नेटो प्रमुखमा युक्रेनी मुलकी नेतृसहित चार महिलाको दाबी, को बन्ला नयाँ प्रमुख?

एजेन्सी । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुखको कार्यकाल सन् २०२३ सेप्टेम्बरमा अन्त्य हुँदैछ। नयाँ नेतृत्वका लागि अहिलेबाटै रस्साकस्सी सुरू भएको छ। नेटो नेतृत्वमा क्यानडा, बेलायत, इस्टोनिया, स्लोभाकिया र क्रोयसियाले दाबी गरेका छन्।

७३ वर्षको इतिहासमा नेटोले हालसम्म महिला नेतृत्व पाएको छैन। तर यसपटक, चार महिलाले दाबेदारी पेश गरेका छन्। युरोपको रक्षाका निम्ति उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को भूमिकाबारे रूस -युक्रेन युद्धले नयाँ अनुभूति दिलाएको छ।

इतिहासमा सोभियत युनियनविरूद्ध प्रतिवादका लागि गठन भएको संगठन हाल रूसविरुद्ध उभिएको छ। नेटोका वर्तमान प्रमुख जेन्स स्टोल्टवर्गको कार्यकाल सकिनै लाग्दा त्यसको आगामी नेतृत्वबारे बहस सुरू भएको छ।

यो पटक नेतृत्वमा पहिलो दाबी युक्रेनी मुलकी क्यानेडियन उपप्रधानमन्त्री क्रिष्टिया फ्रील्याण्डले गरेकी छिन्। ५४ वर्षकी उनी पूर्व पत्रकार हुन्। अंग्रेजी, फ्रेन्च, इटालियन, युक्रेनी तथा रूसी भाषामा पोख्त उनी सार्वजनिक बहसका लागि सबल छिन्।

उनले अवसर पाएमा नेटो हाँक्ने पहिलो महिला तथा पहिलो क्यानेडियन बन्नेछिन्। तर, नेटोमा एउटा ट्रेन्ड छ, ३० सदस्य राष्ट्रको बार्गेनिङले पहिले दाबी पेश गर्ने उम्मेदवारले विरलै नेतृत्वको अवसर प्राउँछन्।

अर्को रोचक कुरा के छ भने अमेरिकालाई जसलाई समर्थन गर्छ त्यसैले नेतृत्व पाउने प्रबल सम्भावना रहन्छ। सार्वजनिक भएका चर्चा अनुसार फ्रील्याण्डलाई वासिंगटनको बलियो समर्थन छ। अमेरिकाले नेटोमा आफ्नो उम्मेदवारी नदिने परम्परा छ।

युरोपेली युनियनको चाहना आफ्नै सदस्य राष्ट्रमध्येबाट कसैले नेटको नेतृत्व गरोस् भन्ने छ। स्वीडेन र फिनल्याण्डको नेटोमा आवद्ध हुन दिएको निवेदन स्वीकृत भए युरोपेली युनियनका २३ राष्ट्र नेटोमा हुनेछन् र नेटोमा ३२ मुलुक सदस्य हुनेछन्।

दाबेदारमध्येबाट युरोपेली युनियनले साझा उम्मेदवार विस्तारै तय गर्ला। त्यहाँबाट विभिन्न मुलुकका प्रतिनिधिले बलियो दाबेदारी पेश गरिरहेका छन्। नेतृत्वमा दाबी गर्ने महिलामा इस्टोनियाकी प्रधानमन्त्री कजा कलास, स्लोभाकियाकी राष्ट्रपति जुझाना च्यापुतोभा र क्रोयसियाकी पूर्व राष्ट्रपति कोलिन्डा ग्रेभर कटोरोभिच छन्।

कोलिण्डा क्रोयसियाका लागि वासिंगटनकी पूर्व राजदूत पनि हुन् भने नेटोका निम्ति पूर्व सहायक महासचिव पनि हुन्।

युरोपियन युनियन छोडेको बेलायतले रक्षामन्त्री बेन वालेसलाई अघि सारेको छ। युरोपियन युनियनबाट बाहिरिएपछि विश्वमाझ आफ्नो भूमिका बढाउने उद्धेश्यसहित बेलायतले नेतृत्व लिन खोजेको चर्चा भइरहेको छ। जो आए पनि, नेटोको अबको नेतृत्व निसन्देह इतिहासको जटिल मोडमा उभिनेछ। रूस-युक्रेन युद्ध चर्किँदै गएमा रूसी सीमामा नेटोका सैनिक तैनाथ गर्नुपर्नेछ। पैसा र हात-हतियारको मागको व्यवस्थापन गर्नुपर्नेछ।

आफ्ना सदस्य राष्ट्रका माग सम्बोधनका लागि सहमतिमा काम गर्दै विश्वमञ्चमा पश्चिमाको उपस्थिति सबल देखाउन नेटोले भूमिका निर्वाह गर्नेछ। युद्ध जारी रहेकाले हालका प्रमुख स्टोल्टवर्गको कार्यकाल एक वर्ष थप्ने चर्चा समेत भइरहेको छ। तर त्यसका निम्ति सदस्य राष्ट्रको सहमति अनिवार्य हुन्छ।

