सिंहदरबारमा संसदीय दलको कार्यालय व्यवस्थापन सुरु

काठमाडौं । सङ्घीय संसद सचिवालय दलहरुको संसदीय दलको कार्यालय व्यवस्थापनमा जुटेको छ । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा रहेका बेला संसद सचिवालय दलको सङ्ख्या आंकलन गरी आवश्यक तयारीमा जुटेको हो ।

कम्तीमा दुई सांसद रहेको दलले संसदीय दल खोल्न कानुनी प्रावधान रहेकाले उनीहरुको दल गठन भएपछि सञ्चालनका लागि कार्यालय र स्थान उपलब्ध गराउने गृहकार्य भइरहेको संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले बताए । उनले सकभर सिंहदरबारमा नै संसदीय दलको कार्यालयको व्यवस्थापन गर्ने र ठाँउ अभाव भए संसद भवन नयाँ बानेश्वरमा समेत केही दलको कार्यालय स्थापना गर्ने गरि तयारी भइरहेको उनले बताए ।

त्यस्तै, प्रवक्ता पाण्डले संसद बैठकको तयारीका लागि बानेश्वरस्थित संसद भवनका पूर्वाधार, स्वास्थ्य मापदण्ड लगायतका विषयमा आवश्यक तयारी गरिरहेको जानकारी दिए । सङ्घीय संसद्को सिंहदरबारस्थित नयाँ भवन निर्माण कार्य पूरा हुन अझै तीन वर्ष लाग्ने देखिएकाले संसदको नयाँ अधिवेशन बानेश्वरमा नै हुने उनले बताए ।

निर्वाचनको अन्तिम परिणाम आएको ३० दिन भित्र संसदको अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ ।

१८,मंसिर.२०७९,आईतवार १५:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्