लोकदोहोरी गायीका जेरीले भनिन, श्रीमानको हिंसा र परस्त्रीगमनले भयो डिभोर्स (भिडियो)

नेपाली जनता

काठमाडौं । लोकप्रिय दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ ले श्रीमान शंकर क्षेत्रीसँग छुट्टिनुको कारणबारे वेदनापूर्ण बयान दिएकी छन् । एक अन्तर्वार्तामा उनले आफूलाई शंकरले विवाहदेखि नै शारीरिक र मानसिक यातना दिएको सुनाइन् ।

युट्युब च्यानल लालीगुराँस डटकमका लागि कमल सरगमलाई दिएको भावुक अन्तर्वार्तामा उनले वैवाहिक जीवन सुरुदेखि नै तिक्ततापूर्ण रहेको खुलासा गरिन् । जेरीका अनुसार शंकरले बिहेको १४ दिनदेखि नै उनलाई घाइते हुने गरी पटक-पटक शारीरिक यातना दिन सुरु गरेका थिए । आफ्नो चरित्रमाथि विभिन्न लाञ्छना लगाउँदै यातना दिने शंकर आफू भने परस्त्रीगमनमा लिप्त बनेको उनको भनाइ छ ।

जेरी र शंकरले हिजो काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद गरेका थिए । सम्बन्धविच्छेदका लागि जाँदा जेरीले आफ्नो विवाहको सिन्दूरले सिउँदो रंगाएकी थिइन् भने गलामा पोते र हातमा चुरा लगाएकी थिइन् । अबका दिनमा आफ्नो सिउँदो खाली हुने भएकाले अन्तिम पटकका लागि यो श्रृंगार गरेको उनले रुँदै बताइन् ।

उहाँ दुबईमा छँदा मेरो उहाँसँग गायक प्रदीप रोकामार्फत (मैले टीका लगाएको दाइ) मार्फत चिनजान भएको हो । हामी भिडियोमा लामो–लामो कुरा गर्थ्यौं । म उहाँप्रति आशक्त बन्दै गएँ । उहाँ पनि मप्रति माया देखाउनुहुन्थ्यो । हामीबीच भिडियो कलमै प्रेम सुरु भयो । उहाँलाई मैले नेपालमै केही गरौं भनेर आग्रह गरेर बोलाएको हुँ । २०७२ सालको माघ-फागुनबाट बोल्न थालेको हो । मलाई आफूले खोजेको जस्तै मान्छे पाएको महसुस भएको थियो ।

उहाँ नेपाल आएपछि २०७३ साल असोजमा हाम्रो पहिलोपटक भेट भयो । विदेशबाट फर्किएपछि मलाई भेटेर उहाँ घर जानुभयो । त्यसको १३ दिनपछि काठमाडौं आउनुभयो । मैतीदेवी पछाडि कोठा लिएर बस्न थाल्नुभयो । म उहाँप्रति अति नै क्रेजी थिएँ । उहाँसँग एक पलमात्रै बिताउन पाए पनि म आफूलाई भाग्यमानी सम्झिन्थें । मेरै प्रस्तावमा हामी उहाँको कोठामा लिभिङ टुगेदरमा बस्न थाल्यौं ।

केही वर्ष लिभिङ टुगेदरमा बसेपछि हामीले बिहे गर्‍यौं । उहाँ हाम्रो बिहे गुपचुप गरौं भन्ने पक्षमा हुनुहुन्थ्यो । विवाहको कुरा बाहिर लिक नगरौं भन्नुहुन्थ्यो । उहाँको मनसाय अर्कै रहेछ, मैले बुझ्न सकिनँ । तर, मलाई आफूले मन पराएको केटासँग धुमधामले बिहे गर्ने रहर थियो । मेरै जोडमा धुमधामले बिहे गरियो । मिडियासमेत बोलाइयो ।

बिहेलगत्तै उहाँले आफ्नो असली रुप देखाउन थाल्नुभयो । बिहे भएको १४ दिनपछि ममाथि घरेलु हिंसा सुरु भएको हो । बिहेमा दुलाहाको आमा–बाबु र दाइलाई औंठी बनाइदिनुपर्छ भन्नुभएको थियो उहाँले । माइतीबाट त्यही ग¥यौं । तर, बिहे भएपछि बहिनीलाई गहना नदिएको बहानामा किचकिच सुरु गर्नुभयो ।

