संसद्‍मा पुगेर पहिलो काम नै संघीयता खारेज गर्ने हो: प्रा. डा. रामप्रसाद उप्रेती

नेपाली जनता

निर्वाचनले देशलाई व्यस्त बनाइरहेको छ । विभिन्न पृष्ठभूमि भएका नेताहरू एवम् सयौँको संख्यामा स्वतन्त्रहरूले उम्मेदवारी दिएका छन् ।
हरेक चुनावमा सबैभन्दा बढी चासो रहने भनेको राजधानी काठमाडौंमा नै हो । त्यसैले काठमाडौंको चुनावी सरगर्मी अन्यत्रभन्दा बढी हुने गर्छ । यसपालि काठमाडौंमा खासगरी, कांग्रेस नेतृत्वको गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ । तर, यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि काठमाडौंमा आशा राख्न थालेको छ ।

काठमाडौंको पनि मुटुमा रहेको निर्वाचन क्षेत्र हो– क्षेत्र नम्बर ५. यस क्षेत्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार छन् । राप्रपाले चाहिँ प्रा. डा. रामप्रसाद उप्रेतीलाई उठाएको छ, जो कम्युनिष्ट पृष्ठभूमिका नेता हुन् ।

३५ वर्ष स्वास्थ्य सेवामा समर्पित एवम् त्रिवि शिक्षण अस्पतालका प्रमुख बनेर रिटायर्ड भएका उप्रेती आध्यात्मिक एवम् प्रखर वक्ताका रूपमा समेत चिनिन्छन् । उनीसँग गरिएका निर्वाचन केन्द्रित कुराकानी:

– केपी ओली तपाईंको सहपाठी, सायद कति समय त सँगै सुत्नुभएको, हिँड्नुभएको, खेल्नुभएको होला । ४०/४५ वर्ष कम्युनिष्ट पार्टीमा यहाँले पनि आफ्नो तर्फबाट योगदान गर्नुभयो । कम्युनिष्ट पृष्ठभूमि भएको मानिसको सोच कसरी परिवर्तन भयो र राप्रपामा आउनुभयो ?

तपाईंले एकदम राम्रो प्रश्न सोध्नुभयो । यस मुलुकका प्रधानमन्त्री भइसक्नुभएका, नेकपा एमालेका अध्यक्ष भइराख्नुभएका केपी शर्मा ओलीज्यूसँग मेरो त नातो पनि पर्छ । अनि हामी जन्मेको ठाउँ एउटै हो, हामीले खाने कुवाको पानी पनि एउटै हो । यो तेह्रथुम आठराईको कुरा हो । त्यसपछि झापा झर्ने कुरा छ । झापामा हामी बसेको गाउँ पनि एउटै हो । पढेको स्कुल पनि एउटै र हिँड्ने बाटो पनि एउटै । उहाँ मभन्दा सिनियर हो । उमेर र पढाइमा कक्षाको दृष्टिकोणले पनि सिनियर हो उहाँ ।

त्यतिखेर लेफ्टको माहोल थियो । इन्डियामा चारु मजुमदारको वर्ग शत्रु सफाइ भनेर एउटा मुभमेन्ट चलिराखेको । चाइनातिर पनि कल्चरल रिभोल्युसनका कुराहरु थिए । त्यतिखेरको झापा भनेको रेडबुकमय थियो ।

त्यो वेलादेखि नै म उहाँहरुसँगै (केपी ओली, आरके मैनाली, सीपी मैनाली, मोहनचन्द्र अधिकारीहरुलगायत) नतमस्तक बनेर लागियो । उहाँहरु हाम्रो घरमा पनि आउनुहुन्थ्यो । मेरो दाजु पनि त्यही पृष्ठभूमिमा हुनुहुन्थ्यो । पटकपटक जेल जाने । घरभरि किताबैकिताब थियो । माहोल थियो । त्यो प्रभाव मलाई प¥यो । त्यो प्रभाव यस्तो मज्जाले पर्‍यो कि एमबीबीएस पढ्दासम्म करिब करिब बच्चादेखि ४०/४५ वर्षसम्म म लगातार लागिरहें, संगठन बनाइरहें । स्टुडेन्ट फ्रन्टमा अनेरास्ववियु पाँचौंको कुरा आयो । यता पार्टीभित्र पहिला एउटा अध्ययन समूह हुँदै गएर कम्युनिष्ट समूह भए ।

कतिसम्म रिस्क लिएको मैले भने बालुवाटारमा राष्ट्र बैंक अगाडिको घर भनेको त्यतिखेरको कन्ट्याक्ट पोइन्ट हुन्थ्यो । विद्यार्थीहरुको पनि रातभरि मिटिङ हुन्थ्यो । मेरो मातहतमा मात्रै चारवटा कमिटी थिए । त्यतिखेर पक्राउ परेको भए र थाहा पाएको भए जीवनमरणको सवाल हुन्थ्यो ।

