मधेसमा उपेन्द्रले अस्तित्व जोगाउन सकेनन्, महन्थ र राजेन्द्रलाई पनि छैन सहज

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन लडेको मधेस केन्द्रित दलका अधिकांश शीर्ष नेताहरुले आफ्नो अस्तित्व जोगाउन सकेनन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पराजित भइसकेका छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महन्थ ठाकुरसहित शीर्ष नेताहरु नै पराजित हुने अवस्थामा छन् । जसपा अध्यक्ष यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउत दोब्बरभन्दा बढी मतले पराजित भए ।

राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९७९ मतमात्रै पाए । उनीहरुबीचको मतान्तर १८ हजार ६३ छ । यस्तै सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले सात हजार ३४७ मत प्राप्त गरेर तेस्रो स्थानमा रहे।

महोत्तरी ३ बाट प्रतिस्पर्धामा रहेका लोसपाका अध्यक्ष ठाकुर पनि आफ्नो जीतमा ढुक्क छैनन् । पछिल्लो मत परिणामअनुसार अध्यक्ष ठाकुर दोस्रो स्थानमा छन् ।

त्यहाँ जसपाका हरिनारायण यादव ७ हजार ५६० मत ल्याएर लिड गरिरहेका छन् । उनलाई ठाकुरले ७ हजार ४७२ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यहाँ एमालेका बागी उम्मेदवार रामआधार कापर ७ हजार ३६ मतसहित तेस्रो स्थानमा छन् । सुरुवाती चरणदेखि नै पछि परेका ठाकुरलाई चुनाव जित्न हम्मेहम्मे पर्ने देखिएको छ ।

यस्तै सर्लाही १ मा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पछि परेका छन् । माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले सुरुदेखि नै अग्रता लिइरहेका छन् ।

पछिल्लो मत परिणामअनुसार माओवादीका यादवले ७ हजार १११ मत ल्याएर लिड गरिरहेका छन् । उनलाई लोसपाका वरिष्ठ नेता महतोले ६ हजार ६६५ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका राजनारायण साह ५ हजार ३५६ मत ल्याएर तेस्रो स्थानमा छन् ।

यस्तै लोसपाका नेता लक्ष्मणलाल कर्णले पर्सा १ मा आफ्नो जमानत जोगाउन सकेनन् । कूल सदर मतको १० प्रतिशत ल्याउन नसकेपछि उनको जमानत जफत भएको हो ।

पर्सा १ मा जनता समाजवादीका प्रदीप यादव २२ हजार ५३७ मतका साथ विजयी हुँदा कर्णले १ हजार ११७ मतमात्रै ल्याए । उनी त्यहाँ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए । उनीमात्रै नभएर मधेस केन्द्रित दलका अधिकांश शीर्ष नेताहरुले पराजय चाखेका छन् ।

२०७४ को निर्वाचनमा ठाकुर नेतृत्वको साविक राष्ट्रिय जनता पार्टी नेपाल ११ र यादव नेतृत्वको साविक संघीय समाजवादी फोरमले १० सीट जितेको थियो । तर, पछि यादव र ठाकुर मिलेर जसपा निर्माण गरेको भए पनि सफल हुन सकेन ।

मधेस केन्द्रित दल छिन्नभिन्न हुनुका साथै नेताहरूको अस्थिरताको कारणले निर्वाचनमा कमजोर नतिजा आएको छ ।

८,मंसिर.२०७९,बिहीबार १३:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्