म बिहेलगत्तै कार्यक्रमका लागि इजरायल गएको थिएँ । पहिलो भ्यालेन्टाइन डे पनि सँगै मनाउन पाइएन । फर्केर आउनासाथ कहिले श्रीमानको अनुहार हेरौं भन्ने भएको थियो । तर, म आउनासाथ उहाँ दोहोरी जान्छु भनेर फुत्त निस्कनु भयो, अनि बिहान आउनुभयो । त्यसपछि झगडा सुरु गरिहाल्नुभयो, बहिनीलाई किन गहना नदिएको भनेर ।

‘तेरो माइतीपट्टि त्यत्रोलाई कुर्ता-सुरुवाल दिएपछि तिमीहरुले मेरो बहिनीलाई गहना दिनुपर्छ कि पर्दैन ?’ भनेर उहाँले मलाई सत्तोसराप गर्न थाल्नुभयो । त्यही दिनदेखि ‘तँ अनुहार न दनुवारकी, उमेर-रुपरंग केही नमिल्नेसँग बिहे गरेर फसें’ भन्न थाल्नुभएको हो ।

मैले उहाँको प्रतिवाद गरेपछि उहाँ आवेशमा आउनुभयो र ममाथि आक्रमण गर्नुभयो । मलाई कुट्दै लडाउनुभयो, अनि किचेनको चप्पल मुखभित्र कोच्याएर घाँटीसम्म पुर्‍याउनु भयो । अन्तिम अवस्थामा मैले खुट्टाले उहाँको पेटमा लात्ती हानेर आफ्नो ज्यान बचाएँ ।

आफूले मन पराएर बिहे गरेको केटाले बिहेको १४ दिनमै यस्तो यातना दिएको कुरा मैले माइतीलाई पनि सुनाउन सकिनँ । माइती परिवारले त मलाई अन्तिम समयसम्म पनि विवाहको विषयमा धेरै झक्झक्याउनु भएको थियो । दुई दिनअघिसम्म पनि एकपटक फेरि सोच है भन्नुभएको थियो । तर, मैले उहाँमाथि विश्वास गरेको थिएँ । त्यसैले श्रीमानले दिएको पीडा माइती परिवारमा सुनाउनै सकिनँ ।

मैले आफ्नो साथी कुशल बेलबासे र मेरो दिदीलाई मात्रै त्यस दिनको घटना सुनाएँ । उहाँहरुले मलाई श्रीमानको केही कुरा सहनुपर्छ भनेर सम्झाउनुभयो । तर, यस्ता घटनाहरु बारम्बार दोहोरिए ।

लकडाउनका समयमा हामी दुवै उहाँको घर गयौं । त्यसवेला ४८ दिन घरमा बस्दा मलाई उहाँ र उहाँको परिवारबाट समेत घरेलु हिंसा भयो । ३०-३२ दिन त शारीरिक यातना नै दिनुभयो । त्यसवेला म गर्भवतीसमेत थिएँ । पेटमा बच्चा भएको समयमा समेत श्रीमानबाट माया पाइनँ । डिस्कस परेको वेला मलाई ‘तँ माइत गएर बस, मलाई अस्ट्रेलियाको केटीले पर्खेर बसिरहेको छ’ भन्नुहुन्थ्यो ।

मेरो माइतीलाई उहाँले कहिल्यै राम्रो गर्नुभएन । मेरा दिदी र भाइलाई त देख्नै सक्नुहुन्नथ्यो । माइती परिवारसँग कहिल्यै मीठो वचन बोल्नुभएन ।

उहाँले बारम्बार मेरो चरित्रमा औंला उठाउने प्रयास गर्नुभयो । आज पनि भन्छु त्यस्तो केही प्रमाण भए ल्याउनुस्, पुरस्कार दिन्छु । उहाँसँग च्याटका केही स्क्रिनसट छन् । त्यो पनि उहाँ आफैंले बनाउनुभएको हो । मेरो मोबाइल उहाँले चलाउनुहुन्थ्यो । अनि मेरो नजिकका साथीहरुलाई नानाथरि कुरा लेखेर त्यसको स्क्रिनसट आफ्नो मोबाइलमा पठाउनु हुन्थ्यो । त्यही स्क्रिनसट देखाएर मलाई ब्ल्याकमेलिङ गर्नुहुन्थ्यो ।

