१२ वर्षदेखि नेपाली महिला फुटबलरको उपाधि पर्खाइ- साफ फाइनलमा बंगलादेशसँग भिड्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपाधिका लागि सोमबार घरेलु टोलीले नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा हुने खेलमार्फत दुवै टोली पहिलोपटक साफ च्याम्पियन बन्ने लक्ष्यमा छन् । १२ वर्षअघि सुरू यो प्रतियोगितामा नेपालले पाँचौपटक र बंगलादेशले दोस्रो पटक फाइनल खेल्न लागेका हुन् ।

अघिल्ला सबै पाँच सस्करण जितेको भारत यसपटक सेमिफाइनलबाटै बाहिरिएकाले साफ महिला च्याम्पियनसिपले यसपटक नयाँ विजेता पाउने छ । नेपालले भारतमाथि १-० गोलको जित हात पार्दै फाइनल यात्रा तय गरेको हो । त्यसअघि समूहगत चरणको अन्तिम खेलमा बंगलादेशले पनि भारतलाई ३-० गोलले हराएको थियो ।

यो पनि पढ्नुस् : नेपाली महिला फुटबलरको भोक- अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो उपाधि

दक्षिण एसियालीस्तरको सिनियर महिला फुटबलमा नेपालले भारतबाहेक अन्य टोलीसँग हार ब्यहोरेको छैन । यो क्षेत्रको सिनियरस्तरको महिला फुटबलमा नेपालले आठौँपटक फाइनल खेल्न लागेको हो । नेपाली महिला टोली दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलका यसअघि आयोजित सबै तीन संस्करणमा फाइनल पगेकामा ती सबैमा भारतसँग नै पराजित भएको थियो ।

बंगलादेशी टोलीको स्तर पछिल्लो समय निकै सुधार भएको पाइएको छ । गत वर्ष दशरथ रंगशालामा भएको दुईवटा मैत्रिपूर्ण खेलमध्ये एउटामा बंगलादेशले नेपाली महिला टोलीलाई गोलरहित बराबरीमा रोकेको थियो । अर्को खेलमा नेपाल २-१ गोलले विजयी भएको थियो ।

जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा बंगलादेशी नै अगाडि छन् । सबिना खातुनले सर्वाधिक ८ गोल गरेकी छन् । मोसाम्मत सिरात जहान सोप्नको नाममा ४ गोल रहेको छ । कृष्ण रानी सरकार, रितु पोर्ण चक्मा र मासुरा पर्विनले २र२ गोल गरेका छन् । मोनिका चक्मा र तोहुरा खातुनको नाममा १ र १ गोल छ ।

नेपालका अनिता बस्नेत, सावित्रा भण्डारी, अमिसा कार्की र रस्मिकुमारी घिसिङले दुई दुई गोल गरेका छन् । बिरामी भएका कारण सेमिफाइनल नखेलेकी स्टार स्ट्राइकर सावित्राले फाइनलमा पनि खेल्ने नखेल्ने निश्चित भइसकेको छैन । जारी प्रतियोगितामा नेपाल र बंगलादेश दुवैले एक गोल पनि ब्यहोरेका छैनन् ।

३,आश्विन.२०७९,सोमबार ०८:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्