तर, यस्ता शैलीहरु अपनाउँथ्यौं कि त्यहाँ त्यत्रा मिटिङहरु भइरहेका हुन्थे । पल्लो घरको मान्छेलाई थाहै छैन । गाउँका मान्छेलाई थाहै छैन । त्यसरी हुर्काइयो, बढाइयो । २०५१ सालको इलेक्सनमा मनमोहन अधिकारीज्यू उठ्नुभएको थियो क्षेत्र नं ३ बाट । त्यो चुनावको म संयोजक हो । घरघरमा मोटरसाइकलमा हालेर पु¥याउने र उहाँका सबै आमसभाहरुमा बोल्ने वक्ता हुँ म । जित्नुभयो र नौमहिने शासनकाल बन्यो । नौमहिने शासनकालमा आफ्नो गाउँ आफैं बनाउँ भन्ने कुराहरु आए र आमाबुबाहरुलाई प्रोत्साहनस्वरुप मासिक १०० रुपैयाँ भत्ता पनि आयो । भरतमोहन अधिकारीज्यु, मनमोहन अधिकारीज्युको नेतृत्व थियो । त्यसमा डाइरेक्टली, इन्डाइरेक्टली यसो गर्नुपर्छ भनेर फिडब्याक त हाम्रो पनि थियो । त्यसरी काम गरें ।

तर, अलिपछि पार्टी ब्रेक भयो २०५४ सालमा । किन ब्रेक भयो भने महाकाली सन्धिको कुरा आयो । पक्ष र विपक्ष भयो । साइलेन्टली बस्नुभएको भए पनि हुन्थ्यो । तर, अहिलेका एमालेका अध्यक्षज्यू हुन त अरु शेरबहादुरजी र अरु अरु पनि इन्भल्भ भएका छन् । तर, ओली सन्धिका प्रवक्ता जस्तो बन्दिनुभयो । उहाँले ठेक्कै लिनुभयो महाकाली सन्धिको यति आउँछ भन्दै । त्यसपछि उहाँको हैसियत पनि बदलिँदै गयो । म पार्टी ब्रेक भएपछि मालेमा लागेँ । सीपी मैनाली, अशोक राई, सहाना प्रधान, आरके, त्यतिखेरका जल्दाबल्दा योगेश भट्टराई, रवीन्द्र अधिकारीलगायत सबै मालेमै थिए । पछि यस्तै यस्तै हुँदै गएपछि म अन्य समूहमा पनि गएँ । त्यसले गर्छ कि भनेर अनि पछि सबै कुरा उहाँहरुको मैले बुझेँ । सत्ता प्राप्त भइसकेपछि उहाँहरुको जीवनशैलीका कुराहरु हुन्छन् । उहाँहरु जनतासँग जानुभयो कि आफन्तहरु पोस्नपट्टि जानुभयो, घर जोड्नपट्टि लाग्नुभयो कि ? कालिकोटमा साबुन पुगेको छैन भनेर त्यहाँ त्यो पु¥याउनपट्टि लाग्नुभयो । जनताभन्दा टाढा हुनुभयो । आफूले आफूलाई बिर्सनुभयो । नवसामन्त हुनुभयो । कम्युनिष्ट चरित्र देखिएन उहाँहरुमा । बरु बुर्जुवा शैली र महासामन्तका शैलीहरु देखिन थालेपछि डा. रामप्रसाद उप्रेती त्यो भनेर कहिल्यै पनि लागेको थिएन । म मुलुक भनेरमात्रै लागेको थिएँ । त्यसकारण म उहाँहरुसँग टिक्न सकिनँ । मैले विगत केही वर्ष स्वतन्त्र रुपले नै सामाजिक कार्यहरु गर्दै गएँ । म अब स्वतन्त्र जीवन नै बिताउँछु । मलाई पार्टी चाहिएन । यो पार्टीहरुले गरी खाँदैनन् भन्नेमा म प्रस्ट छु ।

– पार्टीहरु र नेताहरुले गरी खाएनन् कि देश र जनतालाई गरी खुवाएनन् ?

हो, एकदम ठीक । पार्टीले गरी खाए । नेताज्यूहरुले पनि गरी खाए । जनता र देशले केही पाएनन्, जिरो । पहिलाको अवस्थाभन्दा धेरै तल पुर्‍याइदिनुभयो । भन्नुहुन्छ बलिदान छ, यो छ, बोल्न पाइयो त्यो छ भन्नुहुन्थ्यो । उहाँहरुभन्दा बेसी डेमोक्रेटिक त हिजोका पञ्चहरु थिए । मैले त्यही व्यवस्थाको विरोध गर्दागर्दै मैले स्कलरसीप पाएँ । त्यही व्यवस्थाको विरोध गरिरहेँ मैले जब पनि पाएको । मैलेमात्रै होइन कांग्रेसले पनि पाएको । अहिले त्यही पार्टीको झोले नहुँदासम्म र नेता विशेषको प्यारो नहुँदासम्म केही पनि पाइँदैन ।

– खुलेरै व्यवस्थाको विरोध गर्दागर्दै पनि कसरी जागीर पाउनुभयो ?

