सरकारले स्वास्थ्य बीमा समस्या समाधान गर्न बनेको कार्यदलले तीन महिना बितिसक्दा पनि प्रतिवेदन बुझाएन

काठमाडौं । सरकारले स्वास्थ्य बीमाको समस्या समाधान गर्न कार्यदल गठन गरेको तीन महिना बितिसक्दा पनि प्रतिवेदन पेश गर्न सकेको छैन । जबकी, उक्त प्रतिवेदन तीन हप्ताभित्र पेश गर्न स्वास्थ्यमन्त्री भवानी खापुङले २३ असारमा स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षतामा ५ सदस्यीय कार्यदल गठन गरेका थिए ।

जसमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेष गुणराज लोहनी, बीमा बोर्डका सदस्य डा. सुरेश तिवारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव र प्रमुख औषधि व्यवस्थापक नारायण ढकाल छन् ।

राज्यमन्त्री केसी कार्यदलमा भएका सदस्य छलफलमा उपस्थिति नहुँदा प्रतिवेदन तयार गर्न नसकिएको बताउँछन् । ‘कार्यदलमा भएका सबै सदस्यहरु पहिलो छलफलमा उपस्थिति भए । त्यसपछि तीन वटा बैठक बसे । तर, सबैजना जुट्न गाह्रो भयो,’ मन्त्री केसीले भने, ‘बैठक तय गर्दा कोही विदेश, कोही कतै जाँदा प्रतिवेदनलाई मूर्त रुप दिन सकिएको छैन। स्वास्थ्यमा कर्मचारीहरू बढी विदेश भ्रमणमा व्यस्त हुने रहेछन् ।’

अबको केही दिनभित्रैमा कार्यदलमा भएका सबैलाई बैठक बोलाएर प्रतिवेदन पूरा गर्न राज्यमन्त्री केसीले बताए ।

२७,आश्विन.२०७९,बिहीबार १३:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्