दोलखामा एमालेले मंसिर ४ को आम निर्वाचनका लागि तोक्यो ९ वटै पालिकामा चुनाव हाँक्ने कमाण्डर

दोलखा । नेकपा एमाले दोलखाले मंसिर ४ को आम निर्वाचनका लागि जिल्लाको शक्ति विकेन्द्रीत गर्दै नौवटा स्थानीय तहको बेग्लाबेग्लै कमाण्ड बनाएर निर्वाचन परिचालनका लागि कमाण्डरहरु तोकेको छ । जसअनुसार भीमेश्वर नगरपालिकाको निर्वाचन परिचालनका लागि जिल्ला उपाध्यक्ष तथा प्रचार विभागका प्रमुख राजेन्द्र मानन्धर तोकिएका छन् । दोलखाको नौवटा पालिकाहरुमध्ये भीमेश्वरमा सबैभन्दा बढी २७ हजार ५ सय २ जना मतदाता छन् ।

त्यस्तै, तामाकोशी गाउँपालिकामा प्रदेश कमिटी सदस्य बसन्तराज कार्की, विगु गाउँपालिकामा प्रदेश कमिटी सदस्य कृष्ण भुजेल कमाण्डर तोकिएका छन् । त्यस्तै, गौरीशंकर गाउँपालिकामा पालिका ईन्चार्ज स्वयमबहादुर खड्का र वैतेश्वर गाउँपालिकामा प्रदेश कमिटी सदस्य हर्कमान पाख्रीन, जिरी नगरपालिकामा पूर्व मेयर टंक जिरेल र मेलुङ गाउँपालिकामा धर्मेन्द्र मोक्तान चुनावी कमाण्डर तोकिएका छन् ।

त्यसैगरी, कालिञ्चोक गाउँपालिकामा कालिका पाठक, शैलुङ गाउँपालिकामा भरत प्रसाद दुलाल चुनावी कमाण्डर बनेका छन् । पालिका कमाण्डरहरुले प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटी, प्रदेश १ का प्रदेशसभा उम्मेदवार नरबहादुर श्रेष्ठ र प्रदेशसभा २ का प्रदेशसभा उम्मेद्वार भरतबहादुर केसीलाई विजयी बनाउन लागिपर्ने बताइएको छ ।

एमाले दोलखाले पार्टीको जनवर्गीय संगठनहरुमा आवद्ध केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरुलाई पनि भूगोलमै केन्द्रित गर्नेगरी तयारीहरु ग्रिरहेको छ ।

३,कार्तिक.२०७९,बिहीबार १६:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्