रेखा थापाको समीक्षा : संगठन नै नभएको ठाउँबाट ११ हजार भोट ल्याएँ, मेरो जीतसरह हो

काठमाडौं । कलाकारिताबाट राजनीतिमा होमिएकी अभिनेत्री/नेतृ रेखा थापाका लागि पहिलो चुनावी प्रतिस्पर्धा सुखद हुन सकेन । राप्रपाबाट मोरङ ३ प्रतिनिधिसभामा उम्मेदवार बनेकी उनी तेस्रो भइन् ।

राप्रपाको खासै जनाधार नभएको क्षेत्रबाट उम्मेदवारी दिँदा रेखाका लागि चुनौतीपूर्ण हुने आँकलन गरिएको थियो । यद्यपि उनको इन्ट्री सो क्षेत्रको प्रतिस्पर्धा दुई पक्षीयबाट त्रिपक्षीय हुन गयो । पराजित भए पनि रेखाले सम्मानजनक मत ल्याएकी छन् । विजयी नेपाली कांग्रेसका सुनिल शर्माले ४८ हजार ६३१ मत ल्याए । शर्माका मुख्य प्रतिस्पर्धी एमालेका भानुभक्त ढकालले २५ हजार ८९५ मत ल्याउँदा रेखा १० हजार ९९८ मत ल्याएर तेस्रो भएकी हुन् ।

यसअघि राप्रपाको महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेकी थिइन् रेखा । त्यहाँ पनि उनलाई धक्का लागेको थियो । इतर गुटकी उम्मेदवार कुन्ती शाहीबाट उनी पराजित भइन् । यसरी पार्टी र संसदको चुनावमा ब्याक टुब्याक उनलाई धक्का लागेको छ ।

यद्यपि चुनावी परिणामबाट निराश छैनन् रेखा । केवल २ महिनाको तयारीमा ल्याएको यो मत आफ्नो लागि बहुमूल्य रहेको उनी बताउँछिन् । यो चुनावबाट आफूले सिकेका कुराहरु भविष्यका लागि निकै उपयोगी हुने रेखाको विश्वास छ । ‘मलाई लाग्छ, विजेता हुन ट्रफी नै उचाल्नुपर्छ भन्ने छैन । हिम्मत र साहस बटुलेर मैदानमा उत्रिनु पनि एक जीत हो’, उनी भन्छिन् ।

प्रस्तुत छ, रेखा थापासँग उनको चुनावी अनुभवबारे गरिएको कुराकानीः

– पहिलोपटक चुनावी प्रतिस्पर्धामा भाग लिनुभयो । तर, सोचेजस्तो परिणाम आएन । यो पराजयबाट कत्तिको दुःखी हुनुहुन्छ ?
हार्दा दुःखी हुनु स्वाभाविक हो । तर, मलाई कुनै गुनासो छैन । चुनावी परिणामलाई मैले एकदमै सकारात्मक हिसाबले लिएको छु । एक त चुनावमा यो मेरो पहिलो सहभागिता हो । कतिपय अनभिज्ञ कुराहरु मैदानमा गएपछि थाहा पाउने मौका पाएँ । मैदानमा प्रत्यक्ष रुपमा गएर जनताको समस्या, सुखदुःख जान्न र साट्न पाएँँ । त्यसैले म असाध्यै खुशी छु । दुःखी हुने केही कारण नै छैन ।

म संसदमा युवाहरुको दबदबा हुनुपर्छ र सक्षम युवाहरुले देश चलाउनुपर्छ भन्ने चाहन्थें । तर, अपेक्षा गरेको सबै कुरा पुग्छ भन्ने छैन । खेल खेल्न मैदानमा उत्रिएपछि जुनै खेलाडीलाई पनि ट्रफी म नै उचाल्छु भन्ने हुन्छ । सबैमा खेल जित्ने अपेक्षा हुन्छ । तर, अन्तिममा विजेता हुने भनेको एउटामात्र टीम वा व्यक्तिले हो । मलाई के लाग्छ भने विजेता हुन ट्रफी उचाल्नपर्छ भन्ने छैन । हिम्मत र साहस बटुलेर मैदानमा उत्रिनु नै एक जीत हो । खेलमा मेहनत सबै टीमले उत्तिकै गरेका हुन्छन् । कोही कमजोर भएर हारेको वा असफल भएको भन्न मिल्दैन । मैले आफूले सक्ने मेहनत गरेको हो ।

