममा धेरै असर गर्छ। ‘दोख’ फिल्मकै राम्रो प्रचार गर्न सकेनौं। हलमा लगाइदिऔं, त्यसपछि हेरे हेर्छन्, नहेरे हेर्दैनन् भनेर छाडिदियौं। मान्छेलाई यस्तो विषयवस्तुको फिल्म चलिरहेको छ भनेर जानकारी पनि दिनुपर्छ। त्यसमा हाम्रो कमजोरी रह्यो।’

यस्ता फिल्मलाई विशेष हल प्रबन्ध गरेर नियमित लगाउने हो भने पनि केही सुधार हुनसक्ने उनको भनाइ छ।

‘यहाँ एक-दुई दिन फिल्म चलेन भने हटाइहाल्ने गरिन्छ। हेर्ने चाहना भएका दर्शकले पनि ढिला गरे हेर्न पाउँदैनन्। लामो समय केही शो दिने हो भने पक्कै पनि फिल्मका आफ्ना खास दर्शक हेर्न आउन सक्नुहुन्छ,’ उनले भने।

‘पानीफोटो’ का निर्देशक खगेन्द्र लामिछाने भने कुनै पनि फिल्म नचल्नुमा दर्शकलाई दोष दिन नमिल्ने बताउँछन्।

‘बलिउडबाट प्रभावित फिल्महरू बनिरहेको समयमा नेपाली फिल्म मौलिक भएन भन्ने गुनासो सुनिन्थ्यो। अहिले हाम्रो मौलिक फिल्ममै दर्शक आउनुभएन। यसमा कसैलाई दोष दिने कुरा आउँदैन। किनकि मानिसको आ–आफ्नो रूचि हुन्छ। हामीले पनि आफ्नै रूचिअनुसार फिल्म बनाउने हो,’ उनले भने।

यति हुँदाहुँदै दर्शक किन हलमा गइरहेका छैनन् भनेर सिनेकर्मीहरूले गम्भीर भएर सोच्नुपर्ने उनको विचार छ।

‘मान्छेको हलमा गएर फिल्म हेर्ने क्षमता नभएको होइन। भारतीय फिल्महरू ‘आरआरआर’, ‘पुष्पा’ र ‘केजिएफ २’ हेर्न प्रशस्तै दर्शक जानुभयो। तिनै दर्शक राम्रो नेपाली फिल्म बन्दा पनि हेर्न आउनुभएन। यस्तो किन भयो भनेर हामीले भन्नसक्ने अवस्था छैन,’ उनले भने।

लामिछानेले अगाडि भने, ‘दर्शकले जस्तो फिल्म हेर्न चाहनुहुन्छ त्यस्तो फिल्म बनाउने कमै हुन्छ। फिल्म भनेको सिर्जना हो। हामीले हाम्रै समाजबाट कथा र पात्र टिप्ने हो। तर मानिसलाई यो समयमा यही चिज मन पर्छ भन्न सकिँदैन।’

समीक्षक तथा लेखक सामीप्य तिमिल्सिना भने पछिल्ला नेपाली फिल्म व्यावसायिक रूपले सफल नभए पनि तिनले समाजको विविधता समेट्ने प्रयास गर्नु सराहनीय भएको बताउँछन्।

‘मौलिक नेपाली कथाका फिल्म बन्न थालेका छन्। यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ,’ उनले भने, ‘लामो समयदेखि फिल्म भनेको मनोरञ्जन मात्र हो भन्ने धारणा बन्यो। त्यसैले अहिले गम्भीर फिल्महरू आउँदा दर्शकलाई स्विकार्न गाह्रो भएको हुन सक्छ। एकै खालका फिल्म हेरिरहेका दर्शकलाई अर्को खालको फिल्म स्विकार्न समय लाग्छ।’

विषयवस्तु राम्रो छाने पनि प्रस्तुतिको तरिका भने अझै रोचक हुन सक्थ्यो कि भन्ने उनलाई लाग्छ।

‘दर्शकले आफूलाई जुन कुराले सन्तुष्टि दिन्छ त्यही हेर्ने हो। अहिले कथा आफ्नो आयो तर त्यसलाई कसरी रोचक तरिकाले भन्ने अन्यौल छ। यस्ता कथामा फिल्म बनाउँदा जुन तरिकाले भन्नुपर्थ्यो, त्यसरी भन्न नसकेका हौं कि!’ उनले भने।

नेपाली फिल्ममा पछिल्लो समय देखिएको परिवर्तनलाई निरन्तरता दिँदै जाने हो भने बिस्तारै दर्शकको दायरा बढ्दै जाने तिमिल्सिनाको भनाइ छ।

यस अर्थमा व्यावसायिक रूपले सफल हुन नसके पनि पछिल्लो समय रिलिज नेपाली फिल्महरूलाई परिवर्तनको संघार मान्न सकिन्छ। सिनेकर्मीहरू अहिलेको व्यावसायिक आँकडाबाट हतोत्साही भएनन् र अझ परिस्कृत हुँदै जान सकेको खण्डमा तिमिल्सिनाले भनेजस्तै आगामी दिनमा दर्शकको कमी नखट्किन सक्छ।

२०,भाद्र.२०७९,सोमबार ०९:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्