चितवनका उद्योगी-व्यवसायी भन्छन्, ‘उद्योगधन्दा बन्द गर्नुपर्ने अवस्था आयो, कर-ब्याज बुझाउन सकिन्न’

चितवन । उद्योग संघले अर्थतन्त्रलाई चलायमान बनाउन र विद्यमान तरलताको समस्या समाधानका लागि कुनै ठोस कदम नचालिँदा उद्योगी, व्यवसायीहरू कर तिर्न नसक्ने अवस्थामा पुगेको जनाएको छ। उद्योग, व्यवसाय धरासयी बन्दै जाँदा नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले अर्थतन्त्रलाई थप समस्या पारेको भन्दै संघले अहिलेकै अवस्थामा उद्योगी, व्यवसायीहरूले पुस मसान्तमा कर नबुझाउने चेतावनी दिएको छ।

आइतबार पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष त्रिलोचन कंडेलले बैंक ब्याजदरमा भएको अचाक्ली वृद्धिका कारण उत्पादन लागत अत्याधिक बढ्न गई अधिकांश उद्योगहरू बन्द हुने अवस्थामा पुगेको बताए।

‘नागरिकको उपभोग्य मागमा गिरावट आएको, औद्योगिक उत्पादनको मागमा संकुचन आएको छ। यस्तै अवस्था निरन्तर रहे अर्थतन्त्र गरिबी र बेरोजगारको दुश्चक्रमा फस्ने देखिन्छ,’ कंडेलले भने, ‘यो अवस्थामा उद्योग-धन्दालाई जीवन्त राख्न राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नु पर्नेमा उदासिन देखियो।’

संघका पूर्वअध्यक्ष राजु पौडेलले राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन र कर्जा किस्ता तथा ब्याज उठौतीका लागि उद्योगीलाई मानसिक तनाव दिनेगरी बैंकहरूले गरेको ताकेताले उद्योगीहरू हतोत्साहित भएको बताए। उनले उद्योगलाई जीवन्त राख्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन गर्न, ब्याजदर एक अंकमा सीमित गर्न, उद्योगमा रहेको कर्जालाई उद्योगीले आवश्यकता महसुस गरेमा एक पटकका लागि पुनर्संरचना, पुनर्तालिकीकरण गर्न, पुस मसान्तसम्मको ब्याजलाई पुँजीकरण गर्न तथा पुनर्कर्जाको सुविधालाई निरन्तरता दिन राष्ट्र बैंकसँग माग गरे। साथै चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई २ वर्षपछिमात्र कार्यान्वयनमा लैजान, पूर्जाधार निर्माणअन्तर्गत भएका खर्चहरूको कार्यको भौतिक प्रगति देखाएलगत्तै तत्काल भुक्तानीको व्यवस्था गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन नियन्त्रित वस्तुहरूको आयात खुकुलो बनाउन संघले माग गरेको छ।

‘विदेशी विनिमय सञ्चिती बढाउने नाममा राज्यले कैयौं वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको भए पनि अनौपचारिक कारोबारको बाटोलाई प्रश्रय पुगेको छ। प्रतिबन्ध लगाउँदा पनि बजारमा सहजै ती वस्तुहरूको उपलब्धता हुनुले औपचारिक अर्थतन्त्रलाई झन् चुनौती दिएको छ,’ पौडेलले भने।

उद्योग संघले मागहरू नेपाल राष्ट्र बैंकलाई जानकारी गराउने र यथाशीघ्र सम्बोधन नभए कर नबुझाउने निर्णय गरेको अध्यक्ष कंडेलले बताए।

यहाँका उद्योगी, व्यवसायीहरूले कोराना महामारीका समयमा भएको लकडाउनले थलिएको कारोबारमा पछिल्ला महिना थप बिग्रिएको बताएका छन्। पोल्ट्री व्यवसायमा संलग्न चितवन उद्योग संघका अध्यक्ष कंडेलले तीन महिनायता चितवनका ह्याचरी उद्योगहरू बन्द भएको बताए।

