प्रेमगीत ३ ले विश्वबजारमा प्रवेश पायो, तर उल्लेख्य पर्दा पाएन

काठमाडौं । नेपाली र हिन्दी भाषामा निर्माण भएको चलचित्र प्रेमगीत-३ आजबाट विश्वव्यापी रिलिज भएको छ । विश्वको मेनस्ट्रिम फिल्म बजारमा प्रवेश पाए पनि चलचित्रले उल्लेख्य हलहरु पाउन सकेन । चलचित्र संवद्ध स्रोतका अनुृसार यो चलचित्र नेपालसहित भारत र विभिन्न देशका करिब ६०० थियटरमा प्रदर्शन सुरु भएको छ । तीमध्ये डेढ सय हलहरु नेपालकै हुन् । भारतका ३३० वटा हलहरुमा चलचित्र प्रदर्शनमा आएको त्यहाँ पुगेका पत्रकार अनुप भट्टराईले जानकारी दिए ।

भारतमा अपेक्षित र प्रचार गरिएको संख्यामा शो नपाए पनि पहिलोपटक नेपाली चलचित्रले त्यहाँको मेनस्ट्रिम बजार खोतलेको हो । यसअघि ५ सय वटा थियटरमा चलचित्र प्रदर्शन हुने आँकलन गरिएको भए पनि त्यो सम्भव भएन । भारतका फिल्मी व्यापार विश्लेषक रोहित जैसवालले हिजो ट्विट गर्दै नेसनल चेन मल्टिप्लेक्समा प्रेमगीत ३ ले देशव्यापी शो पाउन नसकेको बताएका थिए । प्रचार–प्रचार बलियो नहुनु र दर्शकको उत्सुकता कम हुनुले गर्दा फिल्मलाई सुरुवाती धक्का लागेको उनको भनाइ छ ।

भारत वा दक्षिण भारतमा बन्ने चलचित्रभन्दा फरक र मौलिक विषयवस्तु नभएकाले गर्दा भारतीय दर्शकहरु आकर्षित नभएको पनि विश्लेषण गरिएको छ ।

भारतमा सिंगल स्क्रिन हलहरु ६ हजारभन्दा बढी छन् भने मल्टिप्लेक्स मात्रै ३ हजार २०० वटा छन् । त्यसमा प्रेमगीत ३ ले पाएका हलहरुको संख्या अत्यन्तै न्यून हो । यदि आगामी दिनमा यो संख्यामा बढोत्तरी भएन भने भारतबाट यस चलचित्रले सोचेजस्तो रेभिन्यू जेनरेट गर्न कठिन छ । चलचित्रमा १० करोडभन्दा बढी लगानी भएको बताइएको छ । यो लगानी उठाउनका लागि ३० करोडभन्दा माथिको ग्रस कलेक्सन गर्नुपर्छ । स्वदेशी बजारबाट मात्रै त्यो सम्भव देखिँदैन ।

त्यसो त नेपालका हलहरुमा आज प्रेमगीत ३ ले राम्रैसँग राज गरेको छ । देशभरका थियटरले यसलाई पर्याप्त शो दिएका छन् । प्रेमगीत–३ को नेपाली भर्सन मात्रै आज नेपालमा रिलिज भएको हो । हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले सोमबार मात्रै रिलिज हुने बताइएको छ । केही दर्शकहरु हिन्दी भर्सन हेर्न बढी लालायित देखिएकाले निर्माण पक्ष आशावादी छ ।

नेपालमा सबैभन्दा बढी कमाउने चलचित्रको रेकर्ड कबड्डी ४ को नाममा छ । यसै वर्ष प्रदर्शनमा आएको यस चलचित्रले २० करोडको हाराहारी ग्रस कलेक्सन गरेको थियो । चलचित्रले पहिलो दिनमा नै अढाइ करोडभन्दा बढीको ओपनिङ गरेको थियो । प्रेमगीत ३ को ओपनिङले कबड्डी ४ लाई भेट्टाउन नसकेको हुँदा लाइफटाइम कलेक्सनको विषयमा यसै भन्न सकिन्न ।

चलचित्र वितरक गोविन्द शाहीले देशभरका हलहरु आज हाउसफुल रहेको दाबी गरे । तर, सबै रिपोर्ट बेलुकासम्ममा मात्रै आउने उनको भनाइ छ । नेपाल प्रेसले केही हलहरुमा गरेको अनुगमनमा चाहिँ ६० देखि ७० प्रतिशत अकुपेन्सी देखिएको छ । भोलि शनिबार भने देशव्यापी हाउसफुल हुने सम्भावना देखिन्छ ।
त्यसो भएको खण्डमा आज र भोलि फिल्मले नेपालबाट उच्चतम ४ करोडसम्म ग्रस कलेक्सन गर्न सक्छ । आइतबारदेखिको व्यापार चाहीँ वर्ड अफ माउथमा निर्भर गर्नेछ । सोमबारबाट रिलिज हुने भनिएको हिन्दी भर्सनको व्यापार अहिल्यै भन्न सकिने अवस्था छैन । नेपाली भर्सनमा आउने रिभ्यूहरुले हिन्दी भर्सनको व्यापार प्रभावित बन्ने देखिन्छ ।

नेपाल र भारतबाहेक अन्य केही देशहरुमा प्रेमगीत-३ ले प्रवेश पाए पनि उल्लेख्य हल पाउन सकेन । कुल मिलाएर ५० भन्दा कम हलहरु पाएको बुझिएको छ । फिल्म सम्वद्ध स्रोतले अमेरिका, बेलायत, क्यानाडा, सिंगापुर, अष्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया, यूएईलगायतका देशमा पनि प्रेमगीत ३ रिलिज भएको दाबी गरे पनि हलहरुको संख्या खुलाउन चाहेन ।

प्रेमगीत-३ को निर्माण सन्तोष सेनले गरेका हुन् । यो चलचित्र नेपालीमा निर्माण भएर पछि हिन्दी डव गरिएको हो । हिन्दी डवलाई नेपाली चलचित्रको मान्यता दिने/नदिने विषयलाई लिएर विवाद भएको थियो । बोर्डले अनुमति नलिइकन डव गरिएको भन्दै १५ प्रतिशत चलचित्र विकास कर तिर्नुपर्ने बताएको थियो । तर, पछि सञ्चार मन्त्रालयले हस्तक्षेप गरेर नेपाली चलचित्र बराबर नै सहुलियत दिने निर्णय गरिएको छ ।

चलचित्रले नेपालबाट गर्ने आम्दानी र अन्य देशमा नेपाली भर्सनले आम्दानी मात्रै सन्तोष सेनको हातमा पर्ने छ । हिन्दी भर्सनले नेपालबाहेकका देशहरुमा गर्ने आम्दानी यस चलचित्रमा जोडिएका भारतीय निर्माताले लैजाने छन् ।

७,आश्विन.२०७९,शुक्रबार १५:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्