मैले व्यवस्थाको विरोध गर्दागर्दै जब पनि पाएँ, पढ्न पनि पाएँ । तर, अहिले हजुर भनेर उहाँहरुको पाउ नमोल्दासम्म, उहाँहरुलाई खुशी नपार्दासम्म, यो मेरो शुद्ध झोले हो भन्ने नबनाउँदासम्म केही पनि पाइन्नँ । अरुका त कुरै छाड्दिउँ । पहिलाको महाकाली सन्धि त्यो त पुरानो कुरा भयो छोड्दिउँ । त्यो केही हुनेवाला पनि छैन । हुँदैन भन्ने हामीलाई पहिल्यै थाहा थियो । खोलो जति उता, कुलो जति यता । त्यसमा हस्ताक्षर गर्नु भनेको कत्रो घात भएको छ । राष्ट्रघात भन्छन् त्यसलाई ।

– केपी ओलीले त्यहाँदेखि बाटो बिराउनुभयो भन्नुभएको हो ?

त्योभन्दा अलिक अगाडिदेखि नै बिगार्दै जानुभएको थियो । त्यो मैले बुझिनँ । तर, महाकाली सन्धिको कुरा प्रष्ट भयो नि त ! अर्को कुरा मदन भण्डारीलाई मारिसकेपछि एउटा आयोग बनेको थियो । मैले हत्यारा चिन्छु, घर कता फर्केको छ त्योसमेत भनेको । तर, उहाँ (ओली)ले पटकपटक राष्ट्रको मुख्य कार्यकारी भूमिका पाउँदा खोजी किन भएन ?

त्यस्तै अर्का एकजना नेपाल थरका मान्छे छन् । आफ्नो भइराखेको बहुमत पार्टीलाई फुटाएर प्रतिपक्षमा रहेका देउवाजीलाई हजुर खाइदिनु न प्रधानमन्त्री भन्दै लड्डु खाँदै आउनुभएको छ । कुन साइनोले मिलेको हो, त्यो थाहा भएन । अर्का एकजना महान क्रान्तिकारी हुनुहुन्छ । मैले क्रान्ति गरेर गणतन्त्र ल्याएँ भन्नुहुन्छ । १७ हजारको मारेकै ठेक्का छ । पाँच हजारको त आफैंले ठेक्का लिन्छु भन्नुभएको छ । त्यो गणतन्त्रले दियो के ? उहाँको परिवारलाई राम्रो दियो । उहाँकै परिवारबाट मात्रै मुख्य–मुख्य पोष्टमा छन् । तर, त्यो जनयुद्धमा लड्ने असली वीर योद्धाहरु अरु थिए । तिनका शरीरमा अहिले पनि गोलीको छर्रा छ । घाउ छ । कति बेपत्ता छन् अत्तोपत्तो छैन । कति घाइते छन् । अनि देशका सुन्दर छोराछोरीहरु जो हिजो एउटा सपना देखेर मुलुकका लागि भनेर जनमुक्ति सेनामा लागे । पछि उनीहरुलाई बिक्री गरियो । त्यसमा पनि भ्रष्टाचार गरिएछ । क्यान्टोनमेनमा राखिएका हाम्रा छोराछोरीमाथि भ्रष्टाचार गरियो र त्यसकारण मैले पार्टी छोडेँ भनेर बाबुराम भट्टराईले भनेका छन् । मुलुकका प्रधानमन्त्रीले भनेको कुरा मान्नुपर्छ हामीले । त्यसै गरेर बुढी गण्डकीमा देउवाजी, ओलीजी र प्रचण्डजीले तीन–तीन अर्ब खाए मसँग प्रमाण छ, प्रमाण दिन सकिनँ भने म टुँडिखेलमा झुण्डिन तयार छु भन्ने बाबुराम भट्टराई हुन् । उनी प्रधानमन्त्री भइसकेका हुन् । उनको कुरा सत्य हुन्छ ।

अर्को कुरा मुलुक सक्ने डिजाइनअनुसार एकातिर नागरिकतासम्बन्धी विधेयक ल्याइन्छ । धन्न सम्माननीय राष्ट्रपतिले राप्रपाको सपोर्टबाट रोकिदिनुभयो । नभए सकिनेवाला थियो अहिले नै । त्यो रोकियो एउटा । अर्को एमसीसीको नाटक गरियो । सबै इन्भल्भ भएका छन् । यो एमसीसी किन ल्याएको भन्दा उहाँहरु बिक्नुथियो । उहाँहरुलाई मुलुकको माया छैन । मुलुक जाओस् न भड्खालोमा मैले कमाइ हालें, विदेशमा पैसा जम्मा पारिहालें । एमसीसी, एसपीपी गरिसक्या रहेछन् । फिर्ता भयो भन्छन्, जनतालाई देखाउँदैनन् । मुलुक सक्न जे पनि गर्छन्, पैसा कमाउन जे पनि गर्छन् । फेरि कस्तो भने पृथ्वीमा पाँचवटा महासागर छन् । त्यो पाँचवटा महासागरका पानी मुखमा हालिदिने हो भने उहाँहरु आँ.. गरिराख्नुहुन्छ । भरिँदैन ।

– तपाईंको स्वास्थ्य सेवाको अनुभव कस्तो रह्यो ?

