तालाचाबी बैंकलाई बुझाएर आन्दोलन थाल्ने उद्योगी व्यवसायीको चेतावनी

रुपन्देही । उद्योगी व्यवसायीले बैंकहरुले मनपरी ब्याज वृद्धि गर्दा उद्योगहरु धरासायी हुने अवस्था आएको भन्दै ब्याज नघटे उद्योगमा तालाबन्दी गरेर बैंकलाई चाबी बुझाउने चेतावनी दिएका छन् ।

बिहीबार रुपन्देहीको तिलोत्तमा आयोजना भएको व्यापार मेला उद्घाटन कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारीले उद्योगीका समस्या समाधान गर्न पटक–पटक अर्थमन्त्रालय र सरोकारवालाई ध्यानाकर्षण गराइरहेको बताउँदै तत्काल बैंकहरुले ब्याज नघटाए आन्दोलन थालिने बताए ।

उद्योगका तालाचाबी बैंकलाई बुझाएर चरणबद्ध रुपमा आन्दोलन थालिने उनले घोषणा गरे । सरकारले उद्योगमैत्री नीति ल्याउन नसकेको भन्दै उनले लगानीमैत्री वातावरण बनाउन सरकारलाई आग्रह गरे ।

उद्योगी ब्यवसायीहरु गुणनिधि भण्डारी, अनिल ज्ञवाली, हेमलाल न्यौपाने, रोहितराज क्षेत्रीलगायतले निर्वाचनका कारण उद्योगीको आन्दोलन स्थगित गरिएको र अबै फेरि चर्को ब्याजविरुद्ध आन्दोलन थालिने उल्लेख गरे ।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले उद्योगीले उठाएका जायज मागलाई सरकारले समन्वय गरेर समाधान गर्नुपर्ने उल्लेख गरे । कोभिड १९ र बैंकको ब्याज वृद्धिले उद्योगीव्यवसायी थलिएको अवस्थामा उनीहरुको समस्या समाधानको लागि नगरपालिकाले सधै साथ दिने उनको दावी थियो ।

एमालेका हितराज पन्थी, माओवादी केन्द्रका निर्मल जीसी लगायतले पनि उद्योगीका समस्या समाधानका लागि आफूहरु तयार रहेको उल्लेख गरे । महोत्सव मंसिर २६ गतेसम्म चल्नेछ ।

१६,मंसिर.२०७९,शुक्रबार ०८:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्