विज्ञापन व्यवसायीको छाता संगठन आन विभाजित- जिल्ला प्रशासनमा राष्ट्रिय विज्ञापन संघ दर्ता

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष सोम धितालले संस्थालाई आफ्ना व्यापार प्रवर्द्धन गर्ने भर्याङ मात्र बनाएको भन्दै विज्ञापन एजेन्सीहरूको अर्को छाता संगठन दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा असोज २८ गते दर्ता भएको राष्ट्रिय विज्ञापन संघ नेपाल अब आनको विकल्पमा विज्ञापन व्यवसायीहरूको साझा संस्थाका रूपमा आएको छ ।

नवगठित राष्ट्रिय विज्ञापन संघ नेपालको अध्यक्षमा धमेन्द्रकाजी श्रेष्ठ छन् भने प्रथम उपाध्यक्ष प्रदीप कोइराला, द्वितीय अध्यक्ष अमृत पन्थी र महासचिव आशिष खड्का छन् । त्यस्तै सचिवमा विमल खड्का, कोषाध्यक्ष कमला पौडेल र सह कोषाध्यक्षमा वसन्त योगी रहेका छन् ।

तदर्थ समितिको सदस्यमा रवि अर्याल, इन्द्रमणी न्यौपाने, राम बज्राचार्य र गुन्जमणी भट्टराई रहेका छन् । आनले विज्ञापन व्यवसायीहरूको हितमा काम गर्न नसकेको र नेतृत्व स्वार्थ केन्द्रित भएकाले व्यवसायीको हकहितका लागि अर्को संस्था दर्ता गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

श्रेष्ठले भने–हामी विज्ञापन व्यवसायी साथीहरूको हकहितको लागि संगठित भएका हौं । नेपाल विज्ञापन संघले विज्ञापन एजेन्सीको समस्या बुझ्न सकेन । विज्ञापन बोर्डले गरेको आचारसंहितामा विज्ञापन एजेन्सीलाई साँघुरो पार्ने कुरामा संघले लड्न सकेन । गोरखापत्र संस्थानले १५ प्रतिशत एजेन्सी छुट छुट बिलमा उपलब्ध नगराउने भन्दा पनि संस्थाले सकेन ।

विश्वकप फुटबल देखाउने सन्दर्भमा पनि आनका अध्यक्ष सोम धितालको एजेन्सी मिडिया हबले सिन्डिकेट चलाएर उपभोक्तामाथि लुट मच्चाउन लागेको आरोप लागिरहेका बेला आन विभाजित भएको हो ।

२८,आश्विन.२०७९,शुक्रबार १४:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्