म २०३२ सालमा खाली खुट्टा महाराजगञ्ज मेडिकल क्याम्पसमा पसेको थिएँ । पछि त्यहीँबाट डाक्टर पनि भएँ । ईंग्ल्याण्डबाट स्पेसलिस्ट पनि भएँ । पछि प्रोफेसर पनि भएँ । त्यहीको क्याम्पस चिफ पनि भएँ । ए टु जेड पाउने म पहिलो नेपाली । जुन क्याम्पसमा पढ्यो, त्यसैको चिफ भएको मान्छे हो । मलाई मेरो विद्यार्थी, मेरा कर्मचारी, मेरा प्राध्यापकहरु, फ्याकल्टीहरुले राम्रो मान्छन्, माया गर्छन् ।

– तपाईं आध्यात्मिक मान्छे पनि हुनुहुन्छ । जीवनको बाँकी समय समाजसेवा र आध्यात्मिक रुपमा बिताएर पनि अर्थपूर्ण हुन्थ्यो होला । राजनीतिमै किन फर्कनुभयो ?

स्वतन्त्र रुपबाट नै मातृभूमिलाई सेवा गरिरहन्छु भनेर म विभिन्न ठाउँहरुमा हेल्थ शिविरहरु गरिदिने, एजुकेसन दिने भाइबहिनीहरुलाई, यसरी मुलुक विकास हुन्छ भन्नेबारे ज्ञानहरु दिन दुर्गम जिल्लाहरुमा काम गर्दै थिएँ ।

जुम्ला, कर्णालीमा पनि गएर मैले काम गरें । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर पनि काम गरें । पछिल्ला दिनमा जब साँच्चिकै मुलुक सकिने भयो मलाई कतै न कतै एउटा पार्टीमा जोडिँदा राम्रो हुन्छ भन्ने लाग्यो । तर, मैले जोडिने पार्टी नै थिएन ।

– स्पिरिट मिलेन ?

स्पिरिट नै मिलेन । त्यतिखेर राप्रपा कमल थापाले लिड गरेका थिए । त्यसले अलिकति धर्मका कुराहरु र अलिकति मुलुकका कुराहरु पनि उठाएको थियो । अलिकति राजसंस्था पनि नेपालमा चाहिन्छ भन्ने कुरा पनि उठाएको थियो । त्यस अर्थमा त्यतिखेर झ्याप्पै त्यत्रो वर्ष कम्युनिष्ट भएको मान्छे मैले गाईमा मत पनि हालेको थिएँ । म खुलाइदिन्छु आज कुरा । मैले मात्रै होइन हाम्रो सबै परिवारले हालेको हो । २५–३० सीट जितेको पनि थियो त्यस वेला ।

हामीलाई के विश्वास थियो भने उहाँले धर्म छाड्नुहुन्न, बदमासी गर्नुहुन्न भन्ने । तर, माथि पुगिसकेपछि उहाँले के गर्नुभयो भने आफ्ना एजेण्डालाई लातले कुल्चिनुभयो । अर्काका एजेण्डा लादिएका हुन् । धर्मनिरपेक्षता, गणतन्त्र यो सबै कुरा केही पनि हाम्रा एजेण्डा होइनन् । हामीले बनाएको संविधान पनि होइन । सय अर्ब सकेर एकचोटि फेल भएर अर्कोचोटि पास भएको लास्ट आवरमा स्वाट्टै लादिएको धर्मनिरपेक्षतालाई उहाँले विश्वकै उत्कृष्ट संविधान भन्नुभयो । अलिक कडा शब्दमा भन्ने हो भने आफ्ना एजेण्डालाई धोती लाइदिनुभयो कमल थापाले । त्यसपछिको रिजल्टमा फुटपाथमा पुग्नुभयो नि त फेरि !