‘माग नहुँदा तीन महिनायता लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरी बन्द छ। बोइलर चल्ला पनि थोरैमात्र उत्पादन भइरहेको छ,’ कंडेलले भने, ‘साना कुखुरापालकहरू त पचास प्रतिशत बढी पलायन भइसके, बाँकी पनि पलायन हुने अवस्थामा देखिन्छन्। ठूला पनि अब धेरै समय चल्ने अवस्थामा छैनन्।’

नेपालमा एक दर्जन लेयर्स ह्याचरी छन्। तीमध्ये १० वटा चितवनमा छन्। बोइलर चल्लाको लागत मूल्य नै ५५ रुपैयाँ पर्नेमा ३० रुपैयाँमा पनि बिक्री हुन नसकेको उनले बताए।

‘यही अवस्थामा अब बोइलर ह्याचरी पनि धेरै दिन चल्न सक्दैनन्,’ कंडेलले भने।

उनले कुखुरा पालन व्यवसायमा सबैभन्दा बढी खर्च दानामा हुने र दानाको मूल्य बढ्दा व्यवसाय सञ्चालनमा समस्या भइरहेको बताए। नेपालमा पालेको भन्दा भारतबाट ल्याउने कुखुरा सस्तो पर्ने भएपछि कुखुरा पाल्नेहरू व्यवसायबाट पलायन भएको उनले बताए।

चितवनको पर्यटन व्यवसायमा पनि यसको असर निकै देखिएको छ। संघका उपाध्यक्ष रहेका सिएमटी रिसोर्ट भरतपुरका प्रबन्ध निर्देशक मदन घिमिरेले होटलको क्षमताको चालिस प्रतिशत पनि कारोबार नभएको बताए।

‘कुनै विशेष अवसरबाहेक रेष्टुरेन्टमा त झन् मन्दी छ,’ उनले भने, ‘मान्छेहरूले अति आवश्यकभन्दा बाहेकको खर्च गर्न छाडिसके।’

संघका उपाध्यक्ष युगराज वस्तीले उद्योग, व्यवसाय धरासयी बनेसँगै रोजगारी गुम्ने क्रम पनि बढेको बताए।

‘कतिपय उद्योगहरूले कामदारलाई पाल्न सकेनन्। कतिपय कामदार उद्योगको अवस्था धरासायी हुन लागेको देखेर आफैं पलायन हुन थालेका छन्,’ वस्तीले भने, ‘बैंकको ब्याजदर, महंगीले धेरै उद्योगधन्दा बन्द हुने अवस्थामा पुगेका छन्।’

रिजाल्स फुडका सञ्चालक पुरूषोत्तम रिजालले कच्चा पदार्थको आयात नियन्त्रण र मूल्यवृद्धिले उद्योग चलाउनै समस्या भइरहेको बताए।

‘देशमै उत्पादन गर्न सकिने तयारी वस्तुको आयात खोल्ने तर कच्चा पदार्थको आयातमा कडाइ गर्ने राज्यको नीतिले उद्योगहरू चल्न गाह्रो भइरहेको छ,’ उनले भने।

उनले आफ्नो उद्योगमा अन्य उद्योग व्यवसायमा काम गुमाएकाहरूको लाम लाग्न थालेको बताए।

‘तर हामी आफैं पनि धेरै कर्मचारी राख्नसक्ने अवस्थामा छैनौं,’ रिजालले भने, ‘सबै उद्योग, व्यवसायमा जस्तै समस्या हामीलाई पनि परेको छ।’

उद्योग संघ चितवनका पूर्वअध्यक्ष राजु पौडेलकाअनुसार अर्थतन्त्रमा आएको समस्याका कारण देशभरमा २० प्रतिशत घरेलु तथा साना उद्योगहरू बन्द भएका छन्। १७ लाख जनाले रोजगारी गुमाएको उनले बताए। चितवनका पचास प्रतिशत घरेलु तथा साना उद्योगहरू प्रभावित भएको उनले बताए।

१८,मंसिर.२०७९,आईतवार १५:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्