
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर समृद्धि अभियानमा लाग्ने बताएका छन् ।
जनयुद्धका पूर्वसहकर्मी एक भएपछि अब देशलाई समृद्धिको अभियानमा लाने उनले बताएका हुन् ।
अहिले अध्यक्ष भट्टराईले प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्रमा लगेर अघि सारेका छन् । उनले आफू संसदीय राजनीतिबाट बाहिर बस्ने निर्णय गरेका छन् । अध्यक्ष भट्टराईले काठमाडौं ७ बाट माओवादीको चुनाव चिह्नबाट छोरी मानुषी यमीलाई उठाएका छन् ।
प्रचण्डको उम्मेदवारीका लागि गृहजिल्ला गोरखामा रहेका अध्यक्ष भट्टराईले प्रचण्ड र बाबुरामको एकता र संघर्षको सम्बन्धको अन्तर्य बुझ्न धेरैलाई कठिन हुनु स्वाभाविक भएको टिप्पणी गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘प्रचण्ड र बाबुरामको एकता र संघर्षको सम्बन्धको अन्तर्य बुझ्न धेरैलाई कठिन हुनु स्वाभाविक छ । तर, जीवन र जगतको युनिटी अफ अपोजिट्स र युनिटी स्ट्रगल ट्रान्सफर्मेसनको नियम बुझ्नेलाई खीर खाए जत्तिकै सजिलो छ ।’
आफूहरु मिलेपछि १० वर्षे जनयुद्ध सफल भएको स्मरण गर्दै उनले देशलाई समृद्धिको अभियानमा लाने उल्लेख गरेका छन् ।
‘जनयुद्ध त्यही सम्बन्धबाट सफल भएको थियो । अबको समृद्धि अभियान त्यसैबाट सफल हुन्छ’, उनले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्