सरकारले गाडी, मोटरसाइकल, तयारी मदिरा र स्मार्ट फोन आयात प्रतिबन्धलाई मंसिर २९ गतेसम्म लम्ब्याइयो

काठमाडौँ । सरकारले महँगा गाडी, मोटरसाइकल, तयारी मदिरा र स्मार्ट फोनहरूको आयात प्रतिबन्धलाई मंसिर २९ गतेसम्म लम्ब्याएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले सोको आयात प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उद्योगी व्यवसायीहरुले प्रतिबन्ध खुलाउन दबाब दिएपनि सरकारले बन्देजलाई यथावत् राखेको हो ।

गाडी, मोटरसाइकल, तयारी मदिरा, स्मार्ट फोनको आयात प्रतिबन्ध मंसिर २९ गतेसम्म यथावत राख्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस गरेको थियो । वैशाख दोस्रो सातादेखि नै कार/जिप/भ्यान, १५० सीसीमाथिका मोटरसाइकल, मदिरा र ३ सय अमेरिकी डलरभन्दा महँगा मोबाइल फाेनको आयातमा प्रतिबन्ध लागेको छ ।

मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी मदिरा, तास, मोबाइल टिभी, मोटरसाइकल लगायतका १० वस्तुको आयात बन्देज गर्ने निर्णय गरेको थियो । भदौ १४ गते राजपत्रमा सूचना प्रकाशित गरी ६ प्रकारका वस्तुहरू (चुरोट तथा सुर्ति, हिरा, टीभी, खेलौना, तास, कुरकुरे/लेजजस्ता)को प्रतिबन्ध फुकुवा गरेको थियो । ४ वस्तु गाडी, मोटरसाइकल, तयारी मदिरा, स्मार्ट फोनको आयात प्रतिबन्ध यथावत राख्ने निर्णय गरेको थियो । यो आयात प्रतिबन्धको अवधि शुक्रबार सकिँदैछ । यी चार वस्तुको आयात प्रतिबन्धलाई पुन: यथावत राख्न मन्त्रालयले सिफारिस गरेको हो ।

२८,आश्विन.२०७९,शुक्रबार १५:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्