राष्ट्रपतिकाे कदमकाे बचाउ गर्दै ओलीले भने- अहंकारी गठबन्धनले धारा १८१ पटक-पटक उल्लंघन गर्यो
वि.सं.२०७९ असोज ६ बिहीवार १३:५१
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले संविधानको धारा १८१ पटक-पटक उल्लंघन गरेको आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त व्यवस्थाअनुसार राष्ट्रपतिसँग विधेयकबारे कुनै परामर्श नगरेको बताउँदै संविधान उल्लंघन गरेको आरोप लगाएका हुन् ।
‘मैले संसदको एकवर्ष अगाडि नै उभिएर भनेको थिएँ संविधानको धारा १८१ तर्फ सरकारको ध्यान जाओस, संविधानको पालना सरकारले गरोस्’, उनले भने, ‘संविधान विधेयकहरू संसदमा पेस गर्नुपूर्व राष्ट्रपतिसँग सल्लाह गर्नुपर्छ, राष्ट्रपतिसँग स्वीकृति लिनुपर्छ, राष्ट्रपतिलाई ब्रिफिङ गरेको हुनुपर्छ भन्छ । यो अहंकारी गठबन्धनले संविधानको धारा १८१ एकपल्ट पनि पालना गरेन ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचार गर्न पठाउँदा गठबन्धनले मसलको भाषा बोलेको अध्यक्ष ओलीको आरोप छ । ‘राष्ट्रपतिले पुनर्विचार गर्ने कि भन्नु भो । नगर्ने ?’, उनले भने ।
संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिको रायबारे छलफल नै नगरेको ओलीको आरोप थियो । उनले भने, ‘बाहिरबाहिर बसेर अनाडि मान्छे भेला भएर, अनाडि मान्छे बसेर, संविधानले नचिनेका व्यक्ति बसेर राष्ट्रपतिको मजाक उडाउने काम भएको छ ।’ जसमा असभ्यता, कुसंस्कार, अलोकतान्त्रिक अभ्यास भएको उनले बताए ।

























