चुनावमा प्रत्‍यक्षतर्फ महिला उम्मेदवार बढाउन माग

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको उम्मेदवारी बढाउन सबै राजनीतिक पार्टीहरुलाई आग्रह गरेकी छिन् ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले जनतामा सुशासनको प्रत्याभूति दिलाउन पनि महिलाहरुको प्रत्यक्षतर्फको निर्वाचनमा सहभागिता बढाउन आवश्यक रहेको जिकीर समेत गरिन् ।

उनले संविधानले व्यवस्था गरेको महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउन पनि राजनीतिक पार्टीका नेतृत्वहरु तयार नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन् । सांसद पन्तले महिलाहरु भूगोलमा गएर निर्वाचन लड्न सक्षम रहेको उल्लेख गर्दै त्यो कुरालाई आत्मसात गरेर निर्वाचनका लागि उम्मेदवार छनौट गर्न पनि सबै राजनीतिक पार्टीका नेतृत्वको ध्यानाकर्षण गराइन् ।

उनले संविधान अनुसार आगामी निर्वाचनमा महिलाहरुको सहभागिता बढाउने काममा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि आग्रह गरिन्।

सांसद पन्तले भनिन्, ‘ मेरो आग्रह राजनीतिक पार्टीहरुलाई र हाउसको नेता भएकाले सम्माननीय अध्यक्षज्यूलाई पनि आग्रह गर्छु-महिलाहरु सुशासनको निम्ति पनि राज्य संयन्त्रको मूलधारमा पुग्नु पर्छ भन्ने कुराको सोच रहनेछ भन्ने कुरा म आग्रह गर्न चाहन्छु । अर्को २०४७ सालको संविधानमा निर्वाचनमा महिलाहरुले जित्न सक्छन भन्ने मान्यता राजनीतिक नेतृत्वले पुर्‍याउनु पर्‍यो । संविधानले परिकल्पना गरेको महिलाहरुलाई प्रतिनिधित्व गराउने विषयमा पनि हाम्रो राजनीतिक नेतृत्वले स्वीकार गर्दैन ।’

सांसद पन्तले दशैं–तिहारजस्ता चाडबार्ड आएको उल्लेख गर्दै सर्वसाधारणका लागि सुलभ र सस्तो बजारको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् ।

३१,भाद्र.२०७९,शुक्रबार १४:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्