मंसिर ४ गते रुपान्तरणकारी र यथास्थितिवादी शक्तिबीचको लडाइँ : रमेश खरेल

घोराही । स्वतन्त्र राजनीतिक शक्तिका अध्यक्ष रमेश खरेलले आउँदो चुनावमा सामाजिक र राजनीतिक रुपान्तरणकारी शक्ति र यथास्थितिवादी शक्तिबीचको लडाइँ हुन लागेको बताएका छन् ।

स्वतन्त्र राजनीतिक शक्ति दाङले आइतबार घोराहीमा आयोजना गरेको उम्मेदवारी घोषणा तथा आमसभामा बोल्दै उनले देशमा मानवता अझै जीवित रहेको भन्दै आफू नेतृत्वको पार्टीले मात्रै देशको मुहार फेर्ने दाबी गरे ।

‘नेतृत्व सम्हालेकाहरूले देशलाई धुजा-धुजा बनाएका छन् । भ्रष्टाचार, बेथिति, विसंगतिकाविरुद्ध हामी दरिलो आवाज लिएर आएका छौं । अरु पार्टीको भनाइ र गराइमा फरक व्यवहार देखिएको छ । हामी चुनावमा बोलेको कुरा पूरा गरेर छाड्छौं’, खरेलले भने ।

कार्यक्रममा दाङ क्षेत्र नम्बर २ बाट संघीय संसदका लागि गीता रावतले उम्मेदवारी घोषणा गरेकी छन् । यस्तै दाङ क्षेत्र नम्बर २ (क) बाट बेगम पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् ।

नवगठित स्वतन्त्र राजनीतिक शक्ति नेपालमा नेपाल सुशासन पार्टी, सचेत नेपाली पार्टी, नेपाल आमा पार्टी, उन्नत लोकतन्त्र पार्टी आबद्ध छन् ।

२६,भाद्र.२०७९,आईतवार १२:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्