प्रदीप रोका मैले टीका लगाएको दाइ हो भन्ने उहाँलाई थाहा छ । तर, प्रदीपसँग उहाँको के रिस हो थाहा छैन । देख्नै सक्नुहुन्न । उहाँकै रिसका कारण प्रदीप रोकासँग मैले कहिल्यै कार्यक्रममा जान पाइनँ । एकपटक दोहोरीमा विजेता भएका वेला मैले अंकमाल गरेको फोटो छापिएको रहेछ । त्यसैलाई देखाएर ‘तेरो प्यास मेटियो होला, अब त्यसैसँग जा’ भनेर ब्लेम लगाउनुभयो ।

प्रदीपमात्र होइन, कुशल बेलबासे, राजु आरडी, बालचन्द्र बराल जस्ता गायकहरुसँग पनि मेरो नाम जोडेर लाञ्छना लगाउनुभयो । म कुनै कार्यक्रममा जाँदा त्यसकै आयोजकमाथि पनि शंका गर्नुहुन्थ्यो । यसरी मलाई अति धेरै मानसिक टर्चर दिनुभयो ।

एकदिन हाम्रो दोहोरीमा उहाँले डान्सर केटी लिएर आउनुभयो । उसको हाउभाउ र पारा हेरेपछि मलाई राख्नुहुँदैन भन्ने लागेको थियो । पहिले कसैले स्टाफ ल्याउँदा हामी चारैजना (लगानीकर्ता) को सहमतिविना राख्ने प्रचलन थिएन । तर, त्यो केटीलाई उहाँले राख्नैपर्ने जिद्दी गर्नुभयो ।

त्यसपछि म त विभिन्न प्रोग्राममा बिजी भएँ । यता ध्यान दिन पाइनँ । गोरखामा एक हप्ता दिनवन्धु पोखरेलसँग प्रोग्राममा गएको थिएँ । काठमाडौं आउँदा संसार उल्टिसकेको थियो । अर्कै किसिमको भइसकेको थियो ।

मलाई साढे ७ वर्ष उहाँसँग रिलेसनमा हुँदा कहिल्यै एकपटक उपहार दिनुभएको छैन । उहाँले बर्थ डे सेलिब्रेट गरेको पनि अस्ति पहिलोपटक हो । तर, त्यो केटीको जन्मदिनमा केक आफैंले ल्याएर रुममा लगेर काट्नुभएछ । अनि त्यो केटीले ‘जेरीसँग डिभोर्स दिएर शंकरले मसँग विहे गर्छ’ भन्दै हिँडेकी रहिछ । मलाई दोहोरीका स्टाफले सबै कुरा सुनाए ।

त्यो केटीसँग नजिक भएपछि उहाँले मलाई थप बेवास्ता र तिरस्कार गर्न थाल्नुभयो । विभिन्न अपशब्द बोलेर गालीगलौज गर्नुहुन्थ्यो । पोहोरको क्रिसमस इभको दिन तपाईंको यस्तो–यस्तो छ भन्ने हल्ला सुनेको छु, के हो कुरा भनेर सोधें । कि त्यो केटीलाई निकाल्नुपर्छ, होइन भने म तपाईंलाई छोड्छु भनें । त्यसपछि झगडा गर्नुभयो । मलाई हात छोड्नुभो ।

‘तँजस्तो भालुसँग मेरो के मिल्छ ? न उमेर मिल्छ न त रुप मिल्छ । मैले चाहें भने तँभन्दा राम्रा खेलाएर हिँड्छु । तँ भालु चाहिँदैन मलाई, त्यो केटी चाहिन्छ’, यसरी नानाथरि भनेर मलाई पिट्नुभयो । मेरो आँखामा चोट लाग्यो । यत्रो भएर सुन्नियो । त्यो कुरा कसैलाई शेयर गर्न सकिनँ ।

म मर्न गएको दिन पनि त्यति रोएको छैन होला, त्यो दिन त्यति रोएँ ।

बिहेभन्दा अघि पनि डिस्कसन हुन्थ्यो । सहँदै मिलाउँदै आएँ । कसैलाई स्वीकार्नु भनेको उसको गलत र सही दुवैलाई अपनाउनु हो नि ! मैले अपनाएको मान्छेको केही कुरा सहिदिएर हाम्रो वैवाहिक सम्बन्ध रहन्छ भने सहन्छु भनें । मैले धेरै अन्याय सहेर पनि आज यो अवस्था आएको हो ।

