उत्तर कोरियाद्वारा आणविक हतियार सम्पन्न राष्ट्र घोषणा

प्योङयाङ । उत्तर कोरियाले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको छ । प्योङयाङले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानून पारित गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।

देशका नेता किम जोङ-उनले निर्णयलाई ‘अपरिवर्तनीय’ भन्दै आणविक निशस्त्रीकरणमा हुने वार्ताको सम्भावनालाई अस्वीकार गरे । प्रतिबन्धहरूको बावजुद प्योङयाङले सन् २००६ देखि सन् २०१७ को अवधिमा ६ वटा परमाणु परीक्षण गरेको छ ।

उसले आफ्नो सैन्य क्षमतालाई अगाडि बढाउन जारी राखेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लंघन गर्दै उसले बारम्बार आफ्ना छिमेकीहरूलाई आणविक धम्की दिँदै आएको छ ।

किमले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्तापछि उत्तर कोरियाले सन् २०१९ मा लामो दूरीको हतियार प्रक्षेपण र आणविक परीक्षण गरेको थियो । त्यसपछि दुई देशबीचको आणविक वार्ता रोकिएको थियो ।

बाइडेन प्रशासनले प्योङयाङसँग वार्ता गर्न इच्छुक रहेको संकेत गरे पनि राष्ट्रपति जो बाइडेनले किमलाई भेट गर्ने वा नगर्ने विषयमा केही भनिएको छैन ।

२५,भाद्र.२०७९,शनिबार १०:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्