राप्रपाले के ग¥यो भने एउटै मान्छे आजन्म अध्यक्ष हुनुहुँदैन । एजेण्डा छोड्ने, धर्म बेच्ने, नैतिकता नभएका मान्छेहरुलाई हटाउनुपर्छ भनेर एउटा योङ मान्छे, निष्कलंक मान्छे राजेन्द्र लिङदेनलाई अध्यक्ष बनायो त्यो पार्टीले । अब राजेन्द्रलाई अध्यक्ष बनायो, त्यसपछि त्यो पार्टीको देशमा र संसारभर कस्तो चहलपहल छ । ह्वीम आयो । उनीहरुले नेतृत्व फेर्न सके । अर्को कुरा जनजातिको छोरालाई माथि ल्याए । जनजातिको छोरालाई प्रधानमन्त्रीको रुपमा अगाडि बढाए । भ्रष्टाचार गर्नु भनेको आमाको रगत खाए बराबर भनेर एउटा जनजातिको छोराले बोल्यो भने उसले कहिल्यै पनि गद्दार गर्दैन । मन्दिरमा गएर कसम खाएको छ । त्यो कुरा मन प¥यो । उसले मियोको रुपमा राजा राखौं, देशभरिबाट प्रधानमन्त्री छानौं, संघीयतालाई फालौं भन्यो ।

– त्यो स्पिरिट मिलेजस्तो लागेर राप्रपामा जोडिनुभएको हो ?

त्यसपछि म एक्लै हिँड्नुभन्दा पनि मेरो स्ट्रेन्थले नपुग्ला, मसँग जीवनका धेरै वर्षहरु पनि नहोलान्, प्राणको त भर हुँदैन । उसले राम्रो कुरा उठायो, अनि फेरि कार्यकारी प्रधानमन्त्री मलाई मन पर्ने, देशभरबाट नै छानौं न प्रधानमन्त्री । किन प्रधानमन्त्री दमकबाट मात्रै छानिनुपर्ने ? देशैभरिबाट छानौं न । अर्को पनि पूर्ण समानुपातिक निर्वाचन प्रणालीको कुरा पनि ल्याएको छ । त्यो पनि मन प¥यो । चुनाव भड्किलो भयो क्या ! यो प्रत्यक्षमा जाने भए नि पैसामा किन्ने, यो र त्यो । चुनावमा उठ्नु भनेको करोडौं खर्च गर्नुपर्ने, यो सिस्टम ठीक छैन । समानुपातिकबाट टक्क आउने, जो मन्त्री बन्छन्, मन्त्री नै बन्नुप¥यो ।

– केपी ओलीसँगको घनिष्ठता हिजोदेखि आज पनि पारिवारिक रुपमा त सुमधुर नै छ । तपाईं बौद्धिक मान्छे पनि । तपाईंको कुरा ओलीले मान्नुपर्ने हो, सम्झाउनु भएन कि क्या हो ?

साँच्चै भन्नुहुन्छ भने उहाँले मलाई बेहद माया गर्नुहुन्छ । यो कुरा थाहा छ । किनभने जीवनका सबैभन्दा अप्ठ्यारा दिनमा पनि म उहाँसँगै थिएँ । बरु मलाई पनि गोली हाने हान्छन् केही छैन सँगै मरिन्छ भन्दै हिँडेको हो । अनि एउटा नातो पनि भएकाले उहाँले मलाई धेरै माया गर्नुहुन्छ । तर, हाम्रो नातोको कुरो भएन । यो मेरो मुलुकको कुरा भयो । मुलुकको राष्ट्रियतासँग जोडिएका कुराहरु भए ।

– यसमा केहीमा सम्झौता गर्नुभएन ?

यसमा सम्झौता गर्न सकिनँ मैले ।

– तपाईं अलिक बढी नै आध्यात्मिक हुनुहुन्छ । त्यही कारणले हिन्दू राज्यका कुराहरु स्थापित गर्न पाखुरा बजाउन खोज्नुभएको हो ?

अहिले साइन्सले पनि स्पिरिचुअल हेल्थ मान्छ । अध्यात्म भन्छ, पहिला हेल्थको डिफिनेशनमा फिजिकली, मेन्टल्ली एण्ड सोसिअल्ली वेलबिइङ हुनुपर्छ भन्थ्यो । अहिले डब्लुएचओले नै फिजिकली, मेन्टल्ली, सोसिअल्ली एण्ड स्पिरिचुअल्ली हेल्दी हुनुपर्छ भन्छ । यसलाई संसारले मानिसक्यो । साँच्चिकै हेल्दी हुनुप¥यो भने स्पिरिचुअल्ली वेलबिइङ हुनुप¥यो । जुन भित्रको आनन्द भन्ने छ नि त्यो अध्यात्मले मात्रै दिन्छ । गाडीले दिँदैन, घरले दिँदैन, डलरले दिँदैन । बरु त्यसले छट्पटी दिन्छ । अनुभूतिको कुरा भयो । त्यसकारण स्पिरिचुअल हेल्थका कुरा आएका छन् ।

पढ्दैदेखि आध्यात्मिक चेत थियो कि कुनै समय नास्तिक पनि हुनुहुन्थ्यो ?

