अछाम पहिरोमा मृत्यु भएका २२ जनाकै सनाखत

काठमाडौं । अछाममा पहिरोमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको छ । शुक्रबार राति परेको अविरल वर्षाका कारण जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परेर २२ जनाको मृत्यु भएको हो । अझै एकजना बेपत्ता रहेको स्थानीय प्रशासनले जनाएको छ ।

मृत्यु भएका २२ जनाकै सनाखत भइसकेको र बेपत्ता एक जनाको खोजतलास भइरहेको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये ३ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ । बाँकी ३ जना घाइतेको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । अन्य ५ जना जिल्ला अस्पताल अछाममा सामान्य उपचारपछि घर फर्किएको उनले बताए ।

निमित्त प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार मृत्यु हुनेमा कमलबजार नगरपालिका- ६ ठाँटिखादका ३० वर्षीया अमृता कामी, १७ वर्षीया रीता कामी, २१ वर्षीया आराधना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी र १२ वर्षीया शिरु कामी रहेका छन् ।

यस्तै कमलबजार नगरपालिका- ८ का २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीय भाना दमाई, ६ वर्षीय डिक्रा दमाई, ३ वर्षीय कलु दमाई र ४ वर्षीया कल्पना दमाई रहेका छन् । ढकारी गाउँपालिका- ६ सिमाने का २ वर्षीय नवीन बुढाको पनि पहिरोमा परेर मृत्यु भएको थियो ।

तुर्माखाद गाउँपालिका- ५ का १७ वर्षीया जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्रबहादुर शाही, ३६ वर्षीया मनिषा शाही, २१ वर्षीया भावना शाही, १७ वर्षीया कल्पना शाही, १ वर्षीया मेलिना शाही, ३ वर्षीया कल्पना शाही र १३ वर्षीया सुन्दर शाहीले पनि पहिरोमा ज्यान गुमाएका छन् ।

ढकारी गाउँपालिका- १ का ४२ वर्षीय मोती बुढा अझै बेपत्ता छन् । जिल्ला प्रहरी प्रमुखका प्रहरी नायब उपरीक्षक नारायण डाँगीको नेतृत्व प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बललगायत स्थानीयवासी मृतक तथा घाइतेको उद्धारमा खटिएका थिए ।

२,आश्विन.२०७९,आईतवार १४:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्