अन्तिम पटक प्रदेश सभामा लड्छु: मन्त्री थापा

पोखरा । कांग्रेस नेता तथा गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले अन्तिम पटक प्रदेशसभा निर्वाचन लड्ने बताएका छन् । बिहीबार एक कार्यक्रममाझ मन्त्री थापाले प्रदेश सभा निर्वाचन लड्न आकांक्षी रहेको बताए ।

सांसद र बहालवाला मन्त्री भएपछि कुनै सेवा सुविधा आफ्नालागि नलिएको बताउँदै चुनावमा टिकट पाउनुपर्ने बताए । ‘अघिल्लो चुनावमा बागी उम्मेदवार हुँदा पनि जितेको हुँ । अहिले म त्यही क्षेत्रको आकांक्षी हुँ,’ उनले भने, ‘अन्तिम पटक यहि ठाउँबाटै चुनाव लड्नुपर्छ । पार्टीले सहि मूल्यांकन गर्छ भन्नेमा विश्वस्त छु ।’

आसन्न चुनावमा कास्की प्रदेश सभा क्षेत्र नम्बर २ ‘ख’बाट चुनाव लड्न उनी आकांक्षी छन् । यस क्षेत्रमा चुनाव लड्न प्रदेशका दुई बहालवाला मन्त्रीको टक्कर छ । प्रदेशका भौतिक मन्त्री कुमार खड्का र कानून मन्त्री थापा यस क्षेत्रमा चुनाव लड्न जुहारीमा छन् ।

मन्त्री खड्काले सुरुबाट नै आफूलाई भूमिकाहरुमा कमजोर बनाएको उनको आरोप छ । कानून मन्त्रालय भन्दा धेरै जिम्मेवारी भएको मन्त्रालय लिने टुंगो पार्टी सभापति शेरबहादुर देउवाले नै दिएपनि खड्काकै कसरतमा सानो मन्त्रालय आफूलाई परेको उनले बताए ।

सांसदले भन्दा मन्त्री भएर आफूले कम बजेट पाएको दुखेसो उनको छ । खड्काले ‘कुमार खड्का समर्थक भेला’ आयोजना गर्दै नंग्याउन लागेको उनको आरोप छ । ‘उहाँले एकपक्षीय रूपमा नंग्याउन लाग्नु भयो । मबाट त्यस्तो केही भएको छैन । ठूलो मन्त्रालय पाउनुपर्नेमा उहाँकै अनेक क्रियाकलापका कारण कानून मन्त्री बन्नुपर्‍यो, उनले भने ।

सांसदको सेवा सुविधाबाट ४० लाख सहयोग

मन्त्री थापाले आफू सांसद निर्वाचित भएपछि पाएको ४० लाख ७१ हजार रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको दाबी गरेका छन् ।
सांसद भएर प्रदेश सभा गएपछि पाएको सेवा सुविधाबाट ४० लाख र आफूले थप ५८ लाख खर्च सामाजिक सेवामा गरेको दाबी उनको छ ।

‘राजनीति मेरा लागि पेसा होइन । अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जन गरेको छु,’ उनले भने, ‘प्रदेश सांसद हुँदा होस् वा बहालवाला मन्त्रीका रूपमा मैले कुनै सुविधा आफ्नो लागि लिएको छैन ।’ २०७८ चैतपछि मात्रै ११ लाख रुपैयाँ सामाजिक काममा खर्च गरेको उनले विवरण प्रस्तुत गरे ।

१३,आश्विन.२०७९,बिहीबार ११:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्