मन र दिमागमा पार्टी मात्र लिएर हिँड्ने माहोल रहेछ । यो एउटा रोग हो । मानिसको दिमागबाट यो रोग नहटुञ्जेल कुनै पनि क्षेत्रले राम्रो अनि सच्चा आवाज उठाउने व्यक्ति वा भनौं साँच्चिकै जनताको सुखदुःखमा साथ दिने व्यक्ति पाउन धेरै वर्ष प्रतीक्षा गर्नुपर्छ ।

– आफ्नो हारको समीक्षा कसरी गर्नुभएको छ ?

हाम्रो देशको चुनावी प्रणाली र चुनाव हुने तरिकालाई लिएर हाम्रो जनतामा फरक किसिमकोे संस्कार बसेको छ । वर्षौंवर्षदेखि मान्छेहरुमा पार्टी जिताउनुपर्छ भन्ने मनोविज्ञान छ । मान्छे कस्तो छ वा उसको चरित्र कस्तो छ भन्ने कसैले नहेर्ने रहेछन् ।

मन र दिमागमा पार्टी मात्र लिएर हिँड्ने माहोल रहेछ । यो एउटा रोग हो । मानिसको दिमागबाट यो रोग नहटुञ्जेल कुनै पनि क्षेत्रले राम्रो अनि सच्चा आवाज उठाउने व्यक्ति वा भनौं साँच्चिकै जनताको सुखदुःखमा साथ दिने व्यक्ति पाउन धेरै वर्ष प्रतीक्षा गर्नुपर्छ ।

– चुनावमा तपाईंको माहोल निकै राम्रो देखिएको थियो । तपाईंको कार्यक्रममा भीड लाग्ने मतदाताले तपाईंलाई भोट चाहिँ किन हालेनन् होला ?
म चुनावको लागि भनेर त्यहाँ जम्मा दुई महिना अघिमात्र गएको थिएँ । सामान्य हिसाबमा भन्नुपर्दा मात्र दुई महिनाको तयारीकै आधारमा मलाई मतदाताहरुले करिब एघार हजार मत दिनुभयो । यहाँबाट के बुझिन्छ भने मैले दुई महिनाको समयमा ११ हजार मतदाताहरुलाई मात्र भेटेछु ।

कतिपय ठाउँमा संगठनको पनि ठूलो भूमिका हुन्छ । मैले चुनाव उठेको मोरङ क्षेत्र नम्बर ३ भनेको वर्षौंवर्षदेखि एमाले र कांग्रेसको गढ भएको ठाउँ हो । इमानदारीपूर्वक भन्नुपर्दा राप्रपाको दुई-तीन सय भोट पनि नआउने ठाउँ हो त्यो । संगठन र समर्थक नभएको ठाउँबाट त्यत्रो ११ हजार भोट आउनु भनेको मजाक होइन । त्यो एक जीत नै हो । त्यसलाई भोट नहालेको भन्न मिल्दैन ।

आफैं सोच्नु न, दुई महिनामात्र बस्दा मैले ११हजार भोट ल्याएँ भने ६ महिना बसेको भए मैले पचास हजार भोट ल्याउने रहेछु ।

– चुनावमा खर्च कति गर्नुभयो ?
म भ्रष्टाचार गर्नुहुन्न भन्ने अभियानको मान्छे । मैले भोटको लागि चार पैसा कसैलाई दिएको छैन । भोट किनेर माननीय बन्नुभन्दा जीवनभर यो देशमा गुमनाम भएर बाँच्नु बेस । बरु जिन्दगीभर म कलाकारिता क्षेत्र र समाजसेवामा रमाउँछु । तर, भोटको लागि चार पैसा खर्च गर्दिनँ ।