अति भएपछि मैले उहाँको मम्मीलाई ‘तपाईंको छोरा त यस्तो-यस्तो भन्नुहुन्छ, के गर्ने हो, छोरालाई सम्झाउनुपरो’ भनें । तर, उहाँले पनि छोराको साइड लिनुभयो । उल्टो मलाई नै ‘सँगै बस्न नसक्ने भए बाटो खुला छ, बच्चा जन्माएर हामीलाई दिने, अनि जहाँ जाँदा पनि हुन्छ’ भन्नुभयो ।

बच्चा जन्मेपछि माइतमा गएँ । माइत गएको तीन-चार दिनदेखि ‘तँ त्यहीँ बस, बरु ८-१० लाख दिन्छु, मलाई मेरो केटीले पर्खिरहेको छ’ भनेर फेरि तनाव दिनुभयो । त्यसपछि घर आएँ ।

घर आएपछि बुढाको चालामाला बुझ्न उहाँ निदाएको वेलामा उहाँको मोबाइल चेक गरें । एउटा म्यासेज देखेर छाँगाबाट खसेंझैं भएँ । कति गलत व्यक्तिलाई साँचो प्रेम गरेको रहेछु भन्ने भयो । त्यसवेला उहाँका दाइ घरबाट आउनुभएको थियो । म माइत भएका वेला एउटा केटी हाम्रो कोठामा नै ल्याएर दाजुभाइले राखेका रहेछन् । त्यो केटीसँग दाजुभाइकै सम्बन्ध भएको बुझियो । धेरै कुराहरु थाहा पाएँ ।

त्यति प्रमाण भइसकेपछि मैले उहाँलाई सोधें । श्रीमती सुत्केरी भएर माइत गएका वेला केटी ल्याएर राख्न लाज लाग्दैन ? कसैसँग बस्ने भए बाहिर बसेको भए हुन्थ्यो । मेरै कोठामा किन राखिस् । दाइभाइलाई एउटै केटी चल्ने हो ? भनेर मैले झगडा गरें । त्यसपछि त मलाई नराम्ररी शारीरिक यातना दियो ।

टाउकोमा चोट लाग्यो । ब्लड जमेको थियो । आँखामा पनि चोट थियो । ठाउँ–ठाउँबाट रगत बगिरहेको थियो । बाहिर नराम्रो नहोस् भनेर बाथरुममा लडेर घाइते भएको भनें । पल्लो कोठाको दिदीले थाहा पाएर मेरो दिदीलाई फोन गर्नुभयो । तर, माइतीले उहाँसँग कुरा गर्न खोज्दा पनि मोबाइल उठाउनुभएन । त्यसपछि माइतीबाट परिवार आएर मलाई लैजानुभयो । त्यसपछि धेरै समय माइतीमा नै बसें ।

नानीको भातख्वाइ गर्ने वेला बुवाआमा सँगै हुन पाए हुन्थ्यो जस्तो भयो । पुराना कुरा बिर्सिन्छु भन्ने हिसाबले उहाँलाई सन्देश पठाएँ । तर, छोरीको भातख्वाइमा पनि आउँदिनँ भन्नुभयो । अहिलेसम्मको बाँकी कोठाभाडा तिर र आफ्नो सामान निकालेर अर्कै कोठा लिएर बस भन्नुभयो । त्यसपछि म बाध्यतावस भत्केको पुलमा सरें । जबजब साथ चाहिने वेला छ, तबतब मलाई पीडा दिनुभएको छ ।

मैले कमाएको सम्पूर्ण सम्पत्ति कि आमाको कि छोराको नाममा गर्नुपर्ने उहाँको भनाइ थियो । त्यो मैले मानिनँ । श्रीमान-श्रीमतीको नाममा गर्न म सहमत थिएँ । तर, अरु व्यक्तिको नाममा राख्न मानिनँ । अनि, आमा-छोरा आएर बिहेमा दिएको गरगहना सबै खोसेर लैजानुभयो । एउटा फुली पनि लगाउन दिनुभएन । जबरजस्ती बिहेको एउटा औंठी राखेको थिएँ । त्यो औठी पनि अस्ति अदालतमा जाँदा उहाँले फिर्ता लिनुभयो ।

