सिन्धुपाल्चोक-१ : एमालेमा नेपाल बन्धुको विकल्पमा तेस्रो पात्रको इन्ट्री

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर-१ मा गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र माओवादीको दाबी कायमै रहँदा एमालेभित्र पनि चहलपहल बढेको छ । सिन्धुपाल्चोक १ अन्तिममा माओवादीले पाएमा उमेदवार ‘काका’ हुने की ‘भतिज’ हुने झनै अन्यौलमा छ ।

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा-१ का लागि पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्य सरेश नेपाल, नेताहरू भरत पराजुली र बादल तामाङको नाम सिफारिस गरेको छ ।

२०७४ को निर्वाचनमा एमाले र माओवादी गठबन्धन हुँदा प्रतिनिधिसभामा माओवादीबाट अग्निप्रसाद सापकोटा उमेदवार भएका थिए भने नेपाल दाजुभाइ क्रमश: प्रदेश ‘क’ र प्रदेश ‘ख’ मा उमेदवार भएर जित हाँसिल गरेका थिए ।

२०६४ र २०७० को संविधानसभा निर्वाचनमा उमेदवार भएर २०७० मा ३१ मतले विजयी भएका थिए एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल । २०७४ मा प्रदेशसभा ‘ख’ बाट विजयी भएपछि नेपाल झण्डै तीन वर्ष वागमती प्रदेशसभामा मन्त्रीसमेत भएका थिए ।

भूगोलको राजनीतिमा कम सक्रिय भएको अरुण नेपाललाई आरोप लाग्ने गरेपनि २०६४ देखि भने नेपाल निरन्तर भूगोलमा नै छन् । उनी मन्त्री हुँदा उनको प्रदेशमा अरबौंको विकास बजेटसमेत हाल्न सफल भएका थिए ।

प्रदेशमा मात्रै होइन प्रदेश ‘ख’ मा पनि उनको प्रभाव बाक्लो छ । जुगल गाउँपालिकाबाहेक अन्यत्र उनको प्रभाव बाक्लो रहेको छ, त्यसैले पनि नेपालले यो पटक फेरि प्रतिनिधिसभामा उमेदवार हुने योजनाका साथ भेटघाट र छलफललाई तीव्र बनाएका छन् । उनी एमालेका ‘१० भाइ’ नेताहरूसँगै नेकपा एसमा नगएर एमालेमा नै बसेका थिए ।

एमाले केन्द्रीय सदस्य सरेश नेपाल गाविस अध्यक्ष हुँदै एक कार्यकाल तत्कालीन जिल्ला विकास समितिको उपसभापति र एक कार्यकाल जिल्ला सभापति भइसकेका छन् । त्यसैगरी २०७४ को निर्वाचनमा उनी प्रतिनिधिसभा-१ प्रदेशसभा ‘ख’ बाट विजयी भएका थिए । २०७४ मा बामगठबन्धनबाट विजयी भएका पाँच उमेदवारमध्ये ‘लोकप्रिय’ मतमा उनी पहिलो भएका थिए ।

वागमती प्रदेशसभामा अरुण नेपालले मन्त्री पदबाट राजीनामा दिएपछि सोही पदमा उनी केही समय मन्त्री भएका थिए । उनी मन्त्री र सासंद हुदा सिन्धुपाल्चोकको विकट गाउँपालिकाको रूपमा चिनिएको जुगललाई बढी प्रथामिकतामा राखेर काम गरेका थिए ।

२०७० को संविधानसभा निर्वाचनमा पनि नेपाल दाजुभाइको नै दाबी थियो । अन्तिम समयमा अरुण ले टिकट पाएपछि सरेश नेपाल रुष्ट भएका थिए । उमेदवार मनोनयमा नै सरेश नेपाल उपस्थिति भएका थिएनन् । त्यतिबेला सरेशको असहयोगले अरुण थोरै मतले पराजय हुनु परेको अरुण पक्षधर नेताकार्यकर्ताहरुले अहिलेसम्म पनि आरोप लगाउदै आएका छन् । तर, नेता सरेश भने त्यसलाई मान्न तयार छैनन् ।

यो पटक दुवै दाजुभाइलाई ब्याक गराएर तेस्रो पक्षलाई अगाडि बढाउन जिल्लाका केही नेता सक्रिय भएका छन् । टिकटमा दुवै नेताको दाबेदारी बलियो नै छ । एकले अर्कालाई छाड्दा एक जना ब्याक हुनुपर्ने अवस्था छ । दुवैले टिकटका लागि बलियो लबिङ गरिरहेका छन् ।

टिकटमा दुई नेताको अडान कायम नै रहदा एमाले नेता कार्यकर्ताहरू भने नेपाल दाजुभाइको विकल्पमा तेस्रो व्यक्ति खोजिरहेका छन् । तेस्रो व्यक्ति को त ? यसको जवाफमा एमाले सिन्धुपाल्चोकका एक नेता भन्छन्- दाजुभाइबीच सर्वसम्मत हुन नसके जिल्लाबाट सिफारिस भएका चारमध्ये भरत पराजुलीलाई अगाडि ल्याउनुपर्छ ।

पराजुली एमाले सिन्धुपाल्चोकका पुराना नेता भएपनि कमिटीगत जिम्मेवारीमा खासै छैनन् । तर, एमालेका हरेक अभियानहरूमा पनि पराजुलीको सक्रिय सहभागिता रहँदै आएको छ । जलविद्युत क्षेत्रको व्यावसायमा आबद्ध भएका पराजुलीको नेतृत्वमा जुगल गाउँपालिकाभित्र मात्रै १ सय ५० भन्दा बढी मेगावाटको जलविद्युत आयोजनाहरू निर्माण हुने क्रममा रहेका छन् ।

बलेफी गाउँपालिकाका स्थायी बासिन्दा पराजुलीको बलेफीमा पनि पक्कड रहेको छ । खानेपानी र शिक्षा क्षेत्रमा कार्यरत रहँदा १ नम्बर क्षेत्रका अन्य बस्तीहरूमा समेत पराजुलीको पहिचान राम्रो छ । टिकटका लागि उनले एमाले केन्द्रीय नेताहरूसँग बाक्लो सम्बन्ध बढाइरहेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

२०७९ को स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मत यस्तो छ-

निर्वाचन क्षेत्र नं. १
कांग्रेस-३४,९६१

एमाले-२६,५५९

माओवादी-१९,३३४

समाजवादी-२,३९१

राप्रपा-१,२११

निर्वाचन क्षेत्र नं. १ ‘क’
कांग्रेस-१४,७५५

एमाले-१०,३६६

माओवादी-४,७८९

समाजवादी-८,९१

राप्रपा-७,८९

निर्वाचन क्षेत्र नं. १ ‘ख’
कांग्रेस-२०,२०६

एमाले-१६,१९३

माओवादी-१४,५५४

समाजवादी-१,५००

राप्रपा-४,२२

१०,आश्विन.२०७९,सोमबार १०:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्