कांग्रेस कार्यकर्ताद्वारा मकवानपुरका दुई पत्रकारमाथि कुटपिट, इन्द्र बानियाँविरुद्ध समाचार लेखेको आरोप

हेटौँडा । नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं नवनिर्वाचित सांसद इन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेको भन्दै मकवानपुरमा दुईजना पत्रकारमाथि कांग्रेस कार्यकर्ताहले कुटपिट गरेका छन् ।

वागमती एक्सप्रेस साप्ताहिकमा आएको समाचारको विषयमा विवाद हुँदा पत्रिकाको प्रकाशक रमेश बञ्जरा (इन्द्र) तथा पत्रकार रामकुमार रिजाल (एलन) माथि कुटपटि भएको हो ।

हेटौँडा उपमहानगरपालिका- २ स्थित पल्पसा होटलमा आइतबार राति करिब सवा ९ बजेको समयमा कांग्रेसका युवा नेता राजेश भेटवालको नेतृत्वमा आएका करिब एक दर्जन कार्यकर्ताले बञ्जरा र एलनमाथि आक्रमण गरी घाइते बनाएका हुन् ।

घाइते दुई पत्रकारले भेटवाल, राजु नगरकोटी, रञ्जन बनियाँसहितको नाम उल्लेख गरी ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गर्न लागेका छन् ।

यसैबीच नेकपा एसनिकट समाजवादी प्रेस संगठनले एलनलाई कुटपिट गर्ने र योजनाकारको पहिचान गरी कारबाही गर्न माग गरेको छ । संगठनका उपमहासचिवसमेत रहेका एलनलाई राजेश भेट्वालसहितको २०/२२ जनाको जत्थाले कुटपिट गरेको र पत्रकार महासंघ वागमतीका महासचिव कृष्ण सारु मगरमाथि पनि कुटपिट गरिएको भन्दै समाजवादी प्रेस संगठनले घटनाको विरोध गरेको हो ।

महासचिव मगर सामान्य घाइते भएको तथा एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको संगठनका महासचिव भूपराज खड्काले बताए ।

वागमती एक्सप्रेसमा हालै सम्पन्न चुनावमा कांग्रेसभित्रको घात-अन्तर्घातको समाचार प्रकाशित भएको थियो ।

मकवानपुर कांग्रेसले आइतबार पत्रकार सम्मेलन गरी समाचार झूट रहेको र त्यस्तो समाचार प्रकाशन नगर्न चेतावनी दिएको थियो ।

१९,मंसिर.२०७९,सोमबार १२:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्