धनुषा २ बाट चुनाव लड्न एमालेबाट जसपा प्रवेश गर्दै नेता गंगाराम यादव

जनकपुरधाम । नेकपा एमाले नेता गंगाराम यादव जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्ने भएका छन् । यादव धनुषा क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवारी दिने तयारीमा थिए ।

तर, सो क्षेत्रबाट चुनाव लड्न लोसपा प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अगरियालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भित्र्याएका छन् । सोही कारण रुष्ट यादव एमाले त्यागेर जसपा प्रवेश गर्न लागेका हुन् ।

नेता यादवले आफू एमाले परित्याग गर्न लागेको नेपाल प्रेससँगको कुराकानीमा बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र एमाले प्रमाणीकरण गर्नुपर्ने पक्षमा नउभिएकोमा आपत्ति रहेकाले पार्टी त्याग्न लागेको जानकारी दिए ।

एमाले अध्यक्ष ओली जनकपुरधाम आउँदा यादवले विमानस्थलमै पुगेर स्वागत गरेका थिए । स्रोतका अनुसार उनलाई जसपा अध्यक्ष यादवले धनुषा २ बाट उम्मेदवार बनाउने वाचन दिएर पार्टी प्रवेश गराउन लागेका छन् । यसअघि अध्यक्ष यादवले बलराम महतोलाई पनि टिकटकै लोभ दिएर पार्टी प्रवेश गराएका थिए ।

महतो जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रबाट चुनाव लडेका थिए । निर्माण व्यवसायी महतो मेयरमा पराजित भएलगत्तै जसपा अध्यक्ष यादवले उनलाई पार्टीमा भित्र्याएका थिए ।

१०,आश्विन.२०७९,सोमबार ११:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्