पाँचदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किए भारतीय सेनाध्यक्ष पाण्डे

काठमाडौं । पाँचदिने औपचारिक भ्रमण सकाएर भारतीय सेनाध्यक्ष मनोज पाण्डे स्वदेश फिर्ता भएका छन् ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल पाण्डे पाँच दिने औपचारिक भ्रमण सम्पन्‍न गरी बिहीबार २३ गते स्वदेश फिर्ता भएका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्की र श्रीमती मनिषा कार्कीले बिदाई गरेको थियो ।

नेपाल र भारतका सेनाध्यक्षहरुलाई एक अर्का देशको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने विशिष्टिकृत एवं ऐतिहासिक परम्पराको निरन्तरता स्वरुप २० गते राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहकाबीचराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भारतीय सेनाध्यक्ष पाण्डे नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित भएका थिए ।

सोही दिन जनरल पाण्डेको सम्मानमा प्रधान सेनापति महारथी शर्माले जङ्गी अड्डामा रात्रीभोज आयोजना गरेका थिए । उक्त रात्रीभोजमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका सचिवहरु तथा पूर्व प्रधान सेनापतिहरुको समेत उपस्थिति रहेको थियो ।

भ्रमणकै दौरान, जङ्गी अड्‍डामा प्रधान सेनापति महारथी शर्मा र सेनाध्यक्ष पाण्डेबीच औपचारिक भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा दुई देशको आपसी सुरक्षा चासोका विषयहरुमा छलफल भएको थियो ।

पाण्डेले आफ्नो भ्रमणको दौरान प्रधानमन्त्री एवं रक्षामन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । साथै, उनी जङ्गी अड्‍डामा आयोजित विभिन्न कार्यक्रमहरुमा सरिक भएका थिए भने उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वाटरको समेत भ्रमण गरे ।

यस भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ ।

२४,भाद्र.२०७९,शुक्रबार १०:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्