(मेरो प्रतिस्पर्धी) त्यत्रो कानूनमन्त्री र स्वास्थ्यमन्त्री भइसकेको मान्छे एकातिर र अर्कोतिर मेडिकल व्यापारी । उहाँहरुविरुद्ध म जस्तो राष्ट्रवादी क्रान्तिकारीले भाग लिएर प्रतिस्पर्धामा उत्रिनु नै ठूलो कुरा हो । मान्छेहरुले आँट पनि गर्दैनन् । गाह्रो छ भन्ने मलाई राम्रोसँग जानकारी थियो । तर, परिवर्तन र रूपान्तरणमा विश्वास गर्ने भएकाले म चुप बस्न सकिनँ । म सजिलो बाटोबाट माननीय हुने सुविधा हुँदाहुँदै पनि मैदानमा गएको मान्छे हो । मलाई देश चलाउने र जनताको मनोविज्ञान बुझ्ने मान्छे मैदानमा उत्रिनुपर्छ र जनताको सामु हुनुपर्छ भन्ने लाग्छ ।

स्टारडमकै कुरा गर्नुहुन्छ भने करिब ३०वर्ष अगाडि हाम्रो शिव श्रेष्ठ दाइ पनि चुनावमा उठ्नुभएको थियो । त्यस्तो अग्रज र सबैले मानेको व्यक्ति । त्यो समयको चर्चित कलाकार । टन्न भोट आउनुपर्ने हो । तर, उहाँको जमानत नै जफत भयो ।

– तपाईंको आशय प्रतिस्पर्धी उम्मेदवारहरुले पैसाको बलमा भोट किनेका हुन् ?
किनेको नै त म भन्दिनँ । तर, उहाँहरुको एउटा संगठन भने छ । चुनावको एक हप्ता अघिदेखि नै हरेक टोलटोल र गाउँमा मासुको मात्र बास्ना आउने ठाउँ हो त्यो । खर्चकोे परिणाम हेर्दा, मान्छेको चहलपहल हेर्दा र उहाँहरुको कुरा सुन्दा एउटा छुट्टै आभाष हुन्छ ।

– तपाईं चुनाव लडेको मोरङ क्षेत्र नम्बर ३ का मुख्य समस्याहरु के के पहिल्याउनुभएको छ ?
हाम्रो मोरङका जनताका धेरै समस्या छन् । मोरङले रामो जनप्रतिनिधि नपाएको महसुस मैले पनि गरेको छु । राजनीतिको व्यापारीकरण भएको छ । अभिभावकविहीन भएको क्षेत्रमा जनताको बुलन्द आवाज बन्न म त्यहाँ गएको हो ।

राप्रपाको एक भोट पनि छैन है भन्ने थाहा हुँदाहुँदै पनि त्यहाँ म विकल्प बन्न गएको हो । विजयी भइनँ, त्यो आफ्नो ठाउँमा छ । यदि मेरो जीत भएको भए, मोरङ क्षेत्र नम्बर ३ को जीत हुन्थ्यो । मेरो जीत हरेकको आवाज बन्थ्यो । तर, त्यो हुन सकेन । मेरो नजरमा मोरङ क्षेत्र नम्बर ३ मा परिवर्तन चाहिएको छ । एउटा सच्चा काम गर्ने मान्छे चाहिएको छ ।

– तपाईं आफूलाई आएका भोटहरु कलाकारिता क्षेत्रमा बनाएको स्टारडमका कारण हो भन्ने लाग्छ कि तपाईंप्रति केही आशा राखेका होलान् ?
यो एउटा संकेत हो । मलाई नेता मानेको संकेत । रेखा एउटा रुपान्तरण गर्न सक्ने बहादुर र हिम्मतवाली छोरी हो है भन्ने संकेत । स्टारडमकै कुरा गर्नुहुन्छ भने करिब ३०वर्ष अगाडि हाम्रो शिव श्रेष्ठ दाइ पनि चुनावमा उठ्नुभएको थियो । त्यस्तो अग्रज र सबैले मानेको व्यक्ति । त्यो समयको चर्चित कलाकार । टन्न भोट आउनुपर्ने हो । तर, उहाँको जमानत नै जफत भयो ।

