गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बाले प्रतिनिधिसभामा दिए उम्मेदवारी

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङबाट उम्मेदवारी दर्ता गरेका छन् । यसअघि उनी प्रदेशसभामा चुनाव लड्न चाहे पनि पार्टी नेतृत्वले उनलाई प्रतिनिधिसभामै लड्न दबाब दिएको थियो ।

सातौं पटक चुनाव लड्न लागेका गुरुङ यस चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका महासचिव देव गुरुङसँग आमनेसामने हुनेछन् ।

उपमहासचिव गुरुङ प्रतिनिधिसभा चुनाव लड्न अनिच्छुक थिए । पार्टी नेतृत्वले लगातार दबाब दिएपछि उनी प्रतिनिधिसभा चुनाव लड्न तयार भएका हुन् । प्रदेशसभा चुनाव लड्न नपाएपछि गुरुङ चुनावै नलड्ने मनस्थितिमा पुगेका थिए । पार्टी अध्यक्ष केपी ओलीले प्रतिनिधिसभामै चुनाव लड्न दबाब दिएका थिए ।

‘प्रदेशमा नपाएपछि उहाँ चुनावै नलड्ने मनस्थितिमा हुनुहुन्थ्यो । तर, अहिले दबाबपछि लड्न लाग्नुभएको हो’, पृथ्वीसुब्बा निकट स्रोतले भन्यो । उम्मेदवारी मनोनयनको दिन पोखराबाट बेसीसहर पुगेका गुरुङले लमजुङमा एमालेबाट जितेका पालिका अध्यक्षहरुसँग छलफल पनि गरेका थिए ।

देव गुरुङ र पृथ्वीसुब्बा भिड्न आँटेको यस क्षेत्रमा गत स्थानीय चुनावमा १ लाख ३१ हजार ४९४ मतदाता थिए । यहाँको निर्वाचनमा दुवैलाई गाह्रो हुने देखिन्छ । स्थानीय तह प्रमुखको चुनावमा नेकपा एमाले एक्लैको मत गठबन्धनको मतभन्दा थोरैमात्र बढी छ । नेकपा एमालेले ८ पालिकाको प्रमुखमा कुल ४२ हजार ७२१ मत पाएको थियो ।

यता गठबन्धनका दलमध्ये नेपाली कांग्रेसको ३६ हजार ४१२ मत छ । माओवादी केन्द्रको मत ४ हजार ६५१ रहेको छ । नेकपा एमाले र गठबन्धनको प्राप्त मतको अन्तर १ हजार ६५८ छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लाभर ८२९ मत पाएको थियो ।

२३,आश्विन.२०७९,आईतवार १५:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्