म पूर्वको मान्छे । मेरा आमाबुबाहरुले मलाई माता पाथिभरा देवीको दर्शन गराउन लानुभएछ । भेरी लकिली भन्छु, मेरो यो निधार माता पाथिभराको चरणमा परेछ चार वर्षको उमेरमा । त्यही वेलामा एक किसिमको मैले ब्लेसिङ पाइसकेको रहेछु । साइन्स पढ्दै गर्दा म नास्तिक नै हो त्यति वेला । म नास्तिक मान्छे पढेको पनि छु, घर पनि जोडेको छु, एउटा गाडी पनि जोडेको छु । तर, मनभित्र रियल खुशी, एकदम आनन्द भन्ने हुन्छ नि आएन । नआएपछि मैले एक्स्प्लोर गर्दै गएँ । देवीदेवताका मन्दिरदेखि कैलाश, रामेश्वरम, विश्वका सबै तीर्थस्थलहरुसम्म पुग्दै जाँदा, अध्ययन गर्दै जाँदा विस्तारै विस्तारै आध्यात्मिक चेतना खुल्यो । किनभने त्यो भनेको परम कुरा हो । परम कुरा हेर्न परम दृष्टि चाहिँदोरहेछ । अध्यात्मले दिन्छ । त्यसकारण मेरा आँखाले ढुंगामा भगवान देख्छन् । कति जनाले देख्दैनन् । किनकि उहाँहरुलाई कमाउनुमात्र छ ।

– यही सबै कुराले नेपालमा हिन्दूत्व संरक्षण हुनुपर्छ भन्ने किसिमले तपाईंलाई मोटिभेट गरेको हो ?

हामी त्यसमा त गौरव गरौं न । विश्वमा सबैभन्दा धनी छौं । वेद उत्पत्ति भएको ठाउँ । हामी त वैदिक सनातनका कुरा पो गर्दैछौं । वैदिक कालका कुरा गर्दैछौं । वेदभूमि हो यो, ज्ञानभूमि हो, तपोभूमि हो । ऋषिमुनिहरुले त्यत्रो गरेर हामीलाई दिएका छन् । गौरव त्यसमा गरौं र विश्वलाई त्यसमा ल्याऔं । नेपाल धनी रहेछ भन्ने पारौं । गल्लीगल्लीमा मन्दिरहरु छन् भने हामी कति रिच रहेछौं । किनभने यसो मन्दिर देख्यौं र ढोगियो भने एक किसिमको आनन्द दिन्छ भित्र ।

यो संविधानप्रति तपाईंको अहसमति चाहिँ किन हो ?

अहिले हामीले दुई किसिमले संविधानलाई फाल्न सक्छौं । अर्काले ल्याइदिएको संविधान हो । त्यतिखेरैदेखि भनेको हो । हाम्रो संविधान मुलुक सुहाउँदो होइन । मुलुक सक्न अर्काले डिजाइन गरेर, ड्राफ्ट बनाएर, दिएर साइन गरिएको हाम्रा ती ६ सय जना मान्छेले गडडडड ताली लगाए । बुझेर लगाए कि नबुझी लगाए थाहा छैन । साँच्चै संविधान बनाउनुपरेको भए २८–३० जना एक्सपर्टहरुलाई एक महिना टाइम दिएको भए संविधान बन्थ्यो । छ वर्ष, आठ वर्ष लाग्दैन थियो । सय अर्ब सक्नुपर्दैनथ्यो । उहाँहरुलाई के मतलब र पैसा आइहाल्छ, भत्ता आइहाल्छ । यसो ताली बजाइदियो । के लेखे, के लेखेनन् । त्यसैले यसलाई सक्न हामीले आँधीबेहरी सिर्जना गरौं, फालदिऔं, सिद्धियो । अनि मुलुकको संविधान लेखौं । ठीक्क संविधान, मुलुक सुहाउँदो लेखौं । होइन भने यही संविधानअन्तर्गत चल्दिनु त पर्‍यो नि !

– यही संविधानको विरोध गर्ने अनि फेरि यसैमा टेक्नु त द्वैधचरित्र भएन र ?

अहिले तुरुन्तै आँधीबेहरी सिर्जना गरेर फाल्न सक्ने भएको भए हामी त्यता पनि हेर्न सक्थ्यौं । हुनसक्छ इलेक्सनपछि त्यो बाटो पनि रोज्न सक्छौं हामीले । आन्दोलन गर्ने हाम्रो नैसर्गिक अधिकार हो । शान्तिपूर्ण आन्दोलन गरेर संविधान फाल्दिन्छौं यो यदि पुगिएन । तर, संसदमा पुगेर पहिलो काम भनेकै संघीयता खारेज गरिदिने हो । पहिलो कामै त्यही गर्छौं ।

– जनताले भोट देलान् यो एजेण्डलाई ? परिवर्तन निकै अगाडि बढिसक्यो नि ?

