मलाई टिकट नदिने ओलीको निर्णय स्वेच्छाचारी हो, जनताको अपमान भयो : एमाले नेता भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिन अध्यक्ष केपी शर्मा ओलीको निर्णय स्वेच्छाचारी भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पत्रकार सम्मेलन गरेर आफूलाई टिकट नदिएर अछामका जनताका अपमान गरेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘भदौ १९ गते अछाम १ बाट मेरो उम्मेदवारी सर्वसम्मत भएको थियो। भदौ २२ गते सुदूरपश्चिम प्रदेश कमिटीले पनि एकल सिफारिस गरेको थियो। तर, अध्यक्ष ओलीसहितले पार्टीको विधि र सिद्धान्त अवज्ञा गरेका छन्। मसँग कुनै परामर्श नगरी पार्टीभित्र कुनै योगदान नगरेको व्यक्तिलाई उम्मेदवार बनाएर अछामको जनतालाई अन्याय भएको छ।’

ओलीको निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत भएको दाबी गरे। ओलीको निर्णयले जनता र पार्टी संगठनको घोर अपमान भएको उनको भनाइ छ ।

उनले आफूले निर्वाचन नलड्ने भनेर सुनियोजित रूपमै प्रचार गरेको आरोप लगाए । पार्टीका नेताहरूसँग आफूले चुनाव लड्ने तयार गरिरहेको समेत बताए ।

ओलीसँग माफी मागेपछि टिकट पाइन्छ भन्नु हास्यास्पद भएको उनको भनाइ छ । पार्टीको काममा लागिरहेको बेलामा आफूलाई पार्टीको सम्पर्कमा नभएको भनेर प्रचार गरेको समेत गुनासो गरे।

२७,आश्विन.२०७९,बिहीबार १३:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्