चोलेन्द्रको ‘अमर्यादित’ बयानप्रति पूर्व न्यायाधीश फोरमको आपत्ति, आरोप पुष्टी गर्न चुनौती
वि.सं.२०७९ भदौ २९ बुधवार १५:०३
shares

काठमाडौं । पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणासँग फोरमका कुनै पनि सदस्यले भागबण्डा वा सहुलियत नखोजेको बताएको छ। राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै फोरमले आफ्ना सदस्यहरुप्रति राणाले लगाएको आरोप पुष्टी गर्न समेत चुनौती दिएको छ।
फोरमका अध्यक्ष टोपबहादुर सिंहले राणाले बयानका क्रममा आफूहरुप्रति अमर्यादित शब्द प्रयोग भएको भन्दै संस्थाको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्। ‘संस्थामा आवद्ध रहेका समस्त पूर्व न्यायाधीशहरुको मर्यादामा भ्रम फैलिने गरी व्यक्त गरिएको निलम्बित प्रधान न्यायाधीशको वयान प्रति यस पूर्व न्यायाधीश फोरमले खेद प्रकट गर्दछ । साथै, पूर्व न्यायाधीश फोरमसँग आवद्ध पूर्व प्रधान न्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधान न्यायाधीशसँग कुनै पनि कुराको भागवण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न समेत चुनौति छ,’ फोरमको विज्ञप्तिमा भनिएको छ।
राणाले बयानका क्रममा पूर्व न्यायाधीशहरुलाई विभिन्न आरोप लगाएपछि महाअभियोग समितिले उनीहरुलाई समेत बयानका लागि बोलाउने निर्णय गरेको छ।

