किन नदिनु ? नेताज्यूहरुले दल विशेषहरु सत्तामा हुनुहुन्छ । मिडिया उहाँसँग छ । हामीले मात्रै ग¥यौं, त्यही देखाउनुहुन्छ । तर, मुलुक परिवर्तन भइसक्यो । देश राप्रपामय भइसक्यो । यो पटक मत हलोलाई सीधै भन्न थालिसके । जो जो गतिलो स्वतन्त्र उम्मेदवार छन् भन्ने कुरा हो । तर, स्वतन्त्रहरु पनि धेरै उम्मेदवार भएकाले सरासर भोट राप्रपालाई हो । किनभने गठबन्धनलाई दिँदैनन् । गठबन्धन बनेको किन ? देउवाजी र प्रचण्डजीको लगनगाँठो गाँसिएको किन ? माधव नेपाल र झलनाथ पुग्नुभएको किन ? सत्ता हत्याउन । सत्ता हत्याउने किन ? मुलुक निर्माणलाई होइन, अरु घर थप्नलाई ।

– फरक प्रसंगमा डा. गोविन्द केसीको मागमा तपाईं उति सकारात्मक हुनुहुन्नथ्यो । उवेला केसी अनसन बस्दा रवीन्द्र मिश्रहरुको उक्साहट हो भन्ने तपाईंको कुरा पनि आएको थियो । अहिले मिश्र र तपाईं एउटै पार्टीमा हुनुहुन्छ । के यहाँहरु दुवैले त्यो मुद्दालाई बिर्सनु भएको हो ?

प्रचण्डजी र देउवाजी टक्रक्क घाँटी मिल्नेसम्मको परिवर्तन हुनसक्छ भने हामीले मुलुकका एजेण्डा बोक्या हौं । राप्रपा पसेको भन्दा पनि बल्ल चिन्यौं । ढिलो बुझ्न त पाइयो नि ! जब रियल कुरा बुझ्यौं । तब होइन रहेछ यिनीहरुले सक्ने रहेछन् भनेर हामी पसेको हो ।

सीधा कुरा, म पनि पञ्चायती व्यवस्थाको विरोधी थिएँ नि ! पछिल्ला दिनमा यिनीहरुले मुलुक सक्ने रहेछन्, टु थर्ड दिए पनि चलाएर खान सक्ने रहेनछन्, आफ्नै फुटाएर प्रतिपक्षीलाई सत्ता बुझाउँदा रहेछन् । फेरि जितेर आएर पनि खिचातानी त चलिहाल्छ । त्यसकारण गठबन्धनवालाको दिन सकिए हेर्दै जानु मंसिर ४ पछि ।

रह्यो कुरा एमालेको । एमालेभित्र पनि सर्टन कार्यकर्ताहरु खुशी छन् । मनमोहनजीले दिएको एकसय रुपैयाँ वृद्धभत्ताको ब्याज खाएर आउनु भएको हो । मदन भण्डारीको हत्यारा पत्ता लाउँछु भनेर सत्तामा पुग्नुभएको हो । नागरिकतासम्बन्धी कुरा उहाँहरुको के हो ? एमसीसीसम्बन्धी कुरा के हो ? एसपीपीसम्बन्धी कुरा के हो ? अमेरिकामा को गएको थियो ? कति क्लास पढेको मान्छे परराष्ट्रमन्त्री ? त्यहाँ के के लेखेका छन् ? सबै कुरा सबै नेपालीले बुझ्याछन् । त्यसकारण उहाँहरु पनि धर्मराउनुभएको छ । आशलाग्दो भनेको राजेन्द्र लिङदेनले लिड गरेको राप्रपा हो ।

सबैभन्दा खुशीको कुरा पनि भन्दिन्छु । सबैभन्दा धेरै उम्मेदवार दिएको भनेको राप्रपाले हो । १६५ जना हो । तर केही ठाउँमा केही मिलाउनुपर्दा केही घटेको छ ।

– काठमाडौं क्षेत्र नं. ५ मा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, स्वतन्त्रमा रञ्जु दर्शनालगायत उम्मेदवार छन् । तपाईंलाई भारी पर्दैन उहाँहरुको उम्मेदवारी ?

