समानुपातिकतर्फ ४८ दलले पेस गरे बन्दसूची, नगर्नेमा कति ?

काठमाडौं । निर्वाचन आयोगले आगामी मसिंर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको निर्वाचनमा सहभागी हुनका लागि बन्दसूची पेस गर्ने दलको सूची सार्वजनिक गरेको छ । आइतबार र सोमबार राति अबेरसम्म गरेर प्रतिनिधिसभातर्फका समानुपातिक निर्वाचनमा भाग लिनका लागि ४८ दलले बन्दसूची पेस गरको आयोगले जनाएको छ ।

प्रतिनिधिसभातर्फको समानुपातिकतर्फ बन्दसूची पेस गर्ने पहिलो दलमा नेपाल समावेशी पार्टी रहेको छ भने अन्तिममा नेपाली काँग्रेस ४८ औ नम्बरमा रहेको छ ।

यस्तै, प्रदेशसभातर्फको समानुापातिकतर्फको निर्वाचनमा सातवटै प्रदेशमा गरेर २३७ दलले बन्दसूची पेस गरेका निर्वाचन आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै वागमती प्रदेशमा ४० दल र प्रदेश एक र मधेश प्रदेशमा बरावर ३६/३६ दलले बन्दसूची पेश गरेका छन् । यस्तै सुदूरपश्चिम प्रदेशमा ३४, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा ३२ दल र कर्णाली प्रदेशमा २८ दलले बन्दसूची पेस गरेका छन् ।

प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचनमा सहभागी हुनका लागि ६८ दलले निवेदन दिए पनि ४८ दलले मात्र बन्दसूची पेस गरेका छन् । यसरी हेर्दा २० राजनीतिक दलले बन्दसूची नै पेस नगरेको पाइएको छ ।

प्रदेशमा ३७७ दलले निवेदन दिएकोमध्ये १४० दलले बन्दसूची पेस गरेनन् ।

७ वटै प्रदेशमा प्रदेशसभाको समानुपातिकतर्फको निर्वाचनमा सहभागी हुनका लागि ३७७ दलले निवेदन दिएको भए पनि २ सय ३७ दलले मात्रै बन्दसूची पेस गर्दा १४० दलले भने बन्दसूची नै पेस गरेनन् । जसमा प्रदेश एकमा ५५ दलले निवेदन दिएकोमा ३६ दलले बन्दसूची पेस गर्दा १९ दलले बन्दसूची पेस गरेनन् ।

मधेश प्रदेशमा ५९ दलले निवेदन दिएकोमा ३६ दलले बन्दसूची पेस गर्दा २३ दलले बन्दसूची पेस गरेनन् । वागमती प्रदेशमा ५८ दलले निवेदन दिएकोमा ४० दलले बन्दसूची पेस गर्दा १८ दलले बन्दसूची पेस गरेनन् ।

गण्डकी प्रदेशमा ५२ दलले निवेदन दिएकोमा ३१ दलले बन्दसूची पेस गर्दा २१ दलले पेस गरेनन् । लुम्बिनी प्रदेशमा ५४ दलले निवेदन दिएकोमा ३२ दलले बन्दसूची पेस गर्दा २२ दलले सूची पेस गरेनन् । यस्तै, कर्णाली प्रदेशमा ४९ वटा दलले निवेदन दिएकोमा २८ दलले बन्दसूची पेस गर्दा २१ दलले पेस गरेनन् । सुदूरपश्चिम प्रदेशमा पनि ५० दलले निवेदन दिएकोमा १६ दलले पेस गरेनन् ।







४,आश्विन.२०७९,मंगलवार १४:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्