युक्रेनको राजधानीमा रुसको मिसाइल हमला, बंकरमा बस्न नागरिकलाई जेलेन्स्कीको अपिल

काठमाडौं । रुसले बिहानैदेखि युक्रेनको राजधानी किभमा कैयौँ हवाई आक्रमण गरेको छ । किभ बाहेक युक्रेनका अन्य धेरै सहरहरू पनि आक्रमणको चपेटामा परेका बीबीसीले जनाएको छ ।

युक्रेनका सेना प्रमुखले रुसले बिहानैदेखि ७५ वटा मिसाइल प्रहार गरेको दाबी गरेका छन् । जनरल भ्यालेरी जालुज्नीले ट्वीट गर्दै ७५ मध्ये ४१ क्षेप्यास्त्रलाई वायु रक्षा प्रणालीमार्फत निष्क्रिय पारिएको बताए पनि यसको स्वतन्त्रपूर्वक पुष्टि भइनसकेको बीबीसीले जनाएको छ ।
उक्त हमलामा परी ८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । रुसले किभका महत्वपूर्ण भवनहरूलाई निशाना बनाएको किभका मेयरले दाबी गरेका छन् ।

युक्रेनका एक मन्त्रीले सामाजिक सञ्जालमा आक्रमणमा परी ६ वटा कारमा आगो लागेको र अन्य १५ सवारी साधनमा क्षति पुगेको जानकारी दिएका छन् । गएरातिदेखि रुसले युक्रेनको दक्षिणी क्षेत्रलाई आक्रमणको निशाना बनाइरहेको छ ।

आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राम पोस्टमा लेखेका छन्, ‘रुसले हामीलाई नष्ट गर्न चाहन्छ, हामीलाई पृथ्वीबाट मेटाउन चाहन्छ। युक्रेनभरि यसको घन्टी बजिरहेको छ ।’

२४,आश्विन.२०७९,सोमबार १६:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्