सन् २०२४ को सेप्टेम्बरमा युरोपियन युनियनको प्रमुखका लागि निर्वाचन समेत हुने भएकाले नेटो नेतृत्व चयन कठिन हुनसक्छ। युनियनको नेतृत्व चयनका लागि सदस्य राष्ट्रबीच केही सौदाबाजी समेत हुने आशंकाबीच नेटो नेतृत्व चयन सकसमा पर्नसक्छ।

वासिंगटन नेटोको नेतृत्वलाई युरोपियन युनियन मुलुकले सान्तवना पुरस्कारका रूपमा लिन नहुने अडानमा छ। त्यसैले उसले युनियनको चुनाव अगावै नेटोको नेतृत्व चयन गर्ने पक्षमा छ। ब्रसेल र वासिंगटन दुबै नोभेम्बर २०२४ अगावै नेटोको नेतृत्व परिवर्तनको पक्षमा छन्।

विगतका नेटो प्रमुखहरू आ-आफ्ना मुलुकका सरकार प्रमुख समेत थिए। तर नेटो नेतृत्वमा रहन सरकार प्रमुखनै हुनुपर्ने नियम छैन। नेतृत्वमा आउन रूसविरुद्धको कठोर नीति अवश्यक मापदण्ड बन्नसक्छ। पश्चिमी युरोपका राष्ट्र फ्रान्स र जर्मनी युद्धको अन्त्य मस्कोसँग स्थिर सम्बन्धको पक्षमा रहँदा बाल्टिक राष्ट्रहरू रूसविरूद्ध कठोर छन्।

इस्टोनियाका प्रधानमन्त्री कलास रूसविरूद्ध निकै कठोर सुनिन्छन्। युक्रेनमा नरसंहार मच्चाउने पुटिनसँग कुनै सम्झौता गर्न नहुनेमा उनी अडिग छिन्। नेटो राष्ट्रका सदस्यले सन् २०२४ भित्र कुल ग्राहस्थ उत्पादनको दुई प्रतिशत रक्षामा खर्च गर्ने लक्ष्य राखेका छन्। यस मामिलामा क्यानडा पछि नै छ।

यद्यपि, उसले युक्रेनलाई गतिलै सहयोग गरिराखेको छ। युक्रेनलाई सहयोग गर्ने मामिलामा क्यानडा जर्मनी भन्दा पछि र पोल्याण्ड भन्दा अघि छ।

बेलायत र अमेरिकाको तुलनामा उसको सहयोग नगन्य छ। युक्रेनप्रति फ्रील्याण्डको दृष्टिकोण कतिपयलाई अतिनै लाग्न सक्छ। सन् २०१४ मा भिक्टोर यानुकोभिचको सत्ताबाट बहिर्गमन हुँदा त्यसको उत्सवमा सहभागि हुन उनी पुगेकी थिइन्। त्यसपछि रूसले उनको नाम प्रतिबन्धको सूचीमा चढाएको थियो।

क्यानडामा आप्रवासी हुनुअघि उनका हजुरबुवा युक्रेनको राष्ट्रवादी आन्दोलनमा सहभागी थिए। त्यसबारेको निबन्धमा फ्रील्याण्डले लेखेकी छिन्, ‘मेरा मावली हजुरबुवाले युक्रेनको स्वतन्त्रताको पक्षमा लड्दा राजनीतिक निर्वासन खेप्नुपर्‍यो। युक्रेनको स्वतन्त्रताको सपना पुस्तौँदेखि छ र यो सपनाको हस्तान्तरण भइरहनेछ।’

उपप्रधानमन्त्री समेत रहेकी फ्रील्याण्ड क्यानडाकी अर्थमन्त्री हुन्। अर्थ मन्त्रालयका प्रवक्ताले भने नेटोमा उनको दाबेदारीबारे अझै स्पस्ट नभएको बताएका छन्। ‘उहाँ आफैँले दाबेदारी दिएजस्तो लाग्दैन। अहिले उहाँ क्यानडाली जनताको हितमा काम गर्न व्यस्त हुनुहुन्छ,’ प्रवक्ता एलेक्स लरेन्सले भने।

नेटो प्रमुखको कार्यकाल ४ वर्षको हुन्छ। हालका प्रमुख सोल्टेनवर्गको सन् २०१४ मा चयन भएका थिए। सन् २०१८ मा पनि चार वर्षका लागि उनको कार्यकाल थप भयो। रूस- युक्रेन युद्धका कारण विशेष कारण भन्दै फेरि एक वर्ष थपिएको समय सन् २०२३ सेप्टेम्बरमा समाप्त हुँदैछ।

२२,कार्तिक.२०७९,मंगलवार १८:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्