उहाँको मात्र होइन, धेरै कलाकारहरुको जमानत जफत भएको छ । त्यसैले राजनीतिसँग कलाकारिताको कुनै सम्बन्ध छैन । जनताले मेरो कलाकारिता क्षेत्रलाई हेरेर मलाई भोट दिनुभएको होइन । मैले गरेको काम र बहादुरी देखेर भोट दिनुभएको हो । मोरङ भनेको नराम्रोसँग पार्टी हावी भएको ठाउँ हो । सबै मतदाताहरुलाई मलाई भोट हाल्न रहर थियो होला । तर, उहाँहरुको पनि आफ्नै बाध्यता छ । भोलि पार्टीले कारबाही गर्ला भन्ने डर होला ।

राजनीति भनेको चलचित्रजस्तो आज फिल्म खेलेर रातारात भाइरल हुने ठाउँ होइन । राजनीतिमा मेहनत गर्नैपर्छ । जनताको मन जित्नैपर्छ । रुपान्तरण गर्ने प्रयास गर्नैपर्छ ।

– तपाईंले केही समयअघि पार्टीको चुनाव हार्नुभएको थियो । अहिले संसदको चुनावमा पनि पराजित हुनुभयो । तपाईंलाई राजनीति नफापेको जस्तो लाग्दैन ?
लाग्दैन । एक त चुनावमा यो मेरो पहिलो सहभागिता हो । हार्न त कति हार्छन् हार्छन् । म त पहिलोचोटी हारेको हो । राजनीति भनेको चलचित्रजस्तो आज फिल्म खेलेर रातारात भाइरल हुने ठाउँ होइन । राजनीतिमा मेहनत गर्नैपर्छ । जनताको मन जित्नैपर्छ । रुपान्तरण गर्ने प्रयास गर्नैपर्छ ।

राजनीति भनेको लामो रेस हो । शीर्ष नेताहरु हारेको नै हेर्नु न । उनीहरुलाई नफापेको हो त ? राजनीतिमा फाप र नफाप हुँदैन । वर्ल्डकपकै उदाहरण लिउँ न ! जर्मनीले उहिले ट्रफी जितेको थियो । त्यसपश्चात कति हार्‍यो हार्‍यो । तर, जति हारे पनि भाग त सधैं लिन्छ नि ! राजनीति भनेको त्यस्तै गेम हो । र गेममा हामीले खेल्नैपर्छ ।

मेरो चलचित्रको पृष्ठभूमि हेर्नुहुन्छ भने मलाई लगातार दुई वर्ष फिल्मको अफर आयो । पछि कुनै फिल्मको अफर नै आएन । सबैले खुब तारिफ गर्ने तर हातमा कुनै फिल्म थिएन । मैले कुनै पनि कुरामा सजिलैसँग सफलता पाएको छैन । विस्तारै गयो भने गन्तव्यमा पुगिन्छ, हतारमा गयो भने दुर्घटना हुनसक्छ । त्यसैले मलाई कुनै आपत्ति छैन ।

पार्टीको महाधिवेशनमा महामन्त्रीमा थोरै मतले हारेर के भयो त । म राप्रपाको कार्यसम्पादन समितिभित्र त छु नि ! मेरो मूल्यांकन त भएको छ । म हारेर के भयो त ? मेरो यति साहसले म पछाडिको मेरो जेनेरेसनलाई हिम्मत मिलेको छ । मलाई राजनीति नफापेको होइन, यो भनेको मलाई फाप्ने र अगाडिको बाटोहरु सुन्दर हुने एउटा संकेत हो ।

– अब तपाईं आफ्नो राजनीतिक यात्रालाई कसरी अगाडि बढाउनुहुन्छ ?
बढाउँछु । धेरै कामहरु बाँकी छन् । अहिले म कार्यसम्पादन समितिमा छु । अब पार्टीको समीक्षा हुन्छ । पार्टीको संगठन बनाउनतिर लाग्नु छ ।

– पराजयपछि पार्टी नै परिवर्तन गर्ने सोच त आएको छैन नि ?
(आक्रोशित हुँदै) यो कस्तो प्रश्न हो ? तपाईंले कसलाई प्रश्न गर्दै हुनुहुन्छ भन्ने सोच्नु भएको छ ? विगत १० वर्षदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादनमा रहेर काम गरेको मान्छेलाई यस्तो प्रश्न गर्न सुहाउँछ ? यो प्रश्न नै गलत भयो । आइन्दा यस्ता प्रश्न नसोध्नुहोला ।

१८,मंसिर.२०७९,आईतवार १५:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्