पर्यटन बोर्डले बलिउड फिल्म ‘उचाइ’का निर्देशक र कलाकारलाई सम्मान गर्ने

काठमाडौं । पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै नेपाल पर्यटन बोर्डले बलिउड फिल्म ‘उचाइ’का निर्देशक र कलाकारलाई सम्मान गर्ने तयारी थालेको छ । चलचित्र विकास बोर्डमा भएको बैठकमा पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीले बोर्डले यस्तो तयारी गरिरहेको बताएका थिए ।

‘उचाइ’का निर्देशक र कलाकार नेपाल आउने अवस्था रहे राष्ट्रपति वा प्रधानमन्त्रीकै स्तरबाट सम्मान गरिने उनले बताए । यदि उनीहरु नेपाल आउने अवस्था नभएमा भने मुम्बई पुगेरै सम्मान गर्ने उनले जानकारी दिए ।

बैठकमा सहभागी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पर्यटन बोर्डसँग बोर्डले सहकार्य गर्ने बताएका थिए । बोर्डले उचाइका निर्देशक र कलाकारको सुटिङ अनुभवसम्बन्धी भनाइलाई वेबसाइटमा समेत राख्ने भएको छ ।

उचाइका नेपाल वितरक सुनिल मानन्धरका अनुसार आगामी शुक्रबार सिभिल मलस्थित हलमा पर्यटन व्यवसायीले हल नै बुकिङ गरेर फिल्म हेर्ने भएका छन् ।
उचाइले मंगलबारसम्म नेपाली बक्स अफिसबाट १ करोड १५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । बुधबारदेखि शो र अकुपेन्सीमा पनि वृद्धि भएको छ । राम्रो वर्ड अफ माउथ भएकाले फिल्मले आउने साता पनि राम्रो कमाइ गर्ने अनुमान छ ।

बलिउड कम्पनी राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन् भने अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर र परिणिती चोपडाको प्रमुख भूमिका छ ।

३०,कार्तिक.२०७९,बुधबार १२:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्