हामी जम्मा २९ जना छौं । २९ जना उम्मेदवारहरु अहिलेको हिसाबमा सबै बराबर, कुनै हेभी वेट, कुनै लाइट वेट, कुनै यो, कुनै त्यो भन्ने कुरा केही पनि आउँदैन । क्षेत्र नं ५ भनेको यस मुलुकको, जस्तै मुटु चलाउन एसए नोड पेसमेकर हुन्छ, सबैभन्दा पहिलो भनेको एसए नोड हो । क्षेत्र नं ५ मुलुककै एसए नोड हो । अब किनभन्दा पहिला त म आध्यात्मिक रुपमै ल्याउँछु । भगवान बुढानिलकण्ठको बास छ । अलिक यतापट्टि आउँदा माता चण्डेश्वरीको बास छ, अलिक यता आउँदा भगवान गणेशको बास छ । हुँदैहुँदै यता आउँदा भाटभटेनी हेर्नुहुन्छ कि चुडेलदेवी हेर्नुहुन्छ कि गहनापोखरी हेर्नुहुन्छ कि हाँडीगाउँ हेर्नुहुन्छ कि सबै दृष्टिकोणले रिच छ । अर्को कुरो क्षेत्र नं ५ मात्रै यस्तो क्षेत्र हो जहाँ मुलुकका प्रधानमन्त्री पनि बस्छन् । प्रधानन्यायाधीश पनि बस्छन् । इन्डियन एम्बेसी पनि छ । अमेरिकन, रसियन, चाइनिज, अस्ट्रेलियन एम्बेसी पनि छ । राष्ट्र बैंक पनि छ । ठूल्ठूला हस्पिटलहरु सहिद गंगालाल भन्नुहुन्छ कि टिचिङ हस्पिटल भन्नुहुन्छ कि कान्ति हस्पिटल भन्नुहुन्छ कि पुलिसको तालिम केन्द्र भन्नुहुन्छ कि आर्मीको प्यारा भन्नुहुन्छ, पुलिसकै हस्पिटल भन्नुहुन्छ कि ठूल्ठूला होटल भन्नुहुन्छ । सबै छ । हरेक पढेलेखेका मान्छेहरु उच्च पदस्थ व्यक्तित्वहरु, ब्रिलियन्ट नागरिकहरु छन् । त्यसैगरी हाम्रो क्षेत्रमा किसान मजदुरहरु पनि छन् । सचेत नागरिक छन् । मुलुकको एसए नोडबाट उठ्न पाउनु आफैंमा भाग्य हो । त्यसकारण २९ जना लक्की छौं ।

यसपालि मान्छेले घरदैलोमा जाँदा के भने भने मलाई त मतदाताले तपाईं आइदिनु न हौ भनिरहेका छन् । बोलाउनुहुन्छ, हेर्न आउनुहुन्छ, तपाईंलाई मैले हेरेको छु । चिनेको छु । बल्ल हाम्रो क्षेत्रले भनेजस्तो क्यान्डिडेट पाएको छ भन्नुहुन्छ । अर्को के पनि भन्नुहुन्छ भने यसपट हामी पार्टी हेर्दैनौं, हाम्रो हेर्दैनौं, राम्रो हेर्छौं । यी नै दल विशेषहरुले ७०–८० लाख यस मुलुकका जल्दाबल्दा युवा छोराछोरीहरुलाई विदेशमा कामदारको रुपमा बिक्री गरे । आफ्नो मुलुकमा कलकारखाना खोल्नुपर्ने, कृषि उत्पादन गर्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने, मुलुकलाई उभो लगाउनु छैन । लाजै पचाएर के भन्नुहुन्छ भने फ्री भिसामा तँलाई उता पठाइदिउँला, ढेउवा लाग्दैन । त्यस्ताको हातमा सत्ता दिने हो ?

फेरि लुम्बिनीतिरको घटना त के भन्नु र मैले, चुनावको वेला छ । ¥याल काढ्दै हातले यसो पुछ्ने र संसारको बेइज्जत गर्ने मान्छेलाई फेरि जिताउनु छ ? भ्रष्टाचारमाथि भ्रष्टाचार गर्नेलाई जिताउनु छ ? फरक मान्छे हेर्छौं, राम्रो मान्छे हेर्छौं भन्याछन् । जति ठाउँमा पुगें, मतदाताको एउटा बडी ल्यांग्वेज, उहाँहरुको कुराकानी, उहाँहरुले गरेको माया र स्नेह देख्दा सबैले चिनेको पनि हुनुहुँदोरहेछ । चुनाव त जितिन्छ ।

– यहाँले जित्नुभयो भने आफ्नो क्षेत्रमा के के गर्नुहुन्छ ?

मैले जिते भने हाम्रो घोषणापत्रका कुराहरुमा नै लाग्छु । म डाक्टर हो । पहिला स्वास्थ्य निःशुल्क गराउनेतर्फ लागिहाल्छु । हाम्रा बुबाआमाहरुलाई घरमै सर्भिस पु¥याइदिन्छु । त्यस्तै सानो स्केलमै भए पनि दुईचारवटा स्मल कटेज इन्डस्ट्रिज ल्याउँछु ल्याउँछु । कमसेकम २०/३० जना भाइबहिनीहरुलाई रोजगारी दिन सकेँ पनि इतिहास त बनाएँ नि !

त्यस्तै हाम्रो क्षेत्रलाई हराभरा बनाउँछु । मेरो इजरायलका राजदूतसँग कुराकानी भइसकेको छ । कृषिको टेक्नोलोजी पनि ल्याइदिनु, अरु विकासका आइडोलोजी पनि दिनु भनेको छु । अरु कन्ट्रीमा पनि मेरो कुरा भएको छ । मैले क्षेत्र नं ५ बाट जित्दैछु, म काम गर्न गएको मलाई तपाईंहरुले टेक्नोलोजी दिनुस्, म पैसा माग्दिनँ, पैसा हामीसँगै छ भनेको छु । अरु विकासका सामान्य कुराहरु त हुन्छन् नै । क्षेत्र नं ५ लाई धपक्कै बाल्ने हो ।

२२,कार्तिक.२०७९,मंगलवार ०८:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्