धनुषा २ बाट ‘मास्टर साहेब’द्वारा स्वतन्त्र उम्मेदवारीको घोषणा

जनकपुरधाम । आसन्न आम निर्वाचनमा धनुषा क्षेत्र नम्वर २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा अवकाश प्राप्त प्रधानाध्यापक कारी यादवले गरेका छन् ।

‘मास्टर साहेब’ नामले चिनिने यादव औरही गाउँपालिका २, धनुषाका हुन् । उनले जनकपुरधाममा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । २०७० मा प्रधानाध्यापकबाट अवकाश पाएका उनी समाजिक कार्यमा सक्रिय छन् ।

पञ्चायतकालदेखि अहिलेसम्म देशमा परिवर्तनको आन्दोलनमा धेरै शहीद भए तर उपलब्धी राम्रो नभएकोमा यादवले दुःख व्यक्त गरे । उनले आफू निर्वाचित भएपछि भ्रष्टाचार र धर्म निरपेक्षविरुद्ध गाउँदेखि सदनसम्म जोरदार आवाज उठाउने प्रतिवद्धता पनि जनाए ।

विदेशीहरूको प्रभावमा धर्म निरपेक्ष देश घोषणा गरेको भन्दै उनले हिन्दु राष्ट्र फर्काउनुपर्नेमा जोड दिए । चुनावमा आफ्नो मुल मुद्दा हिन्दु राष्ट्र नेपाल, भ्रष्टाचार निर्मूल र देश विकास हुने पनि उनले बताए ।

गत निर्वाचनमा धनुषा २ बाट तत्कालिन संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया निर्वाचित भएका थिए । अहिले लोसपाका प्रमुख सचेतक रहेका उनले एमालेमा प्रवेश गरी चुनाव लड्ने तयारीमा छन् ।

४,आश्विन.२०७९,मंगलवार १८:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्