४ महिनामा गौतमबुद्ध विमानस्थलबाट झण्डै २ करोडको आयात, ३८ लाखको निर्यात

काठमाडौं । पहिलो चार महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई करोडको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म १ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो विमानस्थल १ जेठबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको हो ।

विमानस्थल यात्रु ओहोर–दोहोर गर्ने मात्र नभई वैदेशिक व्यापार गर्ने विन्दु समेत हो । यस भन्सार विन्दुबाट चार महिनाको अवधिमा ३८ लाख ९० हजार रुपैयाँको वस्तु निर्यात भएको छ । नेपालमा त्रिभुवन विमानस्थलपछि भैरहवा दोस्रो विमानस्थलमा अवस्थित भन्सार बिन्दु हो । त्रिभुवन विमानस्थलबाट भने चार महिनामा ५५ अर्ब ९२ करोड रुपैयाँको वस्तु आयात हुँदा १२ अर्ब २५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।

भन्सार विभागका अनुसार चार महिनामा ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस अवधिमा ५४ अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । नेपालका भन्सार विन्दुमध्ये सबैभन्दा धेरै वैदेशिक व्यापार वीरगञ्ज भन्सारबाट हुने गरेको छ । यस नाकाबाट १ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा १३ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

चोभारबाट १५ करोडको आयात, ३३ लाखको निर्यात

चोभारस्थित सुख्खा बन्दरगाहबाट चार महिनाको अवधिमा १५ करोड ६८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस बन्दरगाहबाट निर्यात भने मात्र ३३ लाख ८ हजार रुपैयाँ बराबरको भएको छ ।

१८,मंसिर.२०७९,आईतवार १४:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्