प्रदेश १ का मुख्यमन्त्रीले फेरे मुख्य न्यायाधिवक्ता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठलाई हटाएर परिवर्तन राईलाई नियुक्त गरेका छन् । आइतबार विहान राईलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

पार्टी निकट कानुन व्यावसायीलाई पालो पुर्‍याउन मुख्यमन्त्री राईले नौं महिनामै मुख्य न्यायाधीवक्ता फेरेको भन्दै आलोचना भएको छ । हाल नियुक्त मुख्य न्यायाधिवक्ता राई खोटाङका हुन् ।

नवनियुक्त मुख्य न्यायाधिवक्ता राईलाई आइतबार प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले सपथ गराएका हुन् ।

श्रेष्ठ गत पुस २३ गते मुख्यन्यायधिवक्ता नियुक्त भएका थिए । उनलाई पदमुक्त गर्नुको कारण खुलाइएको छैन । श्रेष्ठले भने आफैंले राजिनामा दिएको बताएका छन् । ‘पालो सिस्टम थियो, दाबेदार थुप्रै छन्’, श्रेष्ठले भने, ‘मैले राजीनामा दिएको छु, उहाँ (नवनियुक्त मुख्यमन्त्री राई) ले हाजिर गरेपछि जिम्मेवारी हस्तान्तरण गर्छु ।’

९,आश्विन.२०७९,आईतवार १३:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्