प्रचण्डले हेरे फिल्म ‘प्रेमगीत ३’, भन्छन्, ‘नेपालको पर्यटन प्रवर्द्धनमा मद्दत गर्छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फिल्म ‘प्रेमगीत ३’ हेरेका छन् । आइतबार साँझ चितवनको इन्द्रदेव हलमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीसहितको टोलीसँग प्रचण्डले फिल्म हेरेका हुन् ।

पूरै समय हलमै बसेर फिल्म हेरेका प्रचण्डले बाहिर निस्कँदा सञ्चारकर्मीसँग फिल्मको प्रशंसा गरे । फिल्म हेरिरहँदा आफूलाई बाल्यकालको याद आएको भन्दै उनले नेपालको पर्यटन विकासमा फिल्मले टेवा पुग्ने समेत बताए । ‘मसालेदार’ भन्दै उनले फिल्मको समीक्षा पनि गरे ।

फिल्म हेरेपछि प्रचण्डको भनाइ :

‘धेरै समयपछि फिल्म हलमा आएर फिल्म हेर्ने अवसर जुट्यो । काठमाडौंबाट आउने बित्तिकै साथीहरुले कुरा गर्नुभयो । विश्वभरि चलेको छ, चर्चित भएको छ भनेपछि हामीले फिल्म भोलि हेर्ने भनेर आज हेरियो ।

फिल्म हेर्दै गर्दा पहिले-पहिलेको याद पनि आयो । फिल्म चल्दै जान्छ र पछाडिबाट होहल्ला हुँदै पनि गयो । पहिले पहिले बचपनको याद पनि आयो मलाई ।
यसमा धेरै चीज एकैठाउँमा मिसाएर प्रस्तुत गरिएको छ र बडो मसालेदार जस्तो लाग्यो । यहाँ युद्ध पनि छ, राजनीति पनि छ । दरबारभित्रको षड्यन्त्र पनि छ । प्रेम पनि छ, हिंसा पनि छ, प्रतिहिंसा पनि । त्यसकारण यो फिल्ममा युनिक खालको प्रस्तुति देखियो ।

दोस्रो- नेपालको प्राकृतिक सुन्दरतालाई बडो राम्रो ढंगले प्रस्तुत गरिएको छ । त्यस दृष्टिले यो हेर्न लायक बनेको छ । कलाकारहरुले आ-आफ्नो जिम्मेवारी र दृष्टिकोण राम्रोसँग प्रस्तुत गरेका छन् । मेसेजको दृष्टिकोणले म यति भन्न चाहन्छु कि मसालेदार फिल्म छ । मेसेजमा यो फिल्म अलिकति कन्ट्रोभर्सी र कन्फ्युजन हुन पनि सक्छ ।

नेपालीले बनाएको यो फिल्मले फिल्म जगतमा प्रेमगीत ३ ले नयाँ आयाम थपेको छ । यसले पक्कै पनि पर्यटन विकासमा मद्दत गर्छ ।

१०,आश्विन.२०७९,सोमबार ११:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्