प्लाटिनम क्लबका बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ७ जना पक्राउ

काठमाडौं । दरबारमार्गस्थित प्लाटिनम क्लबका दुईजना बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ७ जनलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर फर्किएका बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको हो ।

डेरा जाँदै गरेका बाउन्सर नितेश राई र छिरिङ लामालाई ४ वटा मोटरसाइकलमा सवार ८ जनाले खुकुरी प्रहार गरेको परिसरका प्रवक्तासमेत रहेका (एसपी) दिनेशराज मैनालीले जानकारी दिए । रामेछाप घर भएर रामहिटी बस्ने विकास श्रेष्ठ समेतको टिमले असोज २५ मा बिहान क्लब अगाडिबाट बाउन्सरलाई फलो गरेका थिए । लैनचौरबाट अगाडि बढेपछि सोह्रखुट्टेको ओरालोमा कुरेर बसेका थप युवा मिलेर आक्रमण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको एसपी मैनालीको भनाई छ ।

घटनामा प्रयोग गरिएको ३ थान खुकुरी र दुईवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार आरोपीले चुच्चेपाटीको रिकण्डीशनबाट मोटरसाइकल भाडामा लगेर प्रयोग गरेका हुन् । कपनस्थित दावा लामाको डेराबाट खुकुरी बरामद गरिएको छ ।

घटनामा संलग्न दोलखाको सैलुङ घर भएका विनोद तामाङ र जीवन तामाङलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर प्रहरी वृत सोह्रखुट्टेमा पठाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले रामेछाप घर भएका विकास श्रेष्ठ, दोलखाका प्रदिप लामा, सिन्धुपाल्चोक शिखरपुरका राजेन्द्र कार्की, काभ्रेका जितेन लामा र सिन्धुपाल्चोक बाह्रबिसे घर भएका दावादोर्जे शेर्पालाई पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने ग्याल्जेन लामा अझै फरार रहेका छन् । पक्राउ परेकामध्ये विनोद तामाङ घटनास्थलमा नदेखिएको पाइएको छ ।

२७,आश्विन.२०७९,बिहीबार १५:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्