रुपन्देही प्रहरीद्वारा विशेष सुरक्षा योजना सार्वजनिक

रुपन्देही । रुपन्देही प्रहरीले चाडपर्व लक्षित अपराध रोक्न विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । वडा दसैं, दिपावली र छठ पर्वलाई मध्यनजर गर्दै जिल्लाको शान्ति सुरक्षालगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्व अवधिभर १ हजार २ सय ४८ जना प्रहरी परिचालन गर्दैछ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पत्रकार सम्मेलन गरेर सुरक्षा रणनीति सार्वजनिक गरेको छ । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार चाडपर्वमा हुनसक्ने विसंगति, विकृतिविरुद्ध प्रहरी परिचालन गरेको उल्लेख छ । यस्तै प्रहरीले सीमा एरियामा कडा चेकजाँचको व्यवस्था गरी अवैध गतिविधि रोक्ने दाबी गरेको छ ।

प्रत्येक प्रहरी इकाईमा प्रहरी टोली कार्यवाही टिम (क्युआरटि) को रुपमा राखी परिचालन गर्ने व्यवस्था मिलाएको उनले बताए । चाडपर्वको समयमा बढी पटका, आतीसबाजीको प्रयोग हुने भएकोले सो को नियन्त्रणमा पनि प्रहरी कडाईका साथ प्रस्तुत हुने रेग्मीको भनाई छ ।

चाडपर्वमा जुवालाई नियन्त्रण गर्न प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गर्ने योजना ल्याएको छ । जुवा, चन्दा लगायतका गतिविधिहरुको गोप्य रुपमा सूचना संकलन गरी कारबाहीको दायरामा ल्याउने प्रहरीले जानकारी दिएको छ । यस्तै, राजमार्गलक्षित गरी रातीको समयमा गश्ती बढाउने योजना रहेको डिएसपी श्यामु अर्यालले जनाए । बन्द रहने सरकारी कार्यालय, तथा संघसंस्थाका सुरक्षा गार्ड र कार्यालय सहयोगीहरुसंग समन्वय सहितको सुरक्षा व्यबस्था मिलाइने उनले जनाए ।

यस्तै, चाडपर्वको समयमा बढी भिडभाड हुने बजार, हाटबजारहरुमा पैदल गस्ती, मोवाइल गस्ती गरी बिभिन्न प्रकारका अपराधिक कृयाकलापहरुविरुद्ध प्रहरी परिचालन गरिने अर्यालले जनाए । यस अतिरिक्त चाडपर्व लक्षित अपराध बढ्नसक्ने भएकोले नागरिकलाई पनि चनाखो हुन प्रहरीले अपिल गरेको छ ।

प्रहरीका विभिन्न युनिटहरुले विगतमा आआफ्ना एरियामा घटेका घटनाहरूलाई मध्यनजर राखी पैदल, साइकल, मोटरसाइकल र गाडी गस्ती परिचालन गरिने भएको छ । बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । विभिन्न मठ मन्दिर, पुजा अर्चना गर्ने स्थान, दुर्गाको मूर्तिहरु ल्याउने र बिर्सजन गर्ने समयमा सुरक्षा व्यवस्था मिलाइने उनले जनाए । यस्तै, तिहारमा राती १० बजेसम्म मात्र देउसी भैलो खेल्ने समय निर्धारण गरिएको अर्यालले जानकारी दिए ।

९,आश्विन.२०७९,आईतवार १७:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्