गृहमन्त्री खाँणविरुद्ध सत्तारुढ गठबन्धनका ‘बागी’को उम्मेदवारी फिर्ता

काठमाडौ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभामा नेकपा (माओवादी केन्द्र)बाट मनोनयन दर्ता गराएका इम्दाद हुँसेन खाँले उम्मेदवारी फिर्ता लिएका छन् । उक्त निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनबाट गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण आधिकारिक उम्मेदवार थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खाँलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको बताइएको छ । उम्मेदवारी फिर्ता लिएपछि उनले सत्तारुढ गठबन्धन एकजुट भएर जाने बताएका छन् ।

रुपन्देही- ३ प्रदेशसभा (क)मा पनि माओवादी केन्द्रका नेताले गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका थिए । त्यसरी उम्मेदवारी दिने फैज अहमद खाँले पनि उम्मेदावारी फिर्ता लिएका छन् ।

सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर ३ प्रदेशसभा (१)मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे र रुपन्देही क्षेत्र नम्बर ३ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सत्तारुढ गठबन्धनको मंगलबारको बैठकले ‘बागी’ उम्मेदवारी दिएका नेता र कार्यकर्ताहरूलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको थियो । उम्मेदवारी फिर्ता नलिए सम्बन्धित दलले कारबाही गर्ने पनि निर्णय भएको थियो ।

२६,आश्विन.२०७९,बुधबार १६:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्