धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहार हत्या प्रकरणको अनुसन्धानका लागि धनगढीबाट पनि प्रहरीटोली खटाइएको छ । बुधबार साँझ शिवनाथ गाउँपालिका–६ मालुहार घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएपछि अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट टोली खटिएको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलले अनुसन्धानका लागि प्रहरी नायब निरीक्षक नेतृत्वको टोली बैतडी पठाइएको जानकारी दिए । एसएसपी रावलले घटनाको अनुसन्धान सफलतातर्फ उन्मुखभएको पनि बताएका छन् ।
मंगलबार बिहान कपडा सिलाउने भन्दै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँगै कुलाउ बजार गएकी माया घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएकी थिइन् । नेहापनि घाँटी रेटिएको अवस्थामा भेटिएकी छन् । गम्भीर अवस्थाकी उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतक माया म्यादी प्रहरी पनि भएको खुलेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिए पछि उनी घर फर्किएकी थिइन् । मायाको हत्यामा सशस्त्र प्रहरीमा कार्यरत एक युवकको संलग्न रहेको हुन सक्ने प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ । उनी हाल फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।
ती प्रहरी जवानको परिचय भने गोप्य राखिएको छ । अनुसन्धानपछि मात्र थप कुरा खुल्ने बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले बताए ।
प्रतिक्रिया दिनुहोस्