केएसएलमा अस्वाभाविक शुल्कवृद्धि गरिएको भन्दै अनेरास्ववियूको विरोध

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको काठमाडौं स्कुल अफ ल (केएसएल) ले शुल्क वृद्धि गरेपछि एमाले निकट अनेरास्ववियू विरोधमा उत्रिएको छ । उक्त संगठनको एक प्रतिनिधिमण्डलले आज भक्तपुरको सूर्यविनायक नगरपालिका- ४ दधिकोटस्थित सो कलेजमा पुगेर ज्ञापनपत्र बुझायो ।

कानून विषयको पठनपाठन हुने यस कलेजले पाँच वर्षे बीएएलएलबीको शुल्क ९ लाख ८० हजारबाट एकैपटक १२ लाख पुर्‍याएको विद्यार्थीले बताएका छन् । पछिल्लो पाँच वर्षमा नै कलेजको शुल्क दोब्बर भएको बताइएको छ ।

अनेरास्ववियू पूर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीले एक विज्ञप्ति जारी गर्दै कानून संकायको शुल्क प्राविधिक विषयको भन्दा चर्को हुनु अतिवाद भएको उल्लेख गरेको छ ।

‘शिक्षा क्षेत्रको अभिभावकत्वमा राज्यको कमजोर दायित्वको फाइदा उठाएर मनपरी शुल्क असुल्ने प्रवृत्तिको अनेरास्ववियू घोर विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

यस कलेजले विद्यार्थीहरुलाई विभिन्न किसिमले शोषण गरिरहेको गुनासो आएकोसमेत विज्ञप्तिमा उल्लेख छ ।

आफूहरुले मनोमानी रुपमा बढाइएको शुल्क फिर्ता गर्न तीन दिनको अल्टिमेटम दिएको अनेरास्ववियू केन्द्रीय सदस्य जश्मिन ओझाले बताइन् । तीन दिनमा शुल्क नघटाएको खण्डमा आफूहरु आन्दोलनमा उत्रिने उनको भनाइ छ ।

५,आश्विन.२०७९,बुधबार १६:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्