नायक प्रदीप खड्काले मागे भुवन केसीको राजीनामा

काठमाडौं । चलचित्र प्रेमगीत-३ का नायक प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् ।

कात्तिक १ गतेदेखि लागू हुने गरी राति ११ बजेपछि चलचित्र हल बन्द हुने निर्णय गरेको भन्दै खड्काले केसीको राजीनामा मागेका हुन् ।

विकास बोर्डको यो निर्णय असोज ७ गतेदेखि विश्वभर रिलिज हुन लागेको प्रेमगीत–३ प्रति लक्षित भएको खड्काको आरोप छ ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा खड्काले भने– उहाँले (भुवन केसीले) राजीनामा दिंदा इज्जत बढ्छ ।

मदिरा सेवन गर्दै हेरिने डान्सबार रातभर खुल्ला हुने तर कफी र पपकर्न खाँदै हेरिने चलचित्र हल बन्द गर्ने निर्णय गलत भएको उनले बताए ।

नेपाली चलचित्रका निर्माताको हकहितको पक्षमा निर्माता संघ पनि नबोलेको भन्दै खड्काले यस्तै अवस्था रहे समानान्तर निर्माता संघ बनाउने चेतावनी पनि दिए । चलचित्र सम्बन्धी नीति बनाउने व्यक्ति बौद्धिक नहुँदा निर्माता र कलाकारहरुले दुःख पाइरहेको उनले बताए ।

चलचित्र विकास बोर्डले रिलिजको एक साताअघि नै चलचित्र जाँचपासको लागि निवेदन दिनुपर्ने र बिहान ६ बजेदेखि राति ११ बजेसम्म मात्र फिल्म देखाउन पाउने गरी शो निर्धारण गर्नुपर्ने नियम बनाएको छ । राति ११ बजेपछि वा बिहान ६ बजेअघि फिल्म देखाउनुपर्ने भएमा प्रशासनको अनुमति लिनुपर्ने नियम पनि बोर्डले ल्याएको छ ।

१,आश्विन.२०७९,शनिबार १६:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्