म संघर्ष गरेर जिन्दगी जिउन सक्छु । तर, सानी छोरीलाई बाबाको काख र माया दिन सक्दिनँ । पहिले मलाई आफ्नो छोरी संसारको सबैभन्दा भाग्यमानी बच्चा जस्तो लाग्थ्यो । अहिले सबभन्दा अभागीजस्तो लाग्न थालेको छ । सँगै छँदा पनि उसले बाबाको माया खासै पाइन । मेरो श्रीमानले छोरीका लागि एक जोर कपडा किनेर ल्याइदिनुभएको छैन । टिकटक बनाउने वेलामात्रै छोरीप्रति माया देखाउनुहुन्थ्यो ।

म आत्महत्याबाट फर्केर पनि छोरीका लागि बाँचेको हो । मृत्युको मुखबाट फर्केको हो । अब यही कुरा सधैं बिझाउँछ । माफ गर छोरी । मैले तिमीलाई चाहेर पनि बाबाको माया कहिले दिन सक्दिनँ । सबै संसारको खुशी दिएर पनि बाबाको काख दिन सक्दिनँ ।

अन्ततः म यो यातनापूर्ण जीवनबाट मुक्त हुने निर्णयमा पुगें । उहाँ मलाई डिभोर्स दिन आतुर हुनुहुन्थ्यो । परिवार पनि अस्ट्रेलिया बस्ने केटीसँग उहाँको बिहे गराइदिन हतारिएका छन् । त्यसैले जतिसक्दो चाँडो डिभोर्स टुंग्याउन दबाब आइरह्यो । र, मैले पनि दुईमध्ये एक जना खुशी हुनुपर्छ भनेर उहाँको बाटो खुला गरिदिएको छु । केही महिनामा बिहे गरेर अस्ट्रेलिया जानुहुन्छ होला । उहाँको आगामी जीवन राम्रो होस् ।

मैले विदेश जाने कुरा गरेर उहाँलाई व्यंग्य गरेकोमात्र हो । हामी दुईमध्ये एकजना विदेश जान्छौं भनेको थिएँ । उहाँ अस्ट्रेलिया जानुहुन्छ भन्ने थाहा भएर त्यसो भनेको हुँ । मेरो विदेश पलायन हुने योजना छैन । जसरी पनि संघर्ष गरेर यही बस्छु ।

शंकरको प्रतिक्रियाः मिडियामा रुवाबासी गर्नु जरुरी छैन

जेरीको उक्त अन्तर्वार्तालाई लिएर शंकर क्षेत्रीले असन्तुष्टि प्रकट गरेका छन् । उनले नेपाल प्रेससँग प्रतिक्रिया दिँदै ‘जे हुनु भइसकेकाले मिडियामा रोएर बोल्न आवश्यक नरहेको’ बताए ।

सम्बन्धविच्छेदपछि आफूहरुको अदालतमा केही सहमतिहरु भएको गायक क्षेत्रीको भनाइ छ ।

उनी भन्छन्, ‘मिल्न धेरै कोसिस गरेको हो । तर, जति कोसिस गरे पनि नभएपछि के नै गर्न सकिन्छ र ? अदालतमा समझदारी भयो । बच्चाको लालनपालन, शिक्षा-दीक्षादेखि लिएर अंशसम्म दिने सबै मेरो भागमा परेको छ । बच्चाकोे उमेर सानो भएकाले आमासँग बस्नुपर्ने आदेश आयो ।’

उनले सत्यतथ्य नबुझी आफू र जेरीको बारेमा सुनेका भरमा समाचारहरु नलेखिदिनसमेत अनुरोध गरेका छन् ।

सम्बन्धविच्छेद गरेर निस्किसकेपछि मनमा के कुराहरु आए ? भन्ने प्रश्नमा उनले उत्तर दिए, ‘त्यस्तो केही छैन । मात्र यति भन्न चाहन्छु कि सम्बन्धविच्छेद भइसकेपछि पनि अनावश्यक कुराहरु मिडियामा रुँदै बोल्न जरुरी छैन । उहाँहरु कति नाटक गरेर बोलिरहनुभएको छ । मैले हेरिरहेको छु । आज पनि एउटा अन्तर्वार्ता दिनुभएको रहेछ । नहुने कुरा भइसक्यो । अब यो कुरामा डिस्कस गरेर केही फाइदा छैन ।’

२५,कार्तिक.२०७९,शुक्रबार १४:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: