रूकुम-पश्चिममा कांग्रेस उम्मेदवार प्रेमप्रकाश वलीविरूद्ध उजुरी

काठमाडौ । काठमाडौ रूकुम-पश्चिममा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पदका उम्मेदवारविरूद्ध नेकपा माओवादी केन्द्रका नेताले उजुरी दिएका छन्।

कांग्रेस जिल्ला सभापतिसमेत रहेका प्रेमप्रकाश वली आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रदेश सभा (ख) मा उम्मेदवारी दर्ता गराएका थिए।

ध्रुवविक्रम बुढाथोकीले वलीविरूद्ध बैंकिङ कसुर मुद्दामा तोकिएको सजाय भुक्तानी नगरेको हुँदा उम्मेदवार बन्न अयोग्न रहेको दाबी पेस गरेका छन्। बैंकिक कसुर मुद्दामा वलीविरूद्ध एक महिना कैद सजाय र जरिवानाको फैसला भए पनि वलीले उक्त सजाय भुक्तान नगरेको दाबी बुढाथोकीले गरेका छन्। यही क्षेत्रमा माओवादीबाट उम्मेदवारी दिएका राजकुमार शर्माको बुढाथोकी प्रतिनिधिसमेत हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आवश्यक प्रमाणसहित उपस्थित हुन दुवै पक्षलाई मंगलबार दिउँसो बोलाएको छ।

माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्लामा सबै प्रमुख दल एक्ला-एक्लै निर्वाचनमा भिड्न थालेका छन्।

शर्मा आफैं पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन्। सत्तासिन दलहरूका बीचमा मुलुकभर गठबन्धन रहेको छ। तर, रूकुम पश्चिममा माओवादीको दम्भ र अहंकारका कारण एक्ला-एक्लै निर्वाचनमा होमिनु परेको कांग्रेस नेताहरूको आरोप छ।

रूकुम-पश्चिम एउटा मात्रै संघीय निर्वाचन क्षेत्र भएको जिल्ला हो।

२५,आश्विन.२०७९,मंगलवार १३:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्