गोप्य सूचना चुहाएको आरोपमा जेल चलान भएका सशस्त्रका हवलदारलाई विभागीय कारबाही गर्ने फैसला

काठमाडौं । सशस्त्र प्रहरी बल विशेष अदालतले हतियारबारे गोप्य सूचना सञ्चारमाध्यमलाई उपलब्ध गराएको आरोपमा पुर्पक्षका लागि जेल चलान भएका हवलदार नरेशसिंह साहुलाई विभागीय कारबाही गर्न मात्रै फैसला गरेको छ ।

सशस्त्र प्रहरी बलको विशेष अदालतको बुधवार बसेको इजलासले उक्त फैसला गरेको हो । यस अघि हतियारबारे सूचना चुहाएर गम्भीर अपराध गरेको भन्दै हवलदार विरुद्ध जन्मकैदसम्मको सजाय माग गर्दै मुद्दा दायर भएको थियो ।

गत असारमा संगठनको कामकारबाही, हतियार तथा जनशक्तिसम्बन्धी संवेदनशील ‘लिक’ गरेको आरोपमा उनी जेल चलान भएका थिए ।

सशस्त्र प्रहरी बल अदालतले सशस्त्र प्रहरी बल, नेपाल नं २५ चण्डिका गण हेडक्वार्टर पर्वत दरबन्दी भई सशस्त्र प्रहरी बल, नेपाल नं ४४ गण हेडक्वार्टर दार्चुलामा काज कार्यरत कामु वरिष्ठ हवलदार साहुलाई थुनामा पठाइएको हो ।

संगठनको गोप्य र संवेदनशील सूचना भाइवर लगायत सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलाई उपलब्ध गराउने तथा संगठनका विरुद्ध बेनामी उजुरीसमेत हालेको छानबिनमा खुलेको थियो ।

उनलाई सशस्त्र प्रहरी ऐन¸ २०५८ को बर्खिलाप गरेको देखिएपछि सशस्त्र प्रहरी विशेष अदालतमा असार २२ गते मुद्दा दायर गरेको थियो । सोही बमोजिम साहुलाई असार २४ गते थुनछेकको बहसको क्रममा सशस्त्र प्रहरी विशेष अदालतको आदेशमा पछि ठहरे बमोजिम हुने गरी पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

संगठनको सूचना यसरी अनधिकृत रूपमा बाहिर पठाएमा हदै सम्मको कारबाही गरिने सशस्त्र प्रहरी ऐनमा व्यवस्था छ ।

२७,आश्विन.२०७